मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ कार्तिक २५ मंगलबार १५:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली बुधबार संखुवासभा आउने, किमाथांका नाका र अरुण तेस्रोको अनुगमन गर्ने

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ कार्तिक २५ मंगलबार १५:१२:००

प्रधानमन्त्री केपी ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको जिल्ला संखुवासभा आउने भएका छन्  ।

प्रधानमन्त्री ओली संखुवासभा आउने भएपछि जिल्लामा तयारी तीव्र पारिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । 

उनका अनुसार प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकाेप्टरमार्फत चीनसँग सिमाना जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम तय भएको छ । 

संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका– १ मा पर्ने किमाथांका नाकाको अवलोकन, करिब एक वर्षअगाडि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बिओपी)को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बरगाहलगायतको बारेमा अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यको भनाइ छ । 

त्यसपछि त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोसी राजमार्गको अनुगमन गर्ने, भोटखोला–च्याम्ताङ राजमार्ग किमाथांका छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्पलगायतको अनुगमन गर्ने कार्यक्रम छ । 

त्यसपछि प्रधानमन्त्री ओली बहुचर्चित नाै सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्न मकालु गाउँपालिका– ५ स्थित फ्याक्सिन्दा ड्यामसाइटमा पुग्ने प्रजिअ आचार्यले बताए । 

बुधबार (भोलि) बिहान साढे ८ बजेदेखि साढे ३ बजेसम्म करिब ७ घन्टा संखुवासभाको तीन ठाउँमा बसेर अनुगमन गर्ने कार्यतालिका आएको प्रजिअ आचार्यको भनाइ छ । 

प्रधानमन्त्री ओलीसँगै हेलिकाेप्टरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम आउने जनाइएको छ । 

०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए । उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले अरुण तेस्रो आफ्नै कार्यकालमा उद्घाटन गर्ने मनसायसमेत व्यक्त गरेका थिए ।