मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको नक्सा ।
केदार दाहाल काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०८:२६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा र पोखरा विमानस्थल एकै दिन उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०८:२६:००

राष्ट्रिय गौरवका दुई आयोजनामध्ये ०७१ मा सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  ०७४ मै सम्पन्न हुनुपर्ने थियो, तर तीन वर्ष ढिला हुँदा ०७४ मा थालिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै सम्पन्न हुने भएको छ, पोखरा विमानस्थल समयमै सम्पन्न हुँदै छ

भैरहवा र पोखरामा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल २०७८ को सुरुवातमै सञ्चालनमा ल्याइने भएको छ । सरकारले भैरहवामा निर्माणको चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फागुनमै उद्घाटन गर्ने तयारी गरेको थियो । तर, कोभिड–१९ का कारण चीनबाट कामदार ल्याउन नसक्दा प्राविधिक काम रोकिएको छ । अहिले कामदार ल्याउनका लागि भिसा प्रक्रिया अन्तिम चरणमा रहेको छ । 

यता पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि अधिकांश भौतिक निर्माण सम्पन्न गरेर प्राविधिक काम सुरुवात भइसकेको छ । दुवै विमानस्थलमा काम गर्ने प्राविधिकहरू चीनमा कोरोना भ्याक्सिन लगाएर आउने तयारीमा छन् । ३३ जनाभन्दा बढी कामदारको भिसा प्रक्रिया अन्तिम चरणमा रहेको छ । 

राष्ट्रिय गौरवका दुवै आयोजना एकैसाथ सञ्चालनमा आउने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले बताए । ०७१ मा सुरु भएको भैरहवा विमानस्थल ०७४ मै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यता पोखरा विमानस्थल भने ०७४ मा मात्रै सुरु भएको थियो । तर, अब दुवै विमानस्थल एकै समयमा सम्पन्न गर्ने चरणमा छन् । ‘भैरहवामा बीचमा केही समस्या आउँदा चार वर्षपछि सुरु भएको आयोजना पनि सँगै सम्पन्न हुने चरणमा पुगेको छ,’ निर्देशक प्रदीप अधिकारीले भने, ‘दुवै विमानस्थल प्राधिकरण आफैँले सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ ।’ 

सुरु भएको सात वर्षपछि बल्ल निर्माणको अन्तिम चरणमा भैरहवा

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ ०७१ मा शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सात वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको छ । अझै सञ्चालनको मिति टुंगो नलागे पनि १ वैशाख ०७८ मा उद्घाटन गर्ने सरकारी निकायहरूले तयारी थालेका छन् । 

विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । सरकारले निर्माण कम्पनीका लागि पाँचौँपटकसम्म म्याद थप गरेर २०२० डिसेम्बरमा सक्न म्याद थप गरेको थियो । कामको अवस्था हेरेर तीन महिनादेखि ६ महिनासम्म पाँचपटकसम्म म्याद थप गरेको, तर कोरोनाका कारण विदेशबाट आउनुपर्ने दक्ष जनशक्ति आउनमा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । तर, लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको विमानस्थल निर्माण सम्पन्न हुने समय अझै टुंगो लाग्न सकेको छैन । ०७१ माघमा शिलान्यास भएको विमानस्थल समयमै काम भएको भए ०७४ पुस मसान्तमा सकिनुपर्थ्यो । 

स्थानीय ठेकेदारसँगको विवादले काम रोकिँदा लामो समय विमानस्थलको निर्माण कार्य पर धकेलिएको थियो । महाभूकम्प र मधेस आन्दोलनको अवरोधका कारण सन् २०१८ को जुनसम्ममा सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । त्यसपछि बढाएर २८ जुन २०१९ मा सक्ने लक्ष्य लिए पनि केही काम बाँकी रहेपछि तेस्रोपटक समय थप भएको थियो । तेस्रोपटक थप गर्दा निर्माण अवधि डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने भनिएको थियो । २०१९ डिसेम्बरमा पनि सक्ने अवस्था नभएपछि परियोजनाले चौथोपटक म्याद थप गरेको थियो । चौथोपटक म्याद थप गरेर काम अगाडि बढिरहेको अवस्थामा अहिले कोरोनाका कारण थप प्रभावित भएको निर्देशक अधिकारी बताउँछन् । 

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माण कार्य जारी छ । आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् भने आइसिपी–२ अन्तर्गतका कामहरू केही बाँकी छन् । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । आइसिपी–२ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ । यस कामका लागि आवश्यक उपकरण जडानको काम कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाइ हुँदै गएको छ । हाल अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने प्रस्थानकक्षको भवन सकिएर एसी जडानलगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, फल्स सिलिङ राख्ने, एसी जडान, वायरिङ, टायलिडलगायतका कामहरू सकिने क्रममा छन् । धावनमार्ग, ट्याक्सी वे, एप्रोनको काम सकिएको छ । 

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।  

भैरहवाभन्दा चार वर्षपछि सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसँगै सम्पन्न हुँदै

  • पोखरा  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल  भवन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । ०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समयमै सम्पन्न गर्ने गरी कोभिड–१९ का बीचमा पनि कामलाई द्रुतता दिइएको थियो । पोखरा विमानस्थललाई कोरोनाका कारण केही ढिला गरेको भए पनि समयमै सम्पन्न गरेर सञ्चालन हुने चरणमा पुग्ने निर्देशक अधिकारीले जानकारी दिए । 

‘चार वर्षपछि सुरु भएको आयोजना भए पनि इपिसी मोडलमा निर्माण भएकाले पनि काम समयमै सम्पन्न हुन लागेको हो,’ आयोजना निर्देशक अधिकारीले भने । आयोजनाको बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक काम बाँकी छ । विमानस्थल निर्माणको काम तोकिएभन्दा ६ महिनाअगाडि नै सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । त्यसअनुरूप काम पनि भएको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण निर्माणमा केही बाधा परेकाले ६ महिनाअगाडि नसकिने उनले बताए ।

करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ ।