Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०८:०१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक पर्यटकले पर्यटन क्षेत्रमा उत्साह काठमाडौंका होटेलमा आइसोलेसन सेवा

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०८:०१:००

करिब ७ महिना कोरोनाका कारण बन्द भएका होटेल तथा रेस्टुरेन्टहरूमा यतिवेला आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । काठमाडौंबाहिर खासगरी चितवन र पोखरासहितका गन्तव्यहरूमा दसैँलगत्तै आन्तरिक पर्यटकले होटेल तथा रेस्टुुरेन्टहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ । एयरलाइन्स कम्पनीहरूले सस्तो दरमा हवाई टिकट उपलब्ध गराएपछि पोखरा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।

ठूला होटेलहरूका लागि भने विदेशी पर्यटक नै चाहिने भएकाले त्यति उत्साहजनक छैन । तर, सन् २०२१ को तयारीमा भने ठूला होटेलहरू लागिसकेका छन् । जसका लागि बुकिङ र जानकारीहरू धेरै आइरहेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । ‘पोखरा र चितवनमा हामीले सोचेभन्दा धेरै आन्तरिक पर्यटकले होटेलहरू भरिभराउ भएका छन्, यो उत्साहजनक हो,’ शाहले भने ।

काठमाडौंमा खासै प्रभाव नपरे पनि पोखरा, चितवन, धुलिखेल, नगरकोटलगायतका क्षेत्रमा राम्रै चहलपहल भइरहेको शाहले जानकारी दिए । देशभर होटेलको सञ्जाल रहेको साना तथा मझौला होटेल व्यवसायी महासंघका अध्यक्ष हीरा शाह पनि पछिल्लो समय व्यवसायमा केही सुधार देखिएको बताउँछन् । ७७ जिल्लामै हुन नसके पनि आन्तरिक पर्यटक पुगेका क्षेत्रमा चहलपहल बढेकाले व्यवसायीहरू खुसी भएको शाहले बताए । 

यता रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले पनि देशैभरिका रेस्टुरेन्टमा चहलपहल बढिरहेको बताए । ‘अहिले धेरै रेस्टुरेन्टहरूले खर्च धानेर भाडा तिर्ने अवस्थामा पुगेका छन्,’ राजभण्डारीले भने । गत ११ चैतदेखि बन्द होटेल क्षेत्र १ असोजबाट खुलाएको थियो । 

 सानादेखि तारे होटेलसम्म आइसोलेसन 
ठूला बैंक तथा वित्तीय क्षेत्र, कर्पोरेट क्षेत्रमा कोरोना संक्रमण फैलिएसँगै साना–ठूला होटेलहरू आइसोलेसनका  लागि प्रयोग हुने क्रम बढ्दै गएको छ । पाँचतारे सोल्टी होटेलले स्टार अस्पतालसँग सहकार्य गरेर आइसोलेसनमा संक्रमितहरू राख्ने गरेको छ । गत महिना काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि सोल्टी होटेलमै आइसोलेसनमा बसेका थिए ।

अहिले बैंकदेखि कर्पोरेट हाउसहरूले मझौला र ठूला होटेलहरूमा संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिरहेका छन् । अहिले केही ठूला र साना होटेलहरूमा यसरी आइसोलेसन बनाउने क्रम बढिरहेको उपाध्यक्ष शाहले बताए । ‘यसमा केही सुरक्षा र आवश्यक पर्दा तुन्रुतै अस्पताल लैजाने व्यवस्था अझै मिलाउन नसकिएकाले सरकारले सहकार्य गर्नुपर्छ,’ उपाध्यक्ष शाहले भने । ठमेल र सुन्धाराका पनि दर्जनौँ होटेलहरूलाई आइसोलेसन बनाइएको छ । 

विमानस्थलमै पिसिआर परीक्षण आवश्यक
विदेशी पर्यटकको हकमा संसारभर यतिवेला विमानस्थलमै पिसिआर परीक्षण भइरहेको छ । हङकङ, दुबई, जापानलगायत देशले विमानस्थलमै पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि नेपाल वायुसेवा निगमलाई चेतावनी पत्र पठाइरहेका छन् । यता हङकङले दुईपटक उडान नै प्रतिबन्ध लगाइदिएको छ । ‘नेपालले पनि विमानस्थलमै चेकजाँच गर्ने व्यवस्था गर्न सकेमा पर्यटकहरू आइसोलेसन तथा अन्य झन्झटबाट मुक्त हुने थिए,’ उपाध्यक्ष शाहले भने ।

१ मंसिरदेखि सरकारले पर्यटनका सबै गतिविधि खुला गर्ने तयारी गरेको छ । सबै गतिविधि खुलाउने हो भने विमानस्थलमा पिसिआर परीक्षण गर्नु अत्यावश्यक रहेको समेत शाह बताउँछन् । विदेशी पर्यटकहरूले नेपाल आउँदा संक्रमण भएपछि उपचारको विषयमा चासो राखेकाले यसमा पनि सरकारले व्यवस्थापनका विषयलाई प्रस्ट पार्न सकेको छैन । यसमा होटेल, अस्पताललगायतसँग सहकार्य आवश्यक रहेको समेत शाहले बताए । 

 युरोप र अमेरिकाका पर्यटक खर्च जोगाउन नेपाल
युरोपसहित अमेरिकामा यतिवेला सरकारले बेरोजगार भत्ता तथा अन्य सुविधाहरू धमाधम दिइरहेका छन् । उता बेरोजगार हुँदा पर्यटकहरू उक्त पैसाले स्वदेशमा खान समस्या हुने, तर नेपाल आउँदा खर्च धान्न सजिलो हुने भएकाले पनि नेपाल आउन धेरैले चासो दिइरहेको व्यवसायीको भनाइ छ । उनीहरूको देशमा १५ दिन खान पुग्ने पैसा नेपालमा आउँदा दुई महिनालाई पुग्न सक्ने भएकाले पनि बुकिङमा चासो राखेको शाहले बताए । अमेरिका, बेलायत र युरोपका अधिकांश देशले कोभिड–१९ मा रोजगारी गुमाएकाहरूलाई मासिक रूपमा हजारौँ डलर उपलब्ध गराइरहेका छन् । 

 उद्धार उडान बन्द गर्न सिफारिस
सिसिएमसीले गत ३२ भदौदेखि जारी उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । आइतबार बसेको बैठकले बाँकी रहेको उद्धार नियमितमार्फत नै गर्ने गरी बन्द गर्न सिफारिस गरेको छ । सिसिएमसीमार्फत भएको उद्धार उडानबाट १ लाख ३६ हजार २ सय १६ नेपाली स्वदेश फर्किएका छन् । सरकारले ११ चैतदेखि गरेको लकडाउनका कारण नेपालीहरू स्वदेश आउन नपाएपछि ३२ जेठदेखि उद्धार उडान सुरु गरिएको थियो । गत १७ भदौदेखि नियमित उडान नै सुरु भइसकेको छ । नियमित उडानमार्फत नै १ लाख ८६ हजार यात्रु नेपाल आइसकेका छन् ।