Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठकाडाैं
२०७७ कार्तिक २८ शुक्रबार ०६:४९:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

टेकोमा शिलापत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठकाडाैं
२०७७ कार्तिक २८ शुक्रबार ०६:४९:००

महान् नेता भएको देशमा बस्ने नेपालीको दु:ख के मात्रै हो भने धेरैजसो पूर्वाधारको शिलान्यास हुन्छ, तर काम सम्पन्न हुँदैन, मेलम्ची र तामाकोसीको जस्तै

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द कलौनीले हुम्लामा नवनिर्मित स्वास्थ्य सेवा भवनको उद्घाटन गरेका छन् । स्वास्थ्य सेवा दिने कार्यालयको भवन बन्नु र उद्घाटन हुनु एकदम राम्रो कुरा हो । कलौनीले देशको सेवाका लागि हुम्ला पुगेर हतार–हतारमा भए पनि यो काम सम्पन्न गरेका छन् । कुरा के मात्र अलि नमिलेको हो भने कार्यालय उद्घाटन गर्न प्रदेश प्रमुख पुग्ने खबर सम्बन्धित कार्यालयका मानिसले पनि एक दिनअघि मात्र पाएका थिए । भवन उद्घाटनका लागि तयारी गरिएकै थिएन । उनीहरूले हतार–हतारमा एउटा शिलापत्रमा प्रदेश प्रमुखको नामसमेत लेखाए र ल्याए, तर त्यसलाई राम्रोसँग राख्न सकेनन् । उता उद्घाटन गर्न प्रदेश प्रमुख मन्त्रीसँगै आइहाले । अनि एउटा उपाय निकालियो । शिलापत्रलाई एउटा घोचोको चोकेमा अड्याइयो र प्रमुखले त्यहीँ कपडा हटाएर भवनको उद्घाटन गरिदिए । 

देशको सेवा गर्न हाम्रा मन्त्री र प्रशासकलाई कति हतार छ भन्ने एउटा सानो नमुना मात्र हो यो । आखिर सबै कुरा शिलान्यासबाट आरम्भ हुन्छन् र उद्घाटनमा गएर सकिन्छन् । जसले छिटो उद्घाटन गर्न सक्यो, उही विकासप्रेमी बनेर भित्तामा अजर अमर रहन्छ । आखिर हाम्रा प्रधानमन्त्रीले पनि यस मामिलामा सबैलाई उछिन्ने प्रयास गरेकै हुन् । जस्तो– उनले प्रधानमन्त्री हुनुअघि नै रसुवागढी पुगेर आफ्ना कार्यकर्ता र आसेपासेलाई मात्र होइन, स्थानीय जनतालाई पनि केरुङबाट आउने रेल कसरी कता जान्छ भनेर देखाएका थिए । तीन वर्षमा त्यो आएन त के भयो । उनले देशका सबै घरमा पाइपबाट ग्यास आपूर्ति गर्छ सरकारले, सिलिन्डर बोक्ने दिन गए भन्दै एउटा गौशालामा उत्पादित बायोग्यासको पाइप उद्घाटन गरेकै हुन् । गौशालावालाले त्यस्तो ग्यास नियमित दिन सकेन भनेर प्रधानमन्त्रीको विकासप्रेममाथि प्रश्न उठाउन त मिलेन । 

  • कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी हुम्लामा स्वास्थ्य सेवा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै । उनले आफ्नो नाम लेखिएको शिलापत्र टेकोमा अड्याएर भवन उद्घाटन गरे । तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका

उनले एक कदम अघि बढेर पानीजहाज कार्यालयको उद्घाटन नै गरे देशको विकासका लागि भन्दै । पानीजहाज कता आयो, कसरी आयो भन्ने प्रश्नको जवाफ अहिले दिनैनपर्नु अर्कै कुरा हो । हालै जनकपुर आएको रेलको डिब्बा पाल ओढेर सिमानामा बसेको छ । त्यसपछि मात्र रेलका लागि कर्मचारी र प्राविधिक खोज्न थालिएको छ । आखिर कर्मचारीभन्दा त रेल नै प्रमुख कुरा हो चल्ने कुरा त ढिलोचाँडो हुन्छ नै । काठमाडौंमा आफू हिँडुन्जेल मात्र चलेको बिजुलीबसको उद्घाटन पनि प्रधानमन्त्री ओलीबाट भएकै हो । यता नेताहरू देश विकासका लागि यसरी मरिमेटेका छन्, तर उनीहरूको विकासप्रेमबारे जे–जति लेखिएको छ, त्यो निकै नकारात्मक मात्र छ । अन्यथा नेताहरूले यसरी काठको टेकोमा अड्याएर भवन उद्घाटन गर्नु भनेको विकासका लागि गरेको सक्रियताको एउटा गजबको उदाहरणबाहेक के हुन सक्छ र ? 

कलौनी र उनलाई उद्घाटनमा लैजाने मन्त्री दल रावलको विकासप्रेमलाई उनीहरूको हतारोले नै छर्लंग पारेको छ । यस्ता महान् नेता भएको देशमा बस्ने नेपालीको दुःख के मात्रै हो भने धेरैजसो पूर्वाधारको शिलान्यास हुन्छ, तर काम सम्पन्न हुँदैन, मेलम्ची र तामाकोसीको जस्तै । धेरैजसो उद्घाटित कार्यालयले काम दिँदैनन् र अलपत्र पर्छन्, पानीजहाज कार्यालयजस्तै । जनताले पत्याउने–नपत्याउने उनीहरूको सार्वभौम अधिकार हो । नहुने कामको शिलान्यास र उद्घाटन गर्नेको देशप्रतिको असीम भक्तिबारे शंका गरिरहनु गौशालाको गोबरग्यासले घरघरमा पाइपबाटै इन्धन पुग्छ भन्ने कुरालाई अविश्वास गर्नुजस्तै हो । टेकोमा शिलापत्रहरू रहुन्जेल हामीले विकासबारे कुनै चिन्ता गर्नु नपर्ला ।

यो पनि पढ्नुहोस् : शिलापत्र घोचोमा अड्याएर उद्घाटन