१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रा. चिरञ्जीवी खनाल
२०७७ कार्तिक २६ बुधबार ०८:४९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ह्वाइट हाउसमा बाइडेनको इन्ट्री

Read Time : > 4 मिनेट
प्रा. चिरञ्जीवी खनाल
२०७७ कार्तिक २६ बुधबार ०८:४९:००

नेपालले अमेरिकासँगको सम्बन्धलाई व्यवस्थित गर्न सक्यो भने आर्थिक र भौतिक पूर्वाधार विकासमा पर्याप्त लाभ लिन सक्छ

विश्वकै सर्वाधिक शक्तिशाली देश अमेरिकामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे यतिवेला सर्वत्र चर्चा–परिचर्चा भइरहेको छ । रिपब्लिकन पार्टीका तर्फबाट उमेदवार रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीका प्रत्यासी जो बाइडेनले कडा प्रतिस्पर्धाबीच पराजित गरेका कारण मात्र नभई आगामी दिनका लागि अमेरिकी नीति कस्तो बन्छ भन्ने सवालले बढ्ता जिज्ञासा उत्पन्न गराएको छ । हुन त स्वतन्त्रता, प्रजातन्त्र र मानवाधिकारको क्षेत्रमा लामो अभ्यास गर्दै आएको अमेरिकामा इतर पार्टीको राष्ट्रपति निर्वाचित हुँदैमा खासै ठूलो नीतिगत भिन्नता आउँदैन । तथापि, घरेलु मुद्दामा बढ्ता केन्द्रित रही कट्टरपन्थी शैलीमा शासन सञ्चालन गरेका राष्ट्रपति ट्रम्पको आप्रवासन, जातिगत, लैंगिक, जलवायु परिवर्तन, स्वास्थ्य, व्यापार र विदेश नीतिका कतिपय सवालमा भने उल्लेखनीय परिवर्तन आउने अनुमान गरिएको छ ।

ट्रम्पको बिदाइ : राष्ट्रपति डोनाल्ड ट्रम्प श्वेत अमेरिकीमाझ कट्टर राष्ट्रवादीका रूपमा प्रस्तुत व्यक्तित्व थिए । उनी खास अमेरिकी हुनुको अभिमान पनि राख्थे । र, ‘अमेरिका फस्ट एप्रोच’मा अडिग रहिराखे । उनको चारवर्षे शासन खासगरी अश्वेत र आप्रवासी नागरिकका लागि नरम रहन सकेन भन्ने आरोप लागिरह्यो । यसैगरी कतिपय सवाल र परिस्थितिमा महिलाप्रति पनि उनले सम्मानको दृष्टिकोण बनाउन नसकेको आरोप पनि लगाइएका छन् । राष्ट्रिय उत्पादनको संवद्र्धन र प्रवद्र्धन तथा अर्थतन्त्रको समृद्धिका लागि भने उनले आफ्नो प्रयास निरन्तर जारी राखेका थिए । तथापि विगत केही समययता कोरोना भाइरसको संक्रमणले गर्दा अमेरिकाको अर्थतन्त्रमा पनि भारी गिरावट आएको छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा राहतको शीर्षकमा विनियोजन गरिएको छ । फेरि, पनि ट्रम्प प्रशासनले कोराना भाइरसभन्दा अर्थतन्त्र नै महत्वपूर्ण हो भनेर त्यसअनुरूप बजार सञ्चालन गर्दै आएको छ ।

नरम नीतिका साथ बाइडेनको इन्ट्री : कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खास चासो नदिएको, जातिगत र आप्रवासीहरूको सवालमा नरम हुन नसकेका कारण अमेरिकी समाजमा एक प्रकारको मनोवैज्ञानिक त्रास र विभाजनको कुण्ठा थियो । यस्तो अवस्थामा राजनीतिक–कूटनीतिक रूपमा अनुभवी शालीन व्यक्तिका रूपमा परिचय बनाएका डेमोक्रेटिक पार्टीका जो बाइडेनको ह्वाइट हाउसमा इन्ट्री भएको छ । सन् १९७२, सन् १९७८, सन् १९८४, सन् १९९०, सन् १९९६ र २००२ मा सिनेटमा निर्वाचित भई अनुभव सँगालेका नवनिर्वाचित राष्ट्रपति बाइडेनले राष्ट्रपति बाराक ओबामाको शासनकालमा उपराष्ट्रपति बन्ने अवसर पनि पाएका थिए । नवनिर्वाचित राष्ट्रपति बाइडेन अमेरिकी राजनीतिक इतिहासमा निकै अनुभवी, परिपक्व र शालीन व्यक्तित्वको रूपमा परिचित छन् । साथै बाइडेन अमेरिकाको आन्तरिक राजनीतिमा मात्र नभएर विश्व राजनीतिमा पनि ‘ग्लोबल भिजन र चेत’ भएका अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्व हुन् ।

चीन र भारत सिमानामा रहनु र ती देशमा फरक–फरक दर्शनको राजनीतिक प्रणाली रहनुले नेपालको भूराजनीतिक अवस्था विशिष्ट प्रकृतिको हुन पुगेको छ । यस मानेमा नेपालप्रति अमेरिकाको चासो रहनु स्वाभाविक देखिन्छ । राजनीतिक, रणनीतिक र सामरिक अर्थमा नेपालजस्ता मुलुकले अन्तर्राष्ट्रिय जगत्मा प्राथमिकता प्राप्त गर्छन् ।
 

अहिले बाइडेनको ह्वाइट हाउस इन्ट्रीसँगै केही अमेरिकी नागरिकका लागि आशाको सञ्चार भएको छ भने केहीका मनमा आशंकाको भावना पनि छ । यस्तो अवस्थामा विभाजनको दरारलाई एकताबद्ध स्वरूपमा ल्याउनु बाइडेनका लागि खास चुनौतीको विषय भएको छ । तथापि नवनिर्वाचित राष्ट्रपति बाइडेनले अमेरिकी जनताबीच एकीकरण गराउने कार्य आफ्नो प्राथमिक दायित्व हुने अठोट गरिसकेका छन् । जहाँसम्म जातिगत सवाल र आप्रवासीको मुद्दा हो– डेमोक्रेटिक भएका कारण र विगतमा गरेका कामको नजिरले गर्दा पनि यस विषयमा नरम नीति आउने अपेक्षा गरिएको छ ।

निर्वाचनका विषयमा उठेका प्रश्न : यसपटकको अमेरिकी राष्ट्रपति निर्वाचनले इतिहासमै पहिलोपटक अश्वेत जातिका त्यसमा पनि महिला व्यक्तित्व– कमला ह्यारिसलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । जसले गर्दा अमेरिकाको राजनीति र समाजमा एउटा नयाँ इतिहास स्थापना भएको छ । साथै यसले एकप्रकारले मनोवैज्ञानिक रूपमा विभाजित जातिगत भावनालाई एकीकृत गर्ने अपेक्षा बढाएको छ । अमेरिका भनेको प्रजातन्त्र र स्वतन्त्रताका लागि अगाडि रहेको मुलुक हो । तथापि, हालै सम्पन्न निर्वाचन प्रक्रियामा भएका प्रयोगबारे भने केही प्रश्न उठेका छन् । निर्वाचनमा अपनाइनुपर्ने निष्पक्षता, पारदर्शिता र भयरहित वातावरणको सुनिश्चितता नहुँदा निर्वाचनमा भ्रष्टाचार भएका दाबी विपक्षीले लगाउँदै आएका छन् । निर्वाचनमा मतगणनाको विषयमा असहमति जनाउँदै विभिन्न स्थानमा प्रदर्शन पनि भए ।

बाइडेनको आगमनमा नेपालको सन्दर्भ : बाइडेनको ह्वाइट हाउस प्रवेशपछि बन्ने अमेरिकी नीतिको असर देशभित्र मात्र होइन, संसारभरि नै पर्ने अवस्था सिर्जना हुन्छ । अमेरिका आफैँमा एउटा महाशक्ति राष्ट्र हो । पछिल्लो समयमा अर्को महाशक्ति राष्ट्र चीनले अमेरिकालाई टक्कर दिँदै आएको छ । यस अर्थमा अमेरिकी नीतिका कारण कतिपय देश प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् भने कतिपय देशलाई परोक्ष रूपमा असर पर्छ । नेपाल पनि अमेरिकी नीतिको प्रभाव र असरबाट तटस्थ रहन सक्दैन । विशाल क्षेत्रफल भएका छिमेकी देशहरू क्रमशः चीन र भारत सिमानामा रहनु र ती देशमा फरक–फरक दर्शनको राजनीतिक प्रणाली रहनुले नेपालको भूराजनीतिक अवस्था विशिष्ट प्रकृतिको हुन पुगेको छ । यस मानेमा नेपालप्रति अमेरिकाको चासो रहनु स्वाभाविक देखिन्छ । राजनीतिक, रणनीतिक र सामरिक अर्थमा नेपालजस्ता भूराजनीतिक अवस्था भएका मुलुकले अन्तर्राष्ट्रिय जगत्मा प्राथमिकता प्राप्त गर्छन् । यस कारण पनि अमेरिकाका लागि नेपाल निःसन्देह सरोकारमा पर्छ नै । तथापि यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने कुरा नेपालले निर्धारण गर्ने हो । 

अमेरिकी चासो : निश्चित रूपमा अमेरिका नेपालसँगको सम्बन्ध निकट राख्न चाहन्छ । इन्डो–प्यासेफिक रणनीतिको एउटा बलियो साझेदार देश भारत भएको सन्दर्भमा अमेरिकाले साँधमै जोडिएका देशको सम्बन्ध पनि बलियो होस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तथापि परराष्ट्र–कूटनीतिक सम्बन्धका मामिलामा नेपालको पनि आफ्नै दर्शन, सिद्धान्त र नियम रहेको छ । त्यत्तिकै चुनौती, कठिनाइ र सीमितता पनि रहेका छन् । नेपालले उल्लिखित पक्षमा सन्तुलन मिलाएर अमेरिकासँगको सम्बन्धलाई व्यस्थित गर्न सक्यो भने आर्थिक, भौतिक, पूर्वाधार, विकास तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा पर्याप्त लाभ लिन सक्छ । 

नेपालका लागि अवसर : नेपालमा अमेरिकासँग अहिले पनि धेरै विश्वव्यापी परियोजना सञ्चालनमा छन् । राष्ट्रपतिमा बाइडेनको आगमनसँगै थप परियोजनाको घोषणा हुने सम्भावना छ । इन्डो–प्यासेफिक रणनीति, मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) जस्ता दीर्घकालीन महत्वका रणनीतिक परियोजना हुन् । अब छिट्टै नै पेरिस जलवायु सम्झौता, ट्रान्स–प्यासेफिक पार्टनरसिप (टिपिपी), कोभिड–१९ सँग जुध्न सहकार्यको रणनीतिलगायत दर्जनाैँ परियोजना पनि सम्भावनाभित्र रहेका छन् । यसैगरी डब्लुटिओ, डब्लुएचओ जस्ता राष्ट्रसंघीय एजेन्सीका विभिन्न परियोजना आउने अवस्थामा छन् । यस्ता परियोजनामा नेपालले आफ्नो हित र सार्वभौमिकताको पक्षलाई केन्द्रबिन्दुमा राखेर सहकार्य गर्न सक्ने अवसर छ । ह्वाइट हाउसमा बाइडेनको प्रवेशले यस्ता परियोजनासँगको पँहुचलाई थप सजिलो बनाउने परिस्थिति निर्माण गरिदिएको छ । 

वास्तवमा अमेरिकासँग नेपालको दौत्य सम्बन्ध निकै पुरानो हो । अमेरिकाले नेपालको स्थिरता, प्रजातन्त्र र विधिको शासनप्रति निकै नै सम्मान गर्दै आएको छ । नेपालको आर्थिक विकासका लागि पूर्वाधारको निर्माण, लगानी व्यवस्था, विकास, प्रविधि, सीप तथा सामाजिक–सांस्कृतिक क्षेत्रको समुन्नतिमा पनि उत्तिकै सहयोग गर्दै आएको छ । पछिल्लो समयमा कतिपय सन्दर्भका आधारमा नेपाललाई हेर्ने अमेरिकाको दृष्टिकोणमा भिन्नता आएको छ भन्ने पनि छन् । अर्थात्, नेपाललाई दक्षिणी दृष्टिकोणबाट हेरिन्छ भनिएको छ । यद्यपि यी तर्क आफैँमा पूर्ण भने होइनन् । सुरक्षा रणनीतिको सवालमा एक प्रकारको नीति बन्नु एउटा पक्ष होला, तर आर्थिक विकास र सामाजिक–सांस्कृतिक सवालमा अमेरिकाले नेपाललाई सीधै सम्पर्क गर्दै आएको अयथार्य होइन । मूल कुरा भनेको नेपालले कसरी अमेरिकासँगको सम्बन्धलाई बलियो बनाउने भन्ने नै हो ।

कूटनीतिक सन्तुलनको अपेक्षा : हुन त नेपालको सम्बन्ध अरू देशसँग पनि उत्तिकै सुमधुर अवस्थामा छ । चीन र भारतसँग छिमेकी भएका नाताले पनि नेपालको सम्बन्ध सुमधुर हुनु अपरिहार्य छ । त्यसैगरी अमेरिका भनेको नेपालले सबैभन्दा पहिले दौत्य सम्बन्ध स्थापना गरेको देश हो । यो पक्ष विस्मृत हुन सक्दैन । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाईका साथ स्वागत गर्ने अवसर प्राप्त भएको वर्तमान क्षणमा आगामी दिनमा नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धको आधार थप बलियो र लाभप्रद बन्न सक्ने नै छ । यसका लागि नेपाल सरकारले स्पष्ट नीतिका साथ काम गर्ने सोचले अगाडि बढ्नु जरुरी छ ।