मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २४ सोमबार १४:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खुले डोल्पाका विद्यालय, बन्द गर्न प्रशासनको ताकेता  

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २४ सोमबार १४:४६:००

गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्ना क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले १२ कात्तिकदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो ।

लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं. १ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ ।

अर्को ठुलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन । प्रशासनले खुलेका विद्यालयलाई बन्द गर्न ताकेता गर्न थालेपछि ठुलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । 

तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् । दुवै स्थानीय तहले दसैँ बिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रूपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन् ।

उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ ।

यस्तै उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुन्डाे र छार्काताङ्सोङ गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन् ।

अहिले पनि ती वटै स्थानीय तहले पठनपाठन सञ्चालन सूचारु गरेर वार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ ।

उपल्लो डोल्पामा ६ महिनामात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय कात्तिक अन्तिम साताबाट बन्द हुनेछन् ।

काइके गाउँपालिकाले लकडाउनबीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।

प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन

डोल्पाका स्थानीय तहले सरकारको निर्देशनविपरीत विद्यालय खुलाएका छन् ।

कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफूखुसी विद्यालय खोलेको प्रशासनले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ ।

निर्देशनलाई बेवास्ता गर्दै त्रिपुरासुन्दरी, ठुलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन, स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ सुरेश सुनारले बताए ।

‘विद्यालय खोल्न संघीय सरकारको निर्देशन छैन, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे । अब लिखित निर्देशननै दिन्छौँ, अटेर गरे कारबाही हुन्छ,’ प्रजिअ सुनारले भने, ‘जिल्लामा उपलब्ध रेडियो, इन्टरनेट, टोलटोलमा शिक्षक परिचालन गरेर शिक्षा प्रदान गर्न सकिन्छ, विद्यालय खोलेर मात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ।’ 

आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले खुलेका विद्यालय तत्काल बन्द गर्न स्थानीय तहलाई लिखित निर्देशन दिने  निर्णय भएको सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले जानकारी दिइन् । 

शर्माका अनुसार समितिको बैठकले जिल्ला अस्पतालमा रुघाखोकीका बिरामीको संख्या बढ्दै गएकोले स्वाब संकलनलाई प्रभावकारी बनाउने, तिहारमा देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।