मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जनकपुरधाम–८ स्थित दशरथ तलाउको घाट सरसफाइ गर्दै स्थानीय मुस्लिम युवाहरू । तस्बिर : नयाँ पत्रिका
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर ४ बिहीबार ०९:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तराई–मधेसमा छठ पर्वको रौनक

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर ४ बिहीबार ०९:०२:००

तिहार सकिएलगत्तै तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्व बुधबारबाट सुरु भएको छ । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ अर्थात् भाइटीका सम्पन्न भएसँगै तराई–मधेसमा आस्था र निष्ठापूर्वक छठ मनाउने गरिन्छ । 

सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गरेका छन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ । बिहीबार पञ्चमी तिथिका दिन व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर मात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरूप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्टी तिथिका दिन व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाई अघ्र्य दिन्छन् । रातभरि घाटमै अर्थात् जलाशयको डिलमै बसेर छठ माताको आराधना गर्छन् भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ ।

मुस्लिम युवाद्वारा छठ घाटको सरसफाइ 

छठका निम्ति विभिन्न जलाशयको डिलको सरसफाइ गरिएको छ । छठ पर्व जलाशयमा गरिने हुँदा त्यसको सरसफाइमा स्थानीय युवा, विभिन्न युवा क्लब जुटेका छन् । त्यसैक्रममा जनकपुरधाम उपमहनगरपालिका–८ का रहेको दशरथ तलाउको घाट मुस्लिम युवा क्लबले मंगलबार सरसफाइ गरेको छ ।

धार्मिक सद्भाव तथा समाजमा भाइचाराको सन्देश जाने हिसाबले स्थानीय युवाको एक समूहले सो तलाउको घाट सरसफाइ गरेको छ । उनीहरूले आयोजना गरेको सरसफाइ कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहसहित कर्मचारीको समेत सहभागिता थियो ।