बाइडेनलाई बधाई दिँदै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसद्वारा अमेरिकालाई संगठनमा फर्किन आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लल्युएचओ)का महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्विट गरेर उनीहरूलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साथै उनले उनीहरूसँग काम गर्न इच्छुक रहेको पनि बताइका छन्। उनले ट्विटमा भनेका छ, ‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी भएकोमा तपाईंहरूलाई बधाई छ, म पनि यहाँहरू र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।’
यसअघि संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले ट्विटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।
महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति बाइडेनले आफूले राष्ट्रपतिको शपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किनेबारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।