मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७७ कार्तिक २८ शुक्रबार १८:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको महाधिवेशन सरेन, मंसिरभित्र जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाइसक्नुपर्ने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २८ शुक्रबार १८:४९:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले १४औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशील सदस्यता वितरणको म्याद मात्रै परिवर्तन गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्नुपर्ने निर्णय गरेको हो । 

आगामी ७ देखि १० फागुनभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले यसअघि नै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । महाधिवेशनअघि गर्नुपर्ने काम पूरा नभए पनि मुख्य काम क्रियाशील सदस्यता भएकाले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको कार्य पूरा भए महाधिवेशन सार्नु नपर्ने भन्दै पौडेल पक्षले अडान राखेपछि बैठकले महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशीलको विवरण आइसक्नुपर्ने अन्तिम म्याद मात्रै तोकेको हो । 

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित सूर्यबहादुर केसीको निधन भएपछि रिक्त भएको ठाउँमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निणर्य पनि गरेको छ । पाण्डेको नाम कांग्रेसको समानुपातिक बन्द सूचीमा खस आर्य समूहअन्तर्गत क्रम संख्या नंं. १२ मा छ । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापालाई सहमहामन्त्री, अन्य सात नेतालाई केन्द्रीय सदस्य र तीन नेतालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय बैठकले गरेको छ । सहमहामन्त्रीमा मनोनयन भएका थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । केन्द्रीय सदस्यहरूमा विष्णुविक्रम थापा सिन्धुपाल्चोक, किरण गिरी काठमाडौं, बाबुराम बस्नेत भोजपुर, रामप्रसाद भट्टराई मोरङ, वृजलाल यादव बारा र टिएन योगी ललितपुर मनोनीत भएका छन् ।  

यस्तै, दिलीप राई झापा, आशाराम चौधरी कैलाली र राजेशबहादुर सिंह कपिलवस्तुलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय कांग्रेसले गरेको छ ।