गणेशमान सिंहको सिंहजस्तो गर्जन सुनिन्थ्यो, कुनै वेलाको नेपाली राजनीतिमा । धेरै पहिलेको कुरा पनि होइन यो । जम्मा ३० वर्षपहिले राजाको सक्रिय नेतृत्व रहेको निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्रको स्थापनाका लागि भएको संयुक्त जनआन्दोलनको अगुवाइ उनै गणेशमान सिंहले गरेका थिए । काठमाडौंको मध्यसहरमा कुलीन नेवार परिवारमा जन्मे–हुर्केका गणेशमान सिंह नेपालमा उदारवादी राजनीतिक व्यवस्था स्थापनाका लागि भएका संघर्षका पहिलो छिमलका नेता थिए । संघर्षमा सामेल भएपछि राजनीतिक शक्ति संगठित गर्ने क्रममै उनी बिपी कोइरालाको नजिक पुगेका थिए र ००७ सालको क्रान्ति हुँदै ०४६ को आन्दोलनको अगुवाइ गर्न आइपुगेका थिए । पञ्चायतको स्थापनापछि राजनीतिक सत्ताबाट बलात् हटाइएको नेपाली कांग्रेसले लामो समय कम्युनिस्टसँग छोइछिटोको व्यवहार गर्यो । बिपीको मृत्युपर्यन्त नेपालमा कांग्रेस र कम्युनिस्टबीच सहकार्यका सम्भावना रोकिइरहे ।
केही वर्षपहिलेसम्म देशका शीर्ष र साझा नेता मानिएका गणेशमान छिटै धेरैको स्मृतिबाट बाहिरन पुगेका छन्, मानौँ उनी अचानक परिवार र उनका नाममा खुलेका फाउन्डेसनको मात्र चासोका विषय हुन्
अर्कोतिर कम्युनिस्ट पार्टीमा पनि कांग्रेसलाई बुर्जुवा सुधारवादीको पार्टीका रूपमा लिने र ऊसँगको सहकार्यमा आन्दोलनमा जाँदा पुँजीपति वर्गले फाइदा लिन्छ भन्ने मान्यताले पकड जमाएको थियो । ०४६ सालमा एउटा मोड आयो । नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट समूह नेकपा (माले)ले कांग्रेससँग सहकार्य गरेर पञ्चायतविरुद्ध जाने निर्णय त्यही समयमा ग¥यो । बिपीको निधनपछि कांग्रेसका नेतात्रयमध्ये शीर्ष नेता रहेका गणेशमानमा बिस्तारै कम्युनिस्टसँग मिलेर भए पनि राजासँग संघर्ष गर्नु आवश्यक छ भन्ने विचार बढ्दै गयो । आखिर उनैको नेतृत्वमा ०४६ को जनआन्दोलन सफल भयो । आन्दोलनपछि दुइटा सन्दर्भ उनको र नेपाली राजनीतिको जीवनमा महत्वपूर्ण रहे । पहिलो, उनले जनआन्दोलनपछिको अन्तरिम सरकारको नेतृत्व गरेर प्रधानमन्त्री हुन अस्वीकार गरे र आफ्ना सहयोगी अर्का नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरे ।
यो नेपाली राजनीतिमा अवसरको खोजीमा सबै मूल्य विसर्जन गर्न तयार अहिलेको नेतृत्व हेरेकाका लागि नपत्याउने विषय लाग्न सक्छ । दोस्रो, उनले आफ्नो जीवनको आखिरी वर्षमा पुगेर नेपाली कांग्रेससँगको सम्बन्ध विच्छेद गरे । अर्थात् आफैँले स्थापना र विकास गरेको दलको नेतृत्वमा आएको समूहका क्रियाकलापले कांग्रेसका आदर्शको प्रतिनिधित्व गर्न सक्दैन भन्ने लागेपछि उनले दल त्याग गरे । कम्युनिस्ट पार्टीसँगको सहकार्य, प्रधानमन्त्रीको पदत्याग र पार्टीत्यागका सबै सन्दर्भमा उनले आफ्ना व्यक्तिगत हितभन्दा देश र प्रजातन्त्रको हितको प्रतिनिधित्व गरेका थिए भन्ने कुरा इतिहासमा अभिलिखित सत्य हो । हिजो गणेशमानको १०६औँ जन्मजयन्ती मनाइयो । केही वर्षपहिलेसम्म देशका शीर्ष र साझा नेता मानिएका गणेशमान छिटै धेरैको स्मृतिबाट बाहिरन पुगेका छन् । मानौँ, उनी अचानक परिवार र उनका नाममा खुलेका फाउन्डेसनको मात्र चासोको विषय हुन् ।
यो औपचारिक सम्झना र यो विस्मृतिको अहिलेको नेपाली राजनीतिमा निकै अर्थ छ । देश सत्ताका लागि मरिमेट्ने र आम सार्वजनिक हितबाट मुख बटारेका नेताको हातमा छ । सरकारका मुखियाले लोकतन्त्रका आधारभूत मूल्यलाई कुल्चेर सत्ता चलाउन जोरजुलुम गरिरहेका छन् । पहिलो श्रेणीमा रहेका सबैजसो नेतृत्वमा सत्ताको घोर लालसा मात्र छैन, देशलाई अग्रगतितिर लाने आदर्शबाट च्युत पनि भइसकेका व्यक्ति छन् । गणेशमानलाई सम्झना गर्दा उनी र वर्तमान नेतृत्वका गुणमा रहेका भिन्नताको तुलना गर्नु र आदर्शच्युत नेताप्रति खबरदारी गर्नु आवश्यक छ । यस्तो खबरदारीले वर्तमान नेतृत्वलाई कर्तव्यच्युत हुनबाट जोगाउन नसके पनि भावी पुस्ताको नेतृत्वलाई शिक्षित गर्न सम्भव हुनेछ ।