मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १०:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघमा दुई  केन्द्रीय सदस्य निर्विरोध चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ५ शुक्रबार १०:१२:००

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार निर्विरोध चयन भएका छन् । प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।

महासंघको नयाँ कार्यसमिति चुनावका लागि बिहीबार ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । तर, प्रदेश १ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट अन्तिम समयसम्म अरू कसैको उम्मेदवारी नपरेपछि दुवैजना सर्वसम्मत चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

हाल राउत प्रदेश–१ कमिटीका उपाध्यक्ष हुन् भने अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । दुवै जनाले वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट उम्मेदवारी दर्ता गरेका थिए । महासंघको कार्यकारिणी समितिमा सात प्रदेशका लागि एक–एक केन्द्रीय सदस्यको कोटा छुट्याइएको छ । 

यही ११ मंसिरदेखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको महासंघको ५४औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको चुनावमा वर्तमान उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानतः व्यवस्था भएको हुँदा शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्कापक्की भइसकेको छ । नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षसहित तलका पदहरूमा निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधान र ढकाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । प्रधान प्यानलबाट जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट समूहतर्फको उपाध्यक्षमा सौरभ ज्योति र वस्तुगत समूहतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, ढकाल प्यानलबाट जिल्ला–नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।