Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १६:१४:००
Read Time : > 1 मिनेट
विश्व

अफगानिस्तानबाट सैनिक हटाउँदा ठूलो नोक्सान हुने नेटो प्रमुखको चेतावनी 

Read Time : > 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ३ बुधबार १६:१४:००

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो विचार अघि सारेका हुन् । 

उनले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका रूपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणका योजना बन्न सक्नेमा चिन्ता व्यक्त गरे । महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइएसआईले अफगानिस्तानलाई आफ्नो केन्द्रका रूपमा उभ्याउन सक्ने खतरा रहेको बताए । उनीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्तिप्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रूपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौँ ।’

अफगानिस्तानमा तैनाथ सैनिकको संख्याबारे निरन्तर समीक्षा भइरहेको उनले बताए । उनले भने, ‘अहिले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको संख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैरअमेरिकी सैनिक छन् ।’ अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायतालाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ । उनले भने, ‘हामी अफगान सैनिकलाई सन् २०२४ सम्म मद्दत गर्नेछौँ ।’

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आगामी क्रिसमसअघि नै चार हजार पाँच सय सैनिक फिर्ता गरिसक्ने बताएका थिए । तर, वरिष्ठ सैनिक तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले हतारमा सैनिक संख्या कटौती गर्न नहुने सुझाब दिएका थिए । 

यसैबीच, अफगानिस्तानको फर्याब प्रान्तमा भएको बम विस्फोटनमा करामकुल जिल्लाका प्रहरी प्रमुख सफर मोहम्मद बिदारसहित पाँचजना सुरक्षाकर्मी मृत्यु भएको छ । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बुधबार विस्फोट भएर ती सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अफगानी मुख्य विद्रोही समूह तालिबान र अफगान सरकारबीच मध्यस्थता वार्ता जारी रहे पनि हिंसा–प्रतिहिंसाका घटनामा कमी आएको छैन ।