१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा.सुमित्रा अमात्य
२०७५ माघ २४ बिहीबार ०७:५०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

चक्रीय अर्थ व्यवस्थामार्फत फोहोरबाट लाभ

पुनः प्रयोग गर्न सकिने ठूलो परिमाणका सामग्री ‘डम्पिङ’ साइटमा लगेर पुर्दा अर्थ व्यवस्थामै नकारात्मक प्रभाव पर्छ

Read Time : > 3 मिनेट
डा.सुमित्रा अमात्य
२०७५ माघ २४ बिहीबार ०७:५०:००

प्राकृतिक स्रोतबाट बनेको वस्तुलाई विविध प्रक्रिया तथा प्रविधिबाट पुनः प्रयोग अर्थात् धेरैपटक प्रयोग गरी देशको अर्थतन्त्रमा योगदान पु-याउने प्रणालीलाई चक्रीय अर्थ व्यवस्था भनिन्छ । कम गुणस्तरका सामग्री बनाउने, प्रयोग गर्ने र फाल्ने कार्यले विश्व अर्थतन्त्रमै नकारात्मक असर परिरहेको छ । एकपटकको प्रयोगपछि फाल्नुपर्ने प्रवृत्तिविपरीत लामो समयसम्म खपत हुने सामान प्रयोग गरिसकेपछि पनि पुनः चक्रीय प्रणालीमा लैजाने कार्यमार्फत दिगो तथा वातावरणमैत्री व्यवस्थापनलाई चक्रीय अर्थ व्यवस्थापनले समेटेको छ । 

विकास निर्माणमा प्रयोग हुने तथा दैनिक उपभोगमा आउने वस्तुलाई लामो समयसम्म खपत हुन सक्ने बनाउन पुनः प्रयोग तथा पुनः चक्रीय प्रणालीमा ढाल्दै दिगो विकासको लक्ष्य प्राप्तिका लागि चक्रीय अर्थ प्रणाली अपनाउनु आवश्यक छ । जुन वर्तमान रेखीय आर्थिक प्रणालीभन्दा अधिक स्थायी हुन्छ । प्राकृतिक स्रोतको दोहन घटाई वायु, जल तथा स्थल प्रदूषणलगायत वातावरणीय प्रदूषण न्यूनीकरणमार्फत भावी पुस्ताका लागि पनि विद्यमान स्रोत–साधन बचाउनु आजको पुस्ताको जिम्मेवारी हो । पृथ्वीमा रहेको खनिज, पानीका स्रोत तथा वनजंगल यही गतिमा प्रयोग गर्दै जाने हो भने अबका केही वर्षमा यो रित्तिन सक्छ र अर्थ व्यवस्थाले निकै ठूलो चुनौती खेप्नुपर्ने हुन्छ । 

पानीका मुहानका रूपमा रहेका हिमताल पग्लिनु, समुद्री सतह बढ्नु, अतिवृष्टि, अनावृष्टि, तापक्रम बढ्दै जानु अधिकांशका लागि चिन्ताको विषय हो । गुणस्तरीय सामग्री उत्पादन नहुँदा बढी मात्रामा प्राकृतिक स्रोत तथा ऊर्जा खेर गइरहेको वर्तमान अवस्थामा सरकारले चक्रीय अर्थ व्यवस्थालाई बढी महत्व दिनु जरुरी छ । कुनै पनि वस्तु प्रयोग गर्दा यसको दिगोपन (गुणस्तर) कायम छ÷छैन भन्ने विषयमा ध्यान दिने र प्रयोगयोग्य नहुनेबित्तिकै फालिहाल्ने प्रवृत्ति रोक्नुपर्छ । त्यसका लागि पूर्ण चक्रीय प्रणाली प्रयोग गर्न प्राविधिक क्षमता स्थानीयस्तरमै बढाउनु आवश्यक छ ।

अहिलेको अभ्यास : सरकारी तहदेखि आमनागरिकसम्मले फोहोरलाई एकै ठाउँमा मिसाएर फालिरहेका छन् । परिणामस्वरूप ठूलो मात्रामा पुनः प्रयोगीय सामग्री ‘डम्पिङ’ साइटमा लगेर पुर्ने गरिएको छ । यसले अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परेको छ । यसले वायु प्रदूषण पनि बढाएको छ । जथाभावी बाटोमा फोहोर फालिरहँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्छ । पर्यटन व्यवस्थापनमा नकारात्मक असर देखिँदै गएको छ । उद्योगी व्यवसायी पनि समाज तथा वातावरणप्रति जिम्मेवार भएको देखिन्न । मन्दिर जाँदा पनि जथाभावी फोहोर फालेको देखिन्छ । हिमाली भेगतिर प्लास्टिकजन्य फोहोर फाल्ने र जलाउने गर्दा धुवाँका कारण हिमाली सौन्दर्यमा कमी आई पर्यटन क्षेत्रमै नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

प्लास्टिकजन्य सामग्री र त्यसको अवस्था : नेपालको वातावरण प्रदूषण हुनुमा प्रमुख कारक प्लास्टिक नै हो । ३० माइक्रोनभन्दा कमका प्लास्टिक झोलाको प्रयोगले जल, जमिन र वायु प्रदूषण बढेको छ । अर्कातिर जनावर तथा अन्य जलचर प्राणीले प्लास्टिक सेवन गर्दा तिनको प्राणसमेत गएको देखिन्छ । हिमाल, पहाड, तराई जताततै प्लास्टिकजन्य फोहोर देखिन्छ । यो सयौँ वर्षसम्म कुहिँदैन र जलाउँदा पनि डाइअक्सिनजस्ता विषाक्त तत्वले वायुमण्डल नै दूषित बनाउँछ । 

अबको बाटो : नेपाल सरकारले ३० माइक्रोनभन्दा कमको प्लास्टिक झोला निषेध गरेको छ । तर, त्यसलाई कार्यान्वयनमा लैजान नीतिगत तहमै केही व्यवस्था हुनुपर्ने देखिन्छ । यसका लागि प्लास्टिक झोलामा अत्यधिक कर बढाउने, प्लास्टिक झोलाको विकल्पमा अन्य झोला बनाउने उद्योग स्थापना गर्न व्यवसायीलाई प्रोत्साहन गर्ने जस्ता कार्य गर्न सकिन्छ । 
विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउनु पनि जरुरी छ । प्लास्टिक पेट्रोलियम पदार्थबाट बन्ने हुनाले पेट्रोलियम पदार्थसँग तातोको सम्पर्क हुनासाथ त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ । फोहोरको मात्रा पनि बढ्छ । प्लास्टिकको सामानविनाको जीवन कल्पना गर्न गाह्रो छ । काठमाडौंमा मात्र दैनिक झन्डै ४७ प्लास्टिक झोला खपत हुन्छ । झन्डै साढे दुई टन फोहोर निष्कासन हुन्छ ।

परिणामस्वरूप प्लास्टिकका झोलाजन्य फोहर नदी, बाटो, खुला स्थान, हिमाल, पहाडलगायत यत्रतत्र देखिन्छ । यस्तो फोहोर व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । स्थानीय सरकारले यसलाई पूर्ण रूपमा पुनः चक्रीय प्रणालीमा लैजान पनि कठिन छ । नगरपालिकाहरूबाट उत्पादन हुने फोहोरमैलालाई व्यवस्थित गर्न कठिन भएको अवस्थामा प्लास्टिकजन्य फोहोर व्यवस्थापन सहज छैन । प्लास्टिक प्रदूषणबाट नेपाल मात्र नभई विश्व नै प्रताडित भएको अवस्था छ । विकसित राष्ट्रहरूले प्लास्टिक झोला प्रयोगलाई निरुत्साहित गर्छन् । नेपालले पनि अब ढिलो नगरी प्लास्टिक प्रयोगले हुने हानिसम्बन्धी जानकारी सर्वसाधारणसम्म पु-याई प्लास्टिक झोला उत्पादनमै रोक लगाउने बाटोमा जानु आवश्यक छ । आमनागरिकले पनि अब प्लास्टिकको झोला प्रयोग गर्न छाड्नुपर्छ ।

कम स्रोत–साधन प्रयोग गरेर बढीभन्दा बढी प्रतिफल प्रयोगमा ल्याउने अर्थनीतिलाई चक्रीय अर्थ प्रणाली भनिन्छ । हामीले फोहोर उत्पादनमै कमी ल्याई फोहोररहित समाज निर्माणतर्फ उन्मुख हुनु छ । हाम्रा पूर्वजले फोहोरलाई मोहरका रूपमा प्रयोग गर्थे । कुहिनेबाट मल बनाएर पुनः प्रयोग गर्थे । अहिलेको सुविधाभोगी प्रवृत्तिका कारण पुनः प्रयोग हुने सामग्रीको प्रयोगमा खासै चासो देखिन्न । कुहिने फोहोरलाई पनि मिसाएर फाल्ने प्रवृत्ति बढेको देखिन्छ । 

व्यवस्थापनमा ठूलो धनराशी प्रयोग : अबको बाटो भनेको गुणस्तरीय उत्पादन र वातावरणमैत्री सामग्री उत्पादन गर्नु हो । त्यस्तै आमनागरिकले आफ्नो बानी सुधारी प्राकृतिक स्रोतको सदुपयोग गर्न अत्यावश्यक भइसकेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाको फोहोरमैला व्यवस्थापन खर्च वार्षिक १ अर्बभन्दा बढी छ । जुन रकम विकास निर्माण तथा अन्य क्षेत्रमा खर्च गर्दा देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ ।

सडक तथा पुल निर्माण एवं मर्मत सम्भारमा सामाजिक एवं वातावरणीय पक्षको नकारात्मक असर न्यूनीकरणका लागि आवश्यक पर्ने सबै उपाय अवलम्बन गर्नुपर्छ । सर्वसुलभ, गुणस्तरीय र वातावरणमैत्री सेवाका लागि सरकारी निकायको संस्थागत क्षमता अभिवृद्धिका साथै निजी क्षेत्रका यातायात व्यवसायीको भूमिकालाई अझै बढी जिम्मेवार र यात्रुमैत्री बनाउनु आवश्यक छ । वातावरणमैत्री, सुरक्षित र सुलभ सार्वजनिक भवन तथा निजी आवासको विकास, भवन तथा आवास निर्माण क्षेत्रमा प्रयोग हुन सक्ने अभैm किफायती, सुरक्षित र वातावरणमैत्री निर्माण सामग्री र नवीनतम प्रविधि प्रवद्र्धनका लागि नियमित अनुसन्धान र विकास कार्यमा शैक्षिक प्रतिष्ठान परिचालन आवश्यक छ । 
(डा. अमात्य राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य हुन्)