शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।
यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुमालले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।
यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ । यसैबीच जनकपुरधाममा श्रद्धालुहरू इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।
गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालुहरूले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातावरणको अनुभूति गराइरहेका छन् ।
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।
कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्ने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ ।
यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरी छठ पर्व मनाउन आह्वान गरेको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ । रासस