मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ कार्तिक २८ शुक्रबार ०९:२८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश २ मा  कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारी

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ कार्तिक २८ शुक्रबार ०९:२८:००

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले तेस्रो चरणको तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रादेशिक कोरोना संकट व्यवस्थापन समिति (पिसिसिएमसी)को बैठकमा कोरोना महामारीको अहिलेको अवस्था, विगतमा भएकोे कार्यक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको छ । 

महामारीविरुद्धको तेस्रो चरणको तयारीस्वरूप ५० हजार भिटिएम र रिएजेन्ट खरिद गरिसकेको, पिसिआर ल्याब सञ्चालन गर्न बाँकी रहेका चार जिल्ला सिराहा, महोत्तरी, सर्लाही र बारामा यसै सातादेखि ल्याब सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी गराए । तेस्रो चरणका लागि महत्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेशभरिका ६ वटा अस्पतालमा २५ बेडका दरले एक सय ५० बेडको उच्च निर्भरता कक्ष (एचडियू) निर्माण गर्ने निर्णय गरिएको छ । 

यसका साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालले खरिद गरेका भेन्टिलेटरलाई अतिशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने बैठकबाट निर्णय गरेको छ । 

कोरोना भ्याक्सिन व्यवस्थापन समिति गठन

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकले निकट भविष्यमा आउन लागेको कोरोनाविरुद्धको भ्याक्सिनलाई व्यवस्थापन गर्न तीन सदस्यीय भ्याक्सिन व्यवस्थापन समिति गठन गरेको छ । संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा गठित समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा रहेका छन् । 

कोरोनाबाट प्रदेश २ मा एक सय ८३ को मृत्यु

कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म एक सय ८३ जनाको मृत्यु भएको छ । जसमा ३१ जना महिला र एक सय ५२ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सबैभन्दा बढी पर्सामा ५० जना र सबभन्दा कम रौतहटमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, धनुषामा १९, महोत्तरीमा १७, सिराहामा २३, सप्तरीमा ३१, सर्लाहीमा १३ र बारामा १९ कोरोना संक्रमित भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म १६ हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ ।

उनीहरूमध्ये १५ हजार ९७ जना निको भएका छन् । प्रदेशमा २८ हजार पाँच सय ५६ जनाको स्वाब संकलन गरिएकोमा चार सय ७८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिले प्रदेशमा आठ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।