१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०६:११:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

यात्रु नपाएपछि वाइडबडी जहाज थन्क्याएर न्यारोबडीमार्फत उडान

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०६:११:००

नेपाल वायुसेवा निगमले यात्रु पाउन छाडेको छ, पछिल्लो दुई सातामा एक दिन मात्रै चारवटा जहाज उड्न पाएका छन् । बाँकी केही दिन एउटा वाइडबडीले उडान गरे पनि अन्य सबै उडानहरू न्यारोबडीमार्फत ।

यात्रु घट्न थालेपछि निगमले वाइडबडी जहाज थन्क्याएर न्यारोेबडीमार्फत मात्रै उडान गर्न थालेको छ । वाइडबडीलाई चाहिने पर्याप्त यात्रु पाउन मुस्किन परेपछि सबैजसो उडानमा निगमले न्यारोबडी प्रयोग गर्न थालेको हो । पछिल्लो समय जापानको नारिता र दुबईबाहेकका गन्तव्यमा निगमले न्यारोबडी प्रयोग गर्न थालेको छ । जसका कारण एक थान वाइडबडी जहाजले काम पाउन छाडेको हो ।

असोजमा १८ हजार ९ सय ६९ यात्रु बोकेको निगमले कात्तिकमा बुधबारसम्म १० हजार ८ सय १६ यात्रुलाई मात्रै सेवा दिएको छ । यो असोजको तुलनामा ८ हजार यात्रु कम हो । ‘अहिलेको यात्रुलाई न्यारोबडी नै पर्याप्त रहेकाले अहिले आवश्यक परेकाबाहेकको समयमा वाइडबडी जहाज उडान रोकेका छाैँ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने ।

दसैँअगाडिसम्म नेपाली श्रमिकहरू विदेशबाट आउने–जाने क्रम बढ्दो थियो । तर, दसैँपछि आउने र जाने नै कम भएपछि निगमका जहाजले यात्रु नै पाउन छाडेका छन् । पर्यटक नआउने भएकाले अहिलेको भर नेपाली यात्रु मात्रै रहेको पौडेलले बताए । त्यसैले खर्च कटौती गर्न वाइडबडी जहाजलाई ग्राउन्डेड गरेर न्यारोबडीमार्फत उडान गरिरहेको उनको भनाइ छ ।  

साढे तीन वर्षअगाडि खरिद गरिएका दई थान वाइडबडी जहाजले भर्खरै मात्रै विभिन्न गन्तव्यमा ९० प्रतिशतसम्म अकुपेन्सी पाउन थालेको थियो । तर, कोभिडका कारण निगमको बिजनेसमा गम्भीर धक्का लागेको छ । हालसम्म निगमले ७ अर्बभन्दा बढी आम्दानी गुमाएको अनुमान गरिएको छ । निगमसँग अहिले पनि ४५ अर्बभन्दा बढी ऋणको भार छ । मासिक करोडाैं ब्याजले थिचिएको निगमलाई कोरोनाले गम्भीर धक्का दिएको छ । 

निगमसँग १ सय ५८ सिट क्षमताका दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज छन् । २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज छन् । निगमले हङकङ, बैंकक, मलेसिया, दुबई, साउदी, दोहा र नारिता उडान गरिरहेको छ । यता भारतका तीन गन्तव्यमा भने ११ चैतयता उडान हुन सकेको छैन । 

 काठमाडौं–दिल्ली उडान नखुल्दा निगमको आम्दानीमै असर
लामो समयदेखि नेपाल–भारत उडान हुन नसक्दा नेपाल वायुसेवा निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ । निगमको सबैभन्दा बढी नाफा आर्जन गर्ने गन्तव्य गत ११ चैतदेखि बन्द छ । निगमले लकडाउनभन्दा अगाडि दैनिक २ उडान दिल्लीमा मात्रै गर्दै आएको थियो । त्यस्तै, मुम्बई र बैंग्लोर सातामा तीन उडान गर्दै आएको थियो । ‘अहिले पनि दिल्ली उडान खुलेमा दैनिक दुई उडान गर्न सकिन्छ भन्ने छ,’ पौडेलले भने । दिल्ली सेक्टर निगमका लागि सबैभन्दा बढी आम्दानी हुने गन्तव्यमा पर्छ ।

करिब १ घन्टाको उडान हुने दिल्लीमा नेपाली र भारतीय यात्रुकै चाप हुने गर्छ । खासगरी नेपालबाट शिक्षा, स्वास्थ्यलगायत व्यापारिक उद्देश्यले जाने–आउने यात्रु बढी हुने भएकाले पनि निगमको दिल्ली उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको छ । यता भाडाको हिसाबले पनि नाफा आर्जन हुने गन्तव्यमा रहेको छ । निगमको अहिलेको उडानले खर्च पनि धान्न नसक्ने अवस्था रहेकाले दिल्ली उडान गर्न सकेमा धेरै हदसम्म सहज हुने अनुमान निगमको छ ।

दुई महिनाअघि भारतले नेपाल उडानका लागि एयर बबल एग्रिमेन्टमार्फत प्रस्ताव पठाए पनि हालसम्म नेपालले स्वीकार गरेको छैन । भारतीय नागरिकको उद्धारलगायतका प्रक्रिया थाल्न एयर बबल एग्रिमेन्ट गरेर उडान गर्ने तयारी भारतको छ । गत ७ भदौमा नेपाली दूतावासमार्फत यस्तो प्रस्ताव आएको थियो । सिसिएमसीमा डेढ महिनाअगाडि नै प्रस्ताव पेस गरेको भए पनि अहिलेसम्म स्वीकृत भएको छैन । भारतले हाल २१ देशसँग एयर ट्राभल बबलअन्तर्गत उडान खुलाएको छ । 

 नक्कली पिसिआर रिपोर्ट भन्दै हङकङले लगायो तेस्रोपटक प्रतिबन्ध
कोरोना परीक्षणमा निजी ल्याबहरूको लापरबाहीका कारण नेपाल वायुसेवा निगमलाई तेस्रोपटक हङकङले उडानमा प्रतिबन्ध लगाएको छ । निगमको वाइडबडी जहाजमार्फत बुधबार हङकङ पुगेका १४ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि पुनः प्रतिबन्ध लागेको हो । निगमलाई दुबई र नारिता विमानस्थलले समेत प्रतिबन्ध लगाउने चेतावनी पत्र पठाइसकेको छ । निगमले पर्यटन मन्त्रालयलाई पत्र लेख्दै समस्या समाधान गरिदिन आग्रहसमेत गरिसकेको छ ।

हङकङले निगमलाई १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म प्रतिबन्ध लगाएको हो । ‘हङकङले पाँचजनासम्मको पोजेटिभलाई मान्यता दिए पनि बुधबार १४ जनामा देखिएपछि पुनः बन्द गरिदिएको छ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । १ सय ७९ यात्रु लिएर बुधबार जहाज हङकङ उडेको थियो । निगमलाई यसअघि हङकङले अक्टोबर ४ देखि १७ सम्म पहिलो र अक्टोबर २० देखि नोभेम्बर २० सम्म दोस्रो प्रतिबन्ध लगाएको थियो । निगमले दुई प्रतिबन्धमा १० करोडभन्दा बढी आम्दानी गुमाएको थियो ।