मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रास/एएनआई
२०७७ कार्तिक २५ मंगलबार १४:४३:००
Read Time : < 1 मिनेट
विश्व

म्यान्मारमा आङ साङ सुचीको पार्टीलाई बहुमत 

Read Time : < 1 मिनेट
रास/एएनआई
२०७७ कार्तिक २५ मंगलबार १४:४३:००

आइतबार भएको निर्वाचनमा म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमेक्रेसी (एनएलडी)ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुची नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ । 

निर्वाचनमा कुल पाँच हजार ६ सय ३९ जना उम्मेदबारमध्ये सूचीको दलबाट एक हजार एक सय ६ जना उम्मेदवार रहेका थिए। म्यानमारका एक हजार एक सय १७ संसद सदस्यका लागि निर्वाचन भएको हो ।

मंगलबार बिहानसम्ममा कुल ४७ जना निर्वाचित भएकोमा सूचीको पार्टीले मात्रै ४४ सिटमा जित हासिल गरेको छ । विपक्षी युएसडिपी तीन सिटमा मात्रै विजयी भएको थियो । म्यान्मारमा सन् २०१२ मा उपनिर्वाचन भएको थियो भने सन् २०१५ मा आमनिर्वाचन भएको थियो । त्यो कार्यकाल सकिएपछि अहिले फेरि निर्धारित समयमै निर्वाचन भएको हो । सन् २०१५ मा भएको निर्वाचनमा पनि सुचीको पार्टीले पूर्ण बहुमत प्राप्त गरी सन् २०१६ देखि सरकार सञ्चालन गर्दै आएको थियो ।  

अहिलेको निर्वाचनमा विपक्षीहरूको कमजोर उपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता सुचीकै पार्टीले जित्ने पूर्वानुमान गरिएको थियो । सुचीले म्यान्मारको शक्तिशाली सैनिकहरूको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकाले उनी म्यान्मारमा लोकप्रिय छिन् । उनले स्टेट काउन्सिलरका रूपमा सरकार सञ्चालन गरिरहेकी छिन् ।

उनको सरकारले पनि जनअपेक्षाअनुरूप काम गर्न नसकेको, म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न नसकेको आरोप भने लाग्दै आएको छ ।