१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १३:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोट माग्न गएजस्तै काेभिड नियन्त्रण गर्न सांसद जनताको घर-घरमा जानुपर्छ : अध्यक्ष तिमिल्सिना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ६ शनिबार १३:११:००

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरूको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । 

‘कोभिड– १९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड राेकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरू नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् । 

उनले राजनीतिक दलहरूले पनि आफ्ना भ्रातृ संगठनहरूलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्छ । त्यसका लागि घरदैलो कार्यक्रम गर्नुपर्छ ।’ 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भएको जानकारी दिए । 

तर, पछिल्लो परिस्थितिअनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए । उनका अनुसार अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुन सक्ने अनुमान पनि सरकारले गरेको छ । 

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरे ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए । 

उनले अहिले पनि कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने बताए । 

सरकारले अस्पतालहरूमा अक्सिजनसहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाइ छ । 

विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए ।