Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक २६ बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दैलेखमा नेपाल टेलिकमको फाइबर अप्टिक सेवा सुरु

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २६ बुधबार ०६:०८:००

नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । पुरानो नेटवर्कलाई सम्पूर्ण रूपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका हो ।  

टेलिकमले स्तरोन्नति भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टू द होम (एफटिटिएच) मार्फत सञ्चालन गरेको जनाएको छ । हाल नारायण नगरपालिकामा १ हजार २४ लाइन एफटिटिएच नेटवर्क क्षमता रहेको जनाइएको छ । पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित करिब ४ सय १५ लाइन एफटिटिएचमा रूपान्तरण गरिएका र नयाँ १ सय ६ लाइनसमेत वितरण गरिएको टेलिकमले जनाएको छ । नगरपालिकामा एफटिटिएच लाइन प्रयोगकर्ताको संख्या ५ सय २१ पुगेको छ । यसले नारायण नगरपालिकाअन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको जनाइएको छ । 

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटिटिएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । टेलिकमले देशका सहरी र घना बसोवास भएका क्षेत्रमा एफटिटिएच सेवाको बृहत् विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको दाबी गरेको छ । एफटिटिएच सेवाका माध्यमबाट इन्टरनेट सेवा तथा आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवासमेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी, केही समयमा यसबाटै आइपी टिभी (टेलिभिजन सेवा) समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।