Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मार्गरेट रेंकल
२०७७ मङ्सिर ४ बिहीबार ०८:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ प्रकृतिको चेतावनी 

Read Time : > 2 मिनेट
मार्गरेट रेंकल
२०७७ मङ्सिर ४ बिहीबार ०८:४४:००

मारिन लागेको मिङ्कको फोटोले मलाई नराम्ररी चिमोटेको अनुभव भयो । डेनमार्कमा खिचिएको फोटोमा मिङ्क आफूलाई राखिएको पिँजडाबाट उत्सुक आँखाले हेरिरहेको छ । फोटोमा मिङ्क कान पनि टाठो पार्दै आफ्नो मसिनो औँलाले पिँजडाको तारलाई कसिलो गरी समाइरहेको देखिन्छ । यस्तो लाग्छ, ऊ बाहिरको वातावरण बुझ्न खोजिरहेको छ । समाचारमा आएअनुसार मिङ्कलाई पनि मानिसबाट कोभिड–१९ सर्छ । मानिसबाट सरेको भाइरस उक्त जीवमा पनि सरेको पाइएको छ । अध्ययनमा तिनबाट स्वस्थ मानिसमा समेत भाइरस सरेको देखिएको छ । कुकुर, बिरालो, बाघ, बाँदर, फेरेट्स र ह्याम्स्टरलाई पनि मानिसबाट भाइरस सरेको पाइएको छ । तर, हालसम्मको अध्ययनअनुसार मिङ्कबाट जस्तो ती जीवबाट मानिसमा भाइरस सरेको देखिएको छैन । 

मिङ्क उत्तर अमेरिका मूल भएको प्रजाति हो र संसारभर करोडौँको संख्यामा तिनको पालन हुने गर्छ (यहाँ मिङ्क पालन भन्नाले उक्त जीवलाई खोरमा राखेर हुर्काउने र समय पुगेपछि रौँका लागि छाला काट्नेलाई बुझ्नुपर्छ) । थोरै मानिस मात्र मिङ्कको सम्पर्कमा आउँछन्, त्यसैले मिङ्क फार्ममा कोभिड–१९ फैलिएको खबरले सार्वजनिक रूपमा त्यति ठूलो आतंक सिर्जना गरेको छैन । 

मानिसबाट मिङ्कमा कोरोना सर्ने र मिङ्कबाट पुनः मानिसमा भाइरस सर्ने क्रममा भाइरसमा उत्परिवर्तन (म्युटेसन) हुनेमा चिन्ता उत्पन्न भएको छ । हालसम्म कोरोना भाइरस जुन–जुन म्युटेसनबाट गुज्रियो, त्यसले भाइरसलाई थप खतरनाक बनाएको पाइएको छैन । तर, भावी दिनमा हुने कुनै निश्चित म्युटेसनले कोभिड–१९ को खोपको प्रभावकारितालाई सीमित गरिदिन सक्छ । त्यसैले डेनिस सरकारले देशका सम्पूर्ण मिङ्कलाई मार्ने असाधारण निर्णय गर्‍यो । यस निर्णयअनुसार डेनमार्कमा रहेको एक करोड ७० लाखभन्दा बढी मिङ्क मारिनेछन् । निर्णय आफैँमा आमसंहारको हृदयविदारक किस्सा हो र यसविरुद्ध विरोध उत्पन्न भएको छ । तर, अधिकांश विरोध सरकारले गरेको निर्णयको कमजोर न्यायिक आधार र रौँ–कृषकलाई पर्ने आर्थिक क्षतिमा केन्द्रित छ । तर, रौँ उत्पादन नै किन आवश्यक छ भन्नेमा बहस नै भइरहेको छैन । 

पृथ्वीको जैविक सन्तुलनमा धक्का पुगेको खबर नयाँ होइन । मानवीय क्रियाकलापले विश्वव्यापी जैविक विविधतादेखि जलवायुसम्मलाई क्षति पुर्‍याएको तथ्य सबैका सामु छर्लंग छ । तर, वैज्ञानिक र वातावरण अभियन्ताका चेतावनीलाई आमसर्वसाधारणले एउटा कानले सुनेर अर्को कानले उडाइरहेका छन् । मानवीय क्रियाकलापको वातावरणमाथिको असरले विभिन्न विपद् उत्पन्न गराउन सुरु गरिसक्दा पनि मानिसहरू नजाग्नु दुःखद कुरा हो । 

कोरोना महामारीले मानव जगत्लाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ : हामी आफूले बिगारेको प्रकृतिबाट उम्कन सक्दैनौँ । 

जंगली जीवमाथि दबाब दिँदा उत्पन्न हुने दुष्परिणाम दशकौँदेखि स्पष्ट देखिएको छ । विगतमा वन्यजन्तुको बसोवास क्षेत्र तथा तिनका पर्यावरणमा क्षति पु¥याउँदा र तिनलाई खोरमा राख्ने कार्य र एचआइभी, लाइम, बुबोनिक प्लेग, एन्थ्राक्स, इबोलाजस्ता जीवलाई प्रभावित गर्ने जीवाणु मानिसमा सर्ने घटनाबीच सम्बन्ध देखिन्छ । कोरोना भाइरस महामारी प्रकृतिले हामी मानिसलाई दिइरहेको चेतावनीको पछिल्लो उदाहरण हो । 

‘रोग जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सर्नुमा मानवीय क्रियाकलापको प्रमुख भूमिका हुन्छ । मानिसले साझा पर्यावरणलाई आफ्नो स्वार्थका लागि बदल्दा संक्रमणको सम्भावना बढ्छ,’ फेरिस जाबरले जुन महिनामा न्युयोर्क म्यागजिनमा लेखेको एक लेखमा भनिएको छ, ‘वन विनाश, खानी उत्खनन, अत्यधिक खेती र सहरको विस्तारले प्राकृतिक बसोवास ध्वस्त बनाउँदा वन्यजन्तु मानव बस्तीमा पस्छन् । वन्यजन्तुको अत्यधिक सिकार, व्यापार र तिनको मासु सेवनले प्रजाति–प्रजातिबीच हुने संक्रमणको सम्भावना ह्वात्तै बढाइदिन्छ ।’

संरक्षणसम्बन्धी बहसमा दुई समूह देखिन्छन् । एउटा समूह साँच्चै नै प्रकृतिको संरक्षण गरिरहेका छन् । अर्को समूह प्रकृति महान् छ भन्ने मन्त्र त जप्छन्, तर यथार्थमा ऊ जग्गाको जथाभावी प्रयोग गर्छ, सस्तो ह्याम्बर्गर खान्छ र विलासी एसयुभी कार चलाउँछ । तर, यी सुविधाका लागि पृथ्वीले मूल्य चुकाइरहेको छ । पछिल्ला केही हप्ताको समाचारबाट पनि यसको झल्को पाइन्छ । अमेरिका औपचारिक रूपमा पेरिस जलवायु सम्झौताबाट बाहिरिएको खबरसँगसँगै सोमबार अमेरिकाको न्यसभिलमा ८३ डिग्री फरेनहाइट मापन भएको खबर आयो । 

हाम्रो गल्ती के भयो भने हामीले प्राकृतिमाथि जे गरे पनि हुन्छ भन्ने सोच्यौँ । त्यस्तै, हामीले आफूलाई प्राकृतिक संसारको एक हिस्साको रूपमा बुझ्न असफल रह्यौँ । यस महामारीले हामीलाई यदि केही सिकाएको छ भने त्यो हो, मानव जाति आफूले बिगारेको संसारबाट बच्न सक्दैन । हामीले आफ्नो भूल सुधार्ने हो भने जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ । त्यस्तै, वन्यजन्तुको बसोवास क्षेत्रको संरक्षणलाई पनि महत्व दिनुपर्छ । भविष्यका महामारीबाट सुरक्षित रहने हो भने हामीले प्राकृतिक विश्वबारे हाम्रो सोचलाई पूर्णतः बदल्नुपर्छ । 

‘जनावरहरू मानव जातिलाई पाठ सिकाउन अस्तित्वमा रहेका त होइनन्, तर विगतमा सधैँ तिनले त्यही नै पाठ सिकाएका छन् । र, तिनले त्यही पाठ सिकाएका छन्, जुन हामीले आफूबारे पहिले थाहा थियो भन्ने सोच्थ्यौँ,’ ब्रिटिस प्रकृतिविद् हेलेन म्याकडोनाल्डले उनको नयाँ निबन्धसंग्रह ‘भेस्पर फ्लाइट्स’मा लेखेकी छन् । शताब्दीऔँदेखि मानव जगत्ले आफूसँग पृथ्वीमाथि आधिपत्य गर्ने विशेषाधिकार रहेको सोच्दै आएको छ । अहिले आएर डेनमार्कमा संहार गर्न लागिएको मिङ्क र मानव जातिबाट संहार भएका अन्य सम्पूर्ण जीवले हामीलाई तिनको संरक्षणका लागि के गर्नुपर्छ भन्ने पाठ सिकाएका छन् । पाठ हो : हामीले आफ्नो जीवनशैली बदल्नुपर्छ । 

मार्गरेट रेंकल न्युयोर्क टाइम्सकी स्तम्भकार हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य