मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०७:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से दोहोरो अंकले बढ्यो तर, राम्रा र जवाफदेही मानिएका कम्पनीको कारोबारसूचक घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०७:४३:००

तिहारको बिदापछि खुलेको सेयर बजारमा वृद्धि कायमै देखिएको छ । नेप्सेमा लगातार चौथो कारोबार दिन पनि दोहोरो अंकको वृद्धि भएको हो । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले वृद्धि भएर १ हजार ७ सय ४१ दशमलव ८१ मा पुगेको हो । 

तुलनात्मक रूपमा राम्रा, वित्तीय विवरण प्रकाशन गर्नेजस्ता आधारमा लगानीकर्ताप्रति जवाफदेही मानिएका ‘क’ वर्गका कम्पनीहरूको कारोबार देखाउने सेन्सेटिभ परिसूचक घटे पनि समग्र बजार भने बढेको छ । हुन त लचिलो प्रावधानले धेरैजसो कम्पनी सजिलै ‘क’ वर्गमा पर्दै आएको मानिने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको पर्याप्त तरलताको लाभ सेयर बजारलाई प्राप्त भइरहेकाले पनि बजार यसरी बढिरहेको देखिन्छ । 

सेयर बजारले नयाँ उचाइ भेटिरहेको छ भने कारोबार रकम पनि उच्च हुँदै आएको छ । बुधबार पनि बजारमा एकै दिन ४ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारको पहिलो आधा घन्टासम्म उच्च मोलमोलाइ देखिएको बजार त्यसपछि भने लगातारजसो वृद्धिको दिशामा देखियो । 

हिमालयन डिस्टिलरी, गोरखा फाइनान्स, विशाल बजार कम्पनी, बोटलर्स नेपाल तराई, साल्ट ट्रेडिङ र शिवम् सिमेन्टको मूल्य १० प्रतिशतको दरमा वृद्धि भएको छ । 

बुधबार कारोबारमा आएकामध्ये १ सय ९४ किसिमका कुल १ करोड १६ लाख धितोपत्र र ऋणपत्रका इकाइको किनबेच भएको छ । यसमध्ये ७२ कम्पनीको मूल्य बढेको र ८७ वटाको मूल्य घटेको छ । बैंक, विकास बैंक र जलविद्युत् समूहको परिसूचक भने घटेको छ ।  

कम्पनीहरूको अवस्था

हिमालयन डिस्टिलरीको चालू आवको पहिलो त्रैमासमा ९२ प्रतिशतले नाफा वृद्धि भएको वित्तीय विवरण प्रकाशित भएको छ । कम्पनीले यसअघि ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश दिएको थियो । यसपटक भने कम्पनीले लाभांश घोषणा गरेको छैन । 

विशाल बजार कम्पनीको निकै अगाडिदेखि वित्तीय विवरण प्रकाशित हुन सकेको छैन । साल्ट ट्रेडिङले पहिलो त्रैमासमा नाफा ३ प्रतिशतले बढेर १ करोड पुगेको छ । कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको थियो । बोटलर्स नेपाल तराईको पहिलो त्रैमासमा नाफा ४ प्रतिशतले घटेको छ भने गत आवमा पनि नाफा घटेको थियो । यसअघि ४० प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले यसपटक लाभांश घोषणा गरेको छैन ।

त्यस्तै, गोरखा फाइनान्सले गत ५ कात्तिकमा साधारणसभा सम्पन्न गरिसकेको छ । कम्पनीले लाभांश भने दिएन । पहिलो त्रैमासमा कम्पनीले करिब साढे ३ गुणाले वृद्धि गरेर ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । लामो समय समस्याग्रस्त रहेको कम्पनी सुधारोन्मुख छ ।  

शिवम् सिमेन्टको साधारणसभाले २४ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गरिसकेको र लगानीकर्ताले हात पारिसकेको भए पनि त्यसपछि पनि सेयर मूल्य बढेको छ । शिवम्को पहिलो त्रैमासमा नाफा २५ प्रतिशत वृद्धि भएर २९ करोड पुगेको छ ।