मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १८ शनिबार
  • Saturday, 01 May, 2021
रमेश रावल वीरेन्द्रनगर
२०७७ कार्तिक २९ शनिबार ०६:१८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिरामीलाई जोगाएर आफू गए एम्बुलेन्सचालक

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ कार्तिक २९ शनिबार ०६:१८:००

कालिकोटमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकले आफ्नो ज्यान फालेर बिरामी र तीनजना कुरुवालाई जोगाएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–११ चौखोलाबाट बिरामी बोकेर आएको कर्णाली प्रदेश ०२००१ च ०१९२ नम्बरको एम्बुलेन्स खाँडाचक्र–८ को सेरावाडामा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा चालक ३३ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ । उनले एम्बुलेन्समा रहेका बिरामी र तीनजना कुरुवालाई भने जोगाएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कर्णाली राजमार्गको सेरावाडामा साँघुरो मोडमा विपरीत दिशाबाट बस आएपछि एम्बुलेन्स सडकको किनार पुगेको थियो । अगाडि आउन नसकिने र पछाडि लग्न पनि नसकिने भएपछि चालक शाहीले बिरामी र कुरुवालाई ओर्लिन लगाएको स्थानीय वीरबहादुर मल्लले बताए । ‘साँघुरो मोडमा अगाडिबाट बस आएपछि एम्बुलेन्स लिकबाट बाहिर गएछ । ब्रेक लगाएर बिरामी र कुरुवालाई ओर्लिन लगाएछन्,’ मल्लले भने, ‘बिरामी र कुरुवा ओर्लिएपछि एम्बुलेन्स ब्याक गर्न खोज्दा खसेछ । उनी आफू गएर अरू चारजनाको ज्यान जोगाए ।’

जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार एम्बुलेन्स सडकबाट तीन सय मिटर तल तिला नदीमा खसेको छ । दुर्घटनामा एम्बुलेन्स पूर्ण रूपमा क्षति भएको छ । उनले बिहीबार खाँडाचक्र नगरपालिका–९ की ४३ वर्षीया धर्मकला विष्टलाई जिल्ला अस्पताल ल्याउन लागेका थिए ।

दमबाट पीडित विष्टको एकाएक पेट दुखेपछि एम्बुलेन्समा अस्पताल लग्न लागिएको स्थानीय बासिन्दाले बताए ।  दुर्घटनामा परेको एम्बुलेन्स पृथ्वी रक्तदान वीर फाउन्डेसनको हो । खाँडाचक्र–४ ताडीका शाही एक वर्षदेखि यो एम्बुलेन्स चलाउँदै आएका थिए ।