१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०९:११:००
Read Time : < 1 मिनेट
विश्व

ब्रेक्जिट सम्झौता परिमार्जन गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०९:११:००

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू)बाट बेलायत अलग्गिने ब्रेक्जिट सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छिन् । प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा हटाउन आफूले पहल गर्ने बताइन् ।  बेलायतले आगामी मार्च २९ मा इयू छाड्दै छ, तर बहिर्गमन सम्झौता बेलायती संसद्बाट स्वीकृत भएको छैन । बेलायती संसद्ले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो । 

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसद्मा अझै मतैक्य हुन सकेको छैन । आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सिमानाका कारण मानिस तथा वस्तुको निर्बाध आवतजावत हुने गरेको छ । तर, धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरू निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरू ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द हुनुपर्नेमा जोड दिएका छन् ।  

तर, इयू नेताहरूसँग यसअघि भएको सम्झौतामा निश्चित समयका लागि सो सीमा खुला राख्ने सहमति भएको छ । युरोपेली नेताहरू प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् । ‘इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट बिस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,’ आइरिस प्रधानमन्त्री लिओ भाराड्करले भने । 

प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरू युरोपेली नेतासँग ब्रसेल्समा बिहीबार भेट गर्दै छिन् । उनले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्ने बताइएको छ । प्रधानमन्त्री मेले युरोपेली नेतासँग छलफल गरी संशोधित प्रस्ताव अर्को साता बेलायती संसद्मा प्रस्तुत गर्नेछिन् ।