१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुदर्शन पौडेल
२०७७ मङ्सिर ४ बिहीबार १०:३८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खाद्यान्नमा ढुसी : मानवजीवनलाई विष 

Read Time : > 5 मिनेट
सुदर्शन पौडेल
२०७७ मङ्सिर ४ बिहीबार १०:३८:००

बाँके जिल्लामा एक हजार ६ सय ४८ जना गर्भवती महिलामा गरिएको अध्ययनमा ९४ प्रतिशतमा संक्रमण पाइयो 

अक्सर मौसमी प्रतिकूलता वा भण्डारणको असावधानीका कारण कृषि तथा वनस्पतिजन्य खाद्यबालीमा ढुसी विकास भएको, प्राकृतिक रंग बदलिएको वा गन्ध आएको देखिन्छ । यो क्रम गर्मी, उष्ण, वर्षा र चिसो मौसममा बढी देखिन्छ । यद्यपि यस्ता कतिपय खाद्य पदार्थ धोई–पखाली वा सुकाएर पुनः प्रयोग गरिन्छ । मानिसले खान नमिल्ने गरी बिग्रेमा वा गन्ध भएमा घरपालुवा पशुपक्षीलाई खुवाइन्छ । सहरबजारमा असुरक्षित वातावरणमा लामो समय भण्डारण गरी राखिएका खाद्यान्न बिग्रे पुनः प्रशोधन गरी उपभोग्य मिति सच्चाएर बिक्री वितरण हुने गरेका समाचार बारम्बार सुनिन्छन् ।

कोभिड–१९ को महामारीबीच लामो बन्दाबन्दीका कारण (तयारी अवस्थाका धेरै उपभोग्य सामग्री) बिग्रेका समाचार सुनियो । यसैबीच नेपालीका ठूला चाड दसैँ, तिहार, छठको अवसरमा यस्ता गतिविधि धेरै हुन सक्ने भएको हुँदा उपभोक्ता र सरकारले केही बजार अनुगमन र कार्बाही गरेका समाचार बन्छन्, तर नियमित बजार अनुगमन, अखाद्य वस्तु व्यापार गर्नेलाई ठोस कार्बाही भएको पाइँदैन । ढुसीका कारण खाद्यान्न विषाक्त हुनेबारेमा आममानिसमा जानकारी छैन । यो कुरा धेरैले थाहा पाउनुपर्ने विषय भएकाले चर्चा गर्ने जमर्को गरेको छु ।

जनस्वास्थ्यकर्मीको रूपमा काम गर्दा कृषि तथा वनस्पतिजन्य खाद्यान्नमा विकास हुने ढुसीबारे केही जानकारी पाएको थिएँ । गत वर्ष नेपाल र विदेशमा सम्पन्न गोष्ठीमा सहभागी हुने अवसर मिल्यो । प्रायः सबै थरीका अन्न, दलहन (गेडागुडी), तेलहन, भाइमसला, सुकाएका वा ताजा फलफूल, तरकारी, सुर्तीजन्य पदार्थ, तयारी खानामा यस्तो ढुसी विकास हुने गर्दो रहेछ । त्यस क्रममा थाहा पाएका तथ्यहरूले निकै चिन्तित पार्‍यो । खाद्यान्नमा लाग्ने ढुसीलार्ई वैज्ञानिक समाजमा अफ्लाटक्सिन भनिँदो रहेछ । यस्तो विषको संक्रमण भइसकेपछि धोई–पखाली, घाममा सुकाएर, भुटेर वा पकाएर पनि नष्ट गर्न नसकिँदो रहेछ । यस्तो विष पशुपक्षीलाई सेवन गराउँदा तिनीहरूको मासु वा दूधबाट मानिसमा विषको संक्रमण हुने रहेछ । यसको बढी उपभोग गर्दा मानिसको तुरुन्तै मृत्युदेखि दीर्घकालीन रूपमा स्वास्थ्य खराब हुने र आर्थिक अवनतिका कारण गरिबीको दर बढाउनेसमेत हुने रहेछ । 

अफ्लाटक्सिनलाई कलेजोको क्यान्सरको मुख्य कारण मानिएको छ । यस विषादीको संक्रमण खाद्यबाली भित्र्याउने क्रममा बढी हुने गर्छ । यद्यपि बोटमा ढुसी लाग्ने वा किराको संक्रमण भएमा पाक्नुपहिले पनि यो विषादीको संक्रमण हुन सक्छ । कतिपय अवस्थामा बालीमा ढुसी लागेको थाहा हुँदैन, त्यसमा पनि यस विषादीको संक्रमण त झन् सतही हेराइमा देख्न सकिने कुरै भएन । नेपालजस्तो कम विकसित मुलुकमा, जहाँ अधिकांश कृषक न्यून आर्थिक अवस्थाका छन्, कृषि अनुसन्धानको राम्रो व्यवस्था नभएको अवस्थामा यो सूक्ष्म विष अज्ञानतावश खाइरहेका छौँ । यस विषादीलाई पत्ता लगाउन उच्च प्रविधियुक्त प्रयोगशाला र दक्ष प्राविधिक ज्ञान आवश्यक पर्छ । नेपालको दोस्रो मुख्य खाद्यान्न मकैमा यस्तो ढुसी बढी पाइएको छ । हालै (२०२०, मे) स्टाटपर्लमा प्रकाशित तथ्यअनुसार विश्वमा २५ प्रतिशत खाद्यान्न ढुसी (अल्फाटक्सिन)बाट संक्रमित हुन्छन् । यसले हाम्रो खाना कति असुरक्षित छ भन्ने दर्साउँछ ।

नेपालमा अल्फाटक्सिनको अवस्था : नेपालमा अल्फाटक्सिनबारे चर्चा हुन थालेको पनि करिब ४० वर्ष भयो । विश्व खाद्य संगठन, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाल सरकारको सहकार्यमा पश्चिम तराईका केही जिल्लाका निश्चित खाद्य पदार्थहरूको नमुना (मुख्यतया मकै र बदाम) परीक्षण गरेकोमा करिब २५ प्रतिशत नमुनामा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले तोकेको मापदण्ड अफ्लाटक्सिन बी ३० पिपिबी) भन्दा निकै बढी स्तरमा संक्रमण भएको पाइएको थियो । नेपालको हकमा कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले अफ्लाटक्सिन बी ५० पिपिबीभन्दा बढी हुनु नहुने उल्लेख गरेको छ । विभिन्न अध्ययनले नेपालको तराई भूभागमा यसको प्रभाव बढी रहेको देखाएका छन् । 

विश्वका कम विकसित देशका करिब ५० लाख मानिसमा अल्फाटक्सिनको उच्च संक्रमण भएको अध्ययनहरूले देखाएका छन् । अफ्रिकाका देशहरू र थाइल्यान्डमा गरिएका अध्ययनअनुसार प्रतिदिन १०माइक्रोग्राम भन्दा बढी अफ्लाटक्सिन उपभोग गरेका प्रायः सबै व्यक्तिमा कलेजोको क्यान्सर संक्रमण भएको पाइएको थियो ।

हालै बाँके जिल्लामा एक हजार ६४८ जना गर्भवती महिलामा गरिएको अध्ययनमा ९४ प्रतिशतमा अफ्लाटक्सिनको संक्रमण पाइयो । युरोपियन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा सन् २०२० को ७४औँ अंकमा प्रकाशित उक्त अध्ययनअनुसार अफ्लाटक्सिनका संक्रमित सबै गर्भवती महिलाले हप्तामा एक वा एकभन्दा बढीपटक मकै खाएको बताएका थिए । नेपालको तराईको भूभागमा पहाडी र हिमाली क्षेत्रको तुलनामा मकै कम खाइन्छ । यस अध्ययनले नेपालको दोस्रो मुख्य अन्न (मकै)मा अफ्लाटक्सिनको अवस्था डरलाग्दो हुन सक्ने संकेत गरेको छ । हालका दिनमा व्यावसायिक पशुपक्षी पालनको क्रम बढ्दो छ । पशुपक्षीको दानामा प्रयोग हुने अन्नहरूको गुणस्तरमा त्यत्ति ध्यान दिइँदैन । नेपालमा कुखुराको दानाबाट लिइएको नमुनामा अफ्लाटक्सिन बी को मात्रा ११०० पिपिबी पाइएको थियो । त्यस्तो कुखुराको मासुको सेवनले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुन्छ । त्यसमा पनि बच्चा, दीर्घरोगी, वृद्धहरूमा यसको असर थप गम्भीर हुन सक्छ । 

रोगको संक्रमण : अफ्लाटक्सिनको नियमित रूपमा तोकिएको मापदण्डभन्दा बढी सेवनका कारण कलेजोको क्यान्सर हुने अध्ययनहरूले देखाएका छन् । विश्वका कम विकसित देशहरूका करिब ५० लाख मानिसमा अल्फाटक्सिनको उच्च संक्रमण भएको अध्ययनहरूले देखाउँछन् । अफ्रिकाका देशहरू र थाइल्यान्डमा गरिएका अध्ययनअनुसार प्रतिदिन दश माइक्रोग्रामभन्दा बढी अफ्लाटक्सिन उपभोग गरेका प्रायः सबै व्यक्तिमा कलेजोको क्यान्सर संक्रमण भएको पाइएको थियो । नेपालको सन्दर्भमा नियमित खाइने खानाको अध्ययन र वेला–वेलामा रगतमा अफ्लाटक्सिनको मात्रा मापन गरेर मात्र यसको असरबारे यकिन भन्न सकिन्छ । यस्ता प्रकृतिका अध्ययन देशको प्रतिनिधिमूलक जनसंख्यामा गरिएको छैन ।

गर्भवती अवस्थाका महिलामा यस विषादीको संक्रमण थप गम्भीर हुन सक्छ । गर्भमा हुर्कंदै गरेको शिशुको शारीरिक र मानसिक विकासमा कमी हुनेदेखि भ्रूण अवस्थादेखि नै आन्तरिक अंगहरू संक्रमित हुने गम्भीर खतरा रहन्छ । यसको अत्यधिक सेवन भएमा गर्भमा शिशुको मृत्यु हुने, गर्भ खेर जाने सम्भावना रहन्छ । 

बालबच्चामा कुपोषण : यो विषादीको संक्रमणले बच्चा, गर्भवती र दीर्घरोगीहरूलाई छिटो असर पार्छ । शिशुहरूले ६ महिनापछि आमाको दूधका साथै अन्य ठोस खाना खान सुरु गर्ने हुँदा यस अवस्थामा उनीहरूमा संक्रमण बढ्ने खतरा बढ्छ । कतिपय अवस्थामा शिशुले आमाको स्तनपानबाट पनि अफ्लाटक्सिनको संक्रमण भइरहेको हुन सक्छ । यसका कारण बच्चाहरू लगातार बिरामी (जस्तो झाडा–पखाला) पर्ने, कुपोषित हुने, कम तौल र पुड्को हुने गर्छन् । उनीहरूको कलेजोले राम्रो काम गर्न नसक्ने हुँदा कतिपय बच्चाको जिउ सुन्निनेसमेत गर्छ । युवा एवं वयस्कमा अफ्लाटक्सिनको सीमित मात्राले असर नदेखिन सक्छ तर त्यति नै मात्राको अफ्लाटक्सिनले बच्चा र अन्य जोखिमी समूहका व्यक्तिलाई गम्भीर असर पारिरहेको हुन्छ । 

गरिबीको कारण : नेपालमा खाद्य तथा कृषि पैदावारको उत्पादन तथा बजारीकरणको प्रचुर सम्भावना छ । तर, विषादीयुक्त उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश नपाउनुका साथै उचित बजार मूल्यसमेत पाउँदैन । नेपालमा अधिकांश कृषक परम्परागत खेतीपातीमा निर्भर छन् । अधिकांश साना कृषक निर्वाहमुखी कृषि प्रणाली अपनाउँछन् । साना तथा मझौला कृषकले खेतीपाती तथा भण्डारणजस्ता पक्षमा राम्रो तयारी गर्न सक्दैनन् । परिणामस्वरूप करिब ३५ देखि ४० प्रतिशतको हाराहारीमा अन्न तथा खाद्यबाली संक्रमित हुने अनुमान छ । 

यस्तो अवस्थामा कृषिलाई नै जीवन निर्वाहको माध्यम बनाएका अधिकांश परिवारको आर्थिक अवस्था सुध्रिन सकेको छैन । खाद्यान्नमा टुक्रेका, रंग बदलिएका, गन्ध आएका भागहरूलाई छुट्याउन सिकाउनुपर्छ । खाद्यान्नको संरक्षणका लागि केही प्रविधि विकास भएका छन्, जस्तै– हर्मिट ब्याग, प्रतिकूल मौसममा पनि खाद्यान्न सुकाउने प्रविधि, उन्नत भकारी आदि । यस्ता आधुनिक प्रविधि साना तथा मझौला किसानले आफ्नै खर्चमा खरिद गर्न सक्दैनन् । यसका लागि सरकारले सस्तो मूल्यमा उपलब्ध गराइदिँदा किसानको जीवस्तर सुधारमा केही राहत हुन सक्थ्यो । 

समाधानका उपाय : अफ्लाटक्सिनबाट बच्ने उत्तम उपाय भनेको खानामा स्वस्थ अनाजको प्रयोग गर्ने नै हो । अहिलेसम्मको अध्ययनअनुसार कतिपय अनाज वा अन्य खाद्य पदार्थ छिटै बिग्रिने प्रकृतिका हुन्छन् । त्यस्ता खाद्य पदार्थको छनोट गर्ने क्रममा निकै सावधानी अपनाउनुपर्छ । अधिकांश समय एकै खालको अनाज वा खाद्य पदार्थ उपभोग गर्ने गर्दासमेत उक्त वस्तु संक्रमित भएको खण्डमा त्यसको असर धेरै पर्ने भएको हुँदा खानामा विविधीकरण गर्नुपर्छ । बिउ छर्ने, हुर्काउने र भित्र्याउने निश्चित समयतालिकाको अनुसरण हुनुपर्छ । बाली बिरुवा र जमिनमा चिस्यानको मात्रा नियन्त्रण गर्नु पनि निकै आवश्यक हुन्छ । हाल बेमौसमी खेतीको प्रचलन बढेको छ । बाली पाके–नपाकेको राम्रो जानकारी हुनुपर्छ । राम्ररी पाकेको बालीलाई बोटबाट अलग पारेपछि त्यसमा भएको चिसोपनालाई राम्रोसँग सुकाएर हटाउनुपर्छ । यसका लागि घाममा सुकाउने विधि निकै सरल र प्रभावकारी हुन्छ । बाली थन्क्याउने क्रममा त्यसमा बिग्रेका वा संक्रमित बालीलाई केलाएर छुट्याउनुपर्छ । साधारणतया ढुसी वा कालो पोतो लागेको, फुटेको, प्राकृतिक रंग बदलिएको र गन्ध आएको खाद्य बाली बिग्रेको हुन सक्छ ।

कृषकले आफ्नो बाली लामो समयसम्म भण्डारण गर्न त्यत्ति सहज छैन । किरा, मुसा आदिले बिगार्न नसक्ने गरी बालीलाई आधुनिक भकारीमा राखेर भण्डारण गर्नुपर्छ । भण्डारण गरेको स्थान ओभानो र हावा खेल्ने हुनु उपयुक्त हुन्छ । खाद्यबालीलाई अफ्लाटक्सिनको संक्रमणबाट जोगाउन केही औषधी उपलब्ध छन्, जस्तै– अल्फासफ्ट । यसको उचित प्रयोगबाट खाद्यान्नलाई केही हदसम्म जोगाउन सकिन्छ । त्यसभन्दा पनि अफ्लाटक्सिनको स्थायी समाधानका लागि बिउको छनोट, संरक्षण, खेतको तयारी, बाली संरक्षण, भण्डारणदेखि बजारीकरणका हरेक चरणमा सरोकारवालाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।