१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०५:३३:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

छलकारी परीक्षार्थीले दिएको सन्देश

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २७ बिहीबार ०५:३३:००

कति विषय सामान्यजस्ता देखिए पनि वास्तवमा ती त्यति सामान्य अर्थका हुँदैनन् । त्रिविले उपप्राध्यापक पदका लागि लिएको लिखित परीक्षामा सामेल हुने दुई सयभन्दा बढी विद्यार्थीले आफ्नो उत्तरपुस्तिकामा फोन नम्बर लेखी पठाएछन् । सोझो आँकलन के हो भने यसरी फोन नम्बर लेखेर पठाएपछि परीक्षकले सम्पर्क राख्लान् र पैसा तिरेर पास होउँला भन्ने तिनले सोचेका थिए । त्रिविले तिनको परीक्षा रद्द गरिदिएको छ । अब तिनले पास हुन अपनाएको बाटो थुनियो । तर, यसले नेपालमा पढेलेखेका भनिने स्नातकोत्तर, एमफिल वा पिएचडी गरेकाहरूले हाम्रो समाज र संस्थालाई कसरी बुझ्छन् भन्नेबारे एउटा महत्वपूर्ण सोचतर्फ सबैको ध्यान केन्द्रित गरिदियो । उपप्राध्यापकमा परीक्षा दिनेहरू खुलातर्फ भर्खर योग्यता पुगेका पनि हुन सक्छन् वा केही वर्ष कलेज पढाएका र आफ्नो योग्यताअनुसारको कुनै सरकारी, निजी क्षेत्रको सेवामा काम गरेका हुन सक्छन् । 

तिनले जे उपाय सोचेर उत्तरपुस्तिकामा आफ्नो फोन नम्बर सामेल गरे, त्यसले उनीहरू भ्रष्ट र निकम्मा भएको तथा विश्वविद्यालय मात्र होइन, कुनै पनि शिक्षा पेसामा सामेल हुन योग्य नरहेको देखाउँछ

यिनले अवश्य पनि नेपालकै विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका या केहीले विदेशबाट अध्ययन गरेर आएका पनि हुन सक्छन् । परीक्षामा सामेल हुन भनेर तोकेको न्यूनतम योग्यता पुगेकै हुनाले उनीहरू परीक्षामा सामेल हुन पाएको भन्ने बुझिन्छ । तिनले जे उपाय सोचेर उत्तरपुस्तिकामा आफ्नो फोन नम्बर सामेल गरे, त्यसले उनीहरू भ्रष्ट र निकम्मा भएको तथा विश्वविद्यालय मात्र होइन, कुनै पनि शिक्षा पेसामा सामेल हुन योग्य नरहेको देखाउँछ । सबैभन्दा गम्भीर प्रश्न के हो भने हाम्रो उच्च शिक्षामा सामेल विद्यार्थीले समाजलाई कसरी बुझिरहेका छन्, उनीहरूलाई के–कस्तो नैतिक शिक्षा दिइएको छ र हामी कस्तो जनशक्ति उत्पादन गरिरहेका छौँ भन्ने हो । सबैलाई थाहा छ, हाम्रो समाज लामो समयदेखि भ्रष्ट शासकबाट सञ्चालित छ । यस्तो भ्रष्टाचार मूलतः राजनीतिक रूपमा देशको नेतृत्व गर्ने, प्रशासनको उच्च तहदेखि तल्लो तहमा रहेर काम गर्नेले गर्ने गरेका छन् । 

भ्रष्टाचार नीतिगत पनि हुन्छन् र निर्णयगत पनि । आफ्नो काम पट्याउन तिनलाई घुस दिएर साहु–महाजन, कमिसन एजेन्ट, व्यापारी, उद्योगपति, साधारण मानिससमेत यसमा सामेल भएका छन् । लामै समयदेखि केही भ्रष्टचारीमाथि कार्बाही पनि हुने एउटा सिलसिला जारी छ । तर, भ्रष्टाचार गरेर धन कमाउनेहरू कारबाहीमा नपरुन्जेलट समाजले उसको धन, पद र प्रतिष्ठामाथि प्रश्न उठाउँदैन । यसमा पनि धेरैजसो कार्बाहीमै पर्दैैनन् । राजनीतिक नेताले जे–जस्तो झुट र दुष्कर्मको सहारामा सत्ता हत्याए पनि उसले सत्ता पाउन अपनाएका अनैतिक कार्यका कारण ऊ बदनाम हुने गरेको छैन । कसैले कुरा काटिहाले पनि उसको हैसियत र शक्तिमा फरक परेको छैन । 

उच्च नैतिकता र कर्मनिष्ठता तथा योग्यताका आधारमा नेतृत्वमा पुग्नुपर्ने विश्वविद्यालयदेखि प्रज्ञा प्रतिष्ठानसम्म हुने नियुक्ति योग्यताले होइन, दल या सत्ताधारीसँगको व्यक्तिगत सम्बन्धका कारणमा हुने गरेको छ । यसरी नियुक्त भएकाको प्रशंसा नै हुने गरेको छ, अपवाद र राजनीतिक कारणले बाहेक । यस्तो अवस्थामा समाजमा फैलिने सन्देश भनेको परिश्रम, योग्यता र क्षमताका आधारमा कुनै पदमा अरूसँग प्रतिस्पर्धामा जितेर पुग्ने र निष्ठापूर्वक काम गरेर वृत्ति–विकास गर्दै जाने सुल्टो बाटोभन्दा चोरबाटो खोज्ने मनोविज्ञानको विकास हुन्छ । यी परीक्षार्थीहरू यही मनोवृत्तिको सिकार भएका हुन सक्छन् । हामीले सार्वजनिक रूपमा नेतृत्वमा पुगेका व्यक्ति, राजनीतिक दल, सरकारमा रहेकाको जे–जति आलोचना गरे पनि समाज आफैँमा यो भ्रष्टाचारको सहयोगी भएको छ र त्यसले प्रत्येक अंगलाई सडाउँदै लगेको छ भन्ने सन्देश पनि यसमा निहित छ । हाम्रा लागि यो निकै निराशालाग्दो भविष्यको सूचक हो ।