वि.सं. ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमान्डर नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्ती मनाइँदै छ । सोमबार उनको जन्मजयन्तीका अवसरमा देशैभरि विभिन्न कार्यक्रम हुँदै छन् ।नेता सिंहको जन्मजयन्तीको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान, नेपाली कांग्रेस र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
नेता सिंहको जन्मस्थान काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा कोरोनाविरुद्ध सचेतनाका लागि घरदैलो कार्यक्रम हुँदैछ । मास्क, पन्जा, स्यानिटाइजर र संक्रमितहरूका लागि अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक घरदैलो अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिए ।
नेपाली राजनीतिमा नेता सिंहलाई त्यागी र साहसी नेताको उच्च उदाहरणको रूपमा लिने गरिन्छ । वि.सं. ०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।
काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी जेल परे । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । वि.सं. २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताए ।
वि.सं. २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरे । वि.सं. २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहे ।
नेता सिंहलाई वि.सं. २०१७ पुस १ गतेको शाही ‘कू’पछि ०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । वि.सं. ०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेताहरूलाई ०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।
वि.सं. २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो । तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले ०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे ।
वि.सं. १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थिए । काठमाडौंको क्षेत्रपाटीमा वि.सं. १९७२ कात्तिक २४ गते जन्मिएका नेता सिंहको ०५४ साल असोज २ गते निधन भएको थियो ।