सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव ०७७/७८ को पहिलो त्रैमासमा जीवन बिमा कोषमा १ सय ५० प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले गत आवको असोज मसान्तमा जीवन बिमा कोष ८० करोड ३८ लाख रुपैयाँ रहेकोमा यस असोज मसान्तमा २ अर्ब ८२ लाख रुपैयाँ पुर्याएको हो ।
यसका साथै कम्पनीले गत आवको असोज मसान्तसम्ममा कुल बिमाशुल्क ३३ करोड ९४ लाख रुपैयाँ संकलन गरेकोमा यस आवको सोही अवधिमा ६२ करोड ८ लाख रुपैयाँ संकलन गर्न सफल भएको जनाएको छ ।
बिमाशुल्क आर्जन ८३ प्रतिशतले बढेको देखिन्छ । समीक्षा अवधिमा जीवन बिमा कोषमा १ सय ५० प्रतिशत वृद्धि गराउन सफल भएसँगै कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशत बढाएर ५९ करोड १० लाख रुपैयाँ पुर्याएको जनाएको छ । कम्पनीले लगानी र बिमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धि गरी १० करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।
जीवन बिमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने ठहर गर्दै दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम ४ अर्ब ५१ करोडमध्ये करिब ८८.३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गरेको जनाएको छ ।