१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३० आइतबार १६:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते खुल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३० आइतबार १६:०३:००

यस वर्षको भाइटीकाका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते दर्शनका लागि खुला गरिने भएको छ । 

०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुऱ्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निनिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । 

०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुऱ्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । 

उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवसर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए । 

यस वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले १ गते भाइटीका मान्नेहरूलाई १ गते र २ गते मान्नेहरूका लागि २ गते दर्शनको व्यवस्था गरिएको बताए । 

भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलिमिली बनाएको छ । 

अहिले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले कडा सुरक्षा गरिएको उनले बताए । 

स्वयंसेवक परिचालन गरी दर्शन गर्न आउनेहरूको ज्वरो नाप्ने र मास्कसमेत वितरण गर्ने उनले बताए । 

मेयर शाक्यले टीका लगाउनेबाहेक घुम्न आउनेहरूलाई नआउन पनि आग्रह गरेका छन् । भाइटीकाका लागि मात्रै १ र २ गते मन्दिर खुला हुने भएकाले भाइटीका नहुनेहरूले स्वास्थ्य जोखिमलाई ध्यानमा राख्न नआउन उनले आग्रह गरे । 

महानगरपालिकाले छिट्टै सबैका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको उल्लेख गर्दै मेयर शाक्यले संक्रमणको जोखिम कायम रहँदासम्म सतर्कता अपनाउन आग्रह गरे । 

मन्दिर पुरानै शैली (ग्रन्थकुट शिखर) मा पुनर्निर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । 

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुऱ्याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । 

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । 

पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाका लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ । 

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । 

पोखरीको बीचमा त्यसैवेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।