मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०१:३४:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

अबको बैठकमा कुरा मिले सर्वसम्मत र नमिले बहुमत–अल्पमतबाट निर्णय हुन्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार ०१:३४:००

झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा 

नेकपाको सचिवालय बैठकको निर्णयलाई कसरी बुझ्न सकिन्छ ?

प्रधानमन्त्रीका तर्फबाट विधि र प्रक्रियालाई मान्ने खालको, पार्टीलाई मान्ने खालको कुरा आयो । यसलाई हामीले पार्टीको जितका अर्थमा बुझ्न सक्छौँ । पार्टीको बैठकै नमान्ने, बैठकै आयोजना नगर्ने, बहुमतको कुरै नसुन्ने अवस्था थियो । अब त्यो समाप्त भएर बैठक सुन्ने, बैठकमा उपस्थित हुने प्रक्रियाको थालनी भएको छ । यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ । अब जति पनि विषयवस्तु आएका छन्, ती सबै विषयवस्तुमा छलफल हुन्छ । छलफलका लागि प्रधानमन्त्रीले तयारी चाहिन्छ भनेर दश दिन माग गर्नुभएको कारण उहाँलाई बैठकले दश दिनको समय दिएको छ । दश दिनपछि सचिवालयको बैठक बस्ने, लगत्तै १८ गते स्थायी कमिटी, त्यसपछि २५ गते केन्द्रीय कमिटी बैठक बस्ने पुनर्तालिका (रिसेटिङ) गरेका छौँ ।

नेकपाभित्र जुनस्तरको संकट देखिन्छ, त्यसलाई हेर्दा १० दिन समय लामो हो कि छोटो हो ?

होइन ठीकै छ । माग भएपछि पार्टीका विधि–प्रक्रियाअनुरूप राम्ररी छलफल गरेर जाने हो भने त्यसका लागि पार्टीले समय दिने कुरा जायजै छ ।

प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई आरोपपत्र भएकाले जवाफसहितको अर्को प्रतिवेदन लेख्न समय लिएको भनिएकाले नेकपाभित्रको विवाद त झन् चर्किने गरी गर्मागर्मीतिर गएको हो कि भनेर अर्थ लगाउन सकिँदैन ?

त्यही हो, उहाँले जवाफ दिनुहुन्छ । जवाफ आएपछि छलफल सुरु हुन्छ, त्यसले केही फरक पार्दैन । जतिवटा प्रस्ताव आए पनि त्यसले पार्टीलाई फाइदा नै पुर्‍याउँछ ।

सर्वसम्मत दस्ताबेज छलफलका लागि आउनुपर्नेमा फरक–फरक दस्ताबेज छलफलमा लगिने भएपछि बहुमत–अल्पमतको प्रक्रियामा लगेर टुंग्याउँदै जाने हो कि, अरू कुनै विधिबाट एकता नभत्किने गरी समाधान खोज्नुहुन्छ ?

हामीले जुन विधि र प्रक्रियाको कुरा गरिरहेका छौँँ, त्यही बाटोबाट अगाडि जान्छौँ ।

व्यापक आशंकाबीच बुधबार सचिवालय बैठक सम्पन्न भयो । के अब नेकपा फुटबाट जोगिएर एकताको बाटोतिर अगाडि बढ्न थाल्यो भनेर आशा गर्ने अवस्था छ ?

त्यो ठाउँ छ । प्रक्रियामा आउनु भनेको सकारात्मक कुरा हो । तर, विषयवस्तु वा अन्तर्वस्तु प्रस्तुत हुँदा कति मिलिन्छ, कति मिलिँदैन भन्ने कुरामा पनि भोलि प्रक्रियाबाटै हल गर्छ । मिल्यो सर्वसम्मत हुन्छ । मिलेन बहुमत र अल्पमतबाट निर्णय हुन्छ ।

नेकपा बनेपछिका निरन्तरका विवादहरू अन्तिममा दुई अध्यक्षबीच नियुक्ति, भागबन्डा र लेनदेनमै गएर टुंगिएकोजस्तो देखिन्छ । के अबको दश दिन पनि त्यसैगरी विवाद टुंग्याउने गरी समय लिएको हो भन्ने आधार छ, होइन ?

बिलकुलै होइन । अब यो दुई नेताबीचको मात्र विवाद रहेन, पार्टीको आन्तरिक विवाद हो । आन्तरिक विवाद आन्तरिक विधि र प्रक्रियाबाट हल हुन्छ ।

स्थायी कमिटीले पनि विधि र प्रक्रियाबाटै हल गरेको भनिएको होइन र ? अबचाहिँ कसरी हल गर्न खोज्नुभएको ?

त्यो नमान्दा त समस्या आएको हो । अबचाहिँ त्यसभन्दा उन्नतस्तरमा विधानबमोजिम हल गर्ने प्रयास गर्छौँ ।

अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमा अहिलेको समस्या समाधानका लागि मुलुक र जनताका लागि त्याग गर्ने पालो प्रधानमन्त्री केपी ओलीको हो भनिएको छ । तपाईंहरूको समेत समर्थनमा आएको त्यो प्रतिवेदनको आसय प्रधानमन्त्री ओलीको राजीनामा हो या अरू केही ?

त्यसको अर्थ पछि निस्किन्छ, अहिले निस्किँदैन । अहिले त्यस्तो अर्थ लगाउनु पनि हुँदैन ।