१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०४:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना संकटमा चोरी–डकैती कम, चेक बाउन्सका घटना बढी

काठमाडौं प्रहरीमा चेक बाउन्सका दैनिक २५ उजुरी, एउटै जाहेरी ६ करोडसम्मको, लकडाउनयता २५२ उजुरी, १८५ मुद्दा दर्ता

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ कार्तिक २४ सोमबार ०४:५३:००

‘लकडाउनपछि सबै ठप्प भयो र अपराध पनि कम भयो । तर, बैंकिङ कसुरको अपराध कम भएन,’ परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘यस अवधिमा दर्ता भएका मुद्दाले यही पुष्टि गर्छन् । लकडाउन अवधिमा पीडित पैदलै पनि प्रहरी कार्यालय आएर जाहेरी दर्ता गरे ।’

प्रहरी भन्छ– लकडाउन अवधिमा काठमाडौंमा कतिपय अपराध शून्यमा झरे । तर, बैंकिङ अपराध, त्यसमा पनि चेक बाउन्सका घटना आधा मात्र कम भएको देखिन्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको तथ्यांक केलाउँदा लकडाउनअघिका सात महिनामा चेक बाउन्सका चार सय ३४ वटा मुद्दा प्रहरीले दर्ता गरेको थियो । लकडाउनयताका सात महिनामा एक सय ८५ वटा मुद्दा दर्ता भएका छन् । लकडाउनअघि र पछिका ७–७ महिनाको तुलना गर्दा चेक बाउन्सका घटना ६५ दशमलव ६६ प्रतिशत मात्र कम भएको देखिन्छ ।

‘लकडाउनपछि सबै ठप्प भयो र अपराध पनि कम भयो । तर, बैंकिङ कसुरको अपराध कम भएन,’ परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘यस अवधिमा दर्ता भएका मुद्दाले यही पुष्टि गर्छन् । लकडाउन अवधिमा पीडित पैदलै पनि प्रहरी कार्यालय आएर जाहेरी दर्ता गरे ।’ प्रहरीका अनुसार देशभर बैंकिङ कसुरका सबैभन्दा बढी उजुरी काठमाडौं परिसरमै आउँछन्, अन्य जिल्लामा नगन्य उजुरी आउँछन् ।

रित्तो खाताको चेक दिँदै ठगी
प्रहरीका अनुसार काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे । तर, केही समयपछि दुईबीच विवाद चल्यो । संयुक्त कारोबार अगाडि बढ्न नसक्ने देखिएपछि दुवैले छुट्टिने निष्कर्ष निकाले । कम्पनीको भागबन्डा भयो, एकजनाको भागमा ६ करोड रुपैयाँ पर्‍यो । उनी चेक साट्न बैंक पुग्दा खाता रित्तो भएको जानकारी पाए । र, बैंकिङ कसुरमा उजुरी लिएर महानगरीय प्रहरी परिसर, काठमाडौं पुगे ।

एक घरजग्गा कारोबारीले काठमाडौं नक्सालका सुजित महर्जन (नाम परिवर्तन)लाई व्यावसायिक साझेदार बनाउने प्रस्ताव राखे । दुईबीच नाफा–घाटाको हिसाब निकै दिन चल्यो । अन्ततः सुजित साझेदार बन्न राजी भए । त्यसका लागि उनले नक्सालको पुख्र्यौली आठ आना जग्गा ती व्यापारीको नाममा दृष्टिबन्धक राखे । तर, साझेदार बनाउने व्यापारीको पूर्ववचन पूरा भएन । निकै दिनको विवादपछि व्यापारीले सुजितको नाममा तीन करोड ५० लाख रुपैयाँको चेक काटे । दंग परेर बैंक पुगेका सुजितको खुसी क्षणभर पनि टिकेन । किनकि, ती व्यापारीको बैंक खाता रित्तो थियो ।

मदिरा उद्योगका दुई स्थापित व्यापारीबीच सेयरको विषयलाई लिएर विवाद सुरु भयो । साझेदारमध्ये एकजनाले झमेलाबाट उम्किन नै उत्तम सम्झे । सेयरबापत केही अचल जेथा लिए । चल सम्पत्तिका रूपमा भने एक करोड ५० लाख रुपैयाँको चेक बुझे । तर, बैंकमा चेक बाउन्स भयो ।

दैनिक २५ सम्म उजुरी
महानगरीय प्रहरी परिसर, काठमाडौंमा लकडाउनयता दर्ता भएका चेक बाउन्सका केही घटना हुन् यी । परिसरका अनुसार बैंकिङ अपराधसम्बन्धी यस्ता उजुरी दैनिक २० देखि २५ का दरले आइरहेका छन् । दर्ता हुने जाहेरीमा रकम सरदर एक करोड रुपैयाँभन्दा बढी हुन्छ । एउटै जाहेरी ६ करोड रुपैयाँसम्मको पनि हुने एसपी राठौर बताउँछन् ।‘चेक बाउन्सका जाहेरी बढेका छन् । कति छलफलपछि मिलेर जान्छन् । नमिल्नेको मुद्दा दर्ता हुन्छ,’ एसपी राठौर भन्छन्, ‘लकडाउनको वेला यस्ता अपराध झनै बढेका छन् । परिसरको ५० प्रतिशत शक्ति यही अपराध अनुसन्धानमा खर्च हुँदै आएको छ ।’

परिसरको तथ्यांकअनुसार लकडाउनयताका ६ महिनामा चेक बाउन्सका मात्रै दुई सय ५२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये एक सय ८५ वटामा मुद्दा दर्ता गरिएको छ । ‘हामीकहाँ दैनिक सरदर २५ वटा जाहेरी आउँछन् । तर, सबैमा मुद्दा दर्ता हुँदैन । यस्ता जाहेरी फौजदारीभन्दा पनि देवानी प्रकृति हुन्छन्, जसको उद्देश्य पीडितले राहत पाउनुसँग जोडिन्छ,’ उनी भन्छन्, ‘प्रहरीको काम पनि त्यही नै हो । त्यसो हुँदा पहिले दुई पक्षलाई छलफल गरेर मिलाउनूस् भन्छौँ । नमिलेको खण्डमा मात्रै मुद्दा चलाउँछौँ । जाहेरीको अनुपातमा मुद्दा दर्ता कम हुनको खास कारण यही हो ।’

० प्रतिशत जाहेरीमामात्र वास्तविक पीडित
चेक बाउन्सलाई कानुनले बैंकिङ कसुरमानेको छ । र, यसमा ठगी मुद्दा आकर्षित हुन्छ । काठमाडौं परिसरमा दर्ता हुने बैंकिङ कसुरका अधिकांश मुद्दा चेक बाउन्ससँगै सम्बन्धित छन् । तर, एसपी राठौरको भनाइमा सबै उजुरीका जाहेरीकर्ता वास्तविक पीडित भने हुँदैनन् ।

आपराधिक समूहले धम्क्याउँदै जबर्जस्ती चेक बनाउन लगाएको र सोही चेक प्रहरीमा दर्ता भएका पनि हुन्छन् । ‘दर्तामध्ये ५० प्रतिशत मुद्दाका पीडित मात्रै वास्तविक हुन्छन्,’ एसपी राठौर भन्छन् ‘यस्ता घटना गहिरिएर हेर्नुपर्छ । कतिले कानुनको दुरुपयोग गरेका हुन्छन् । खासगरी, आपराधिक पृष्ठभूमिका व्यक्तिहरू यसमा संलग्न भएको देखिएको छ,’ एसपी राठौर भन्छन्, ‘उनीहरूले जबर्जस्ती चेक बनाउन लगाउँछन् । अनि त्यही चेक बाउन्स गराउँछन् । र, प्रहरीमा उजुरी गर्छन् । हामीकहाँ परेकामध्ये ५० प्रतिशत जाहेरी यस्ता खालका छन् ।’

आपराधिक समूहको चलखेल हुने भएकाले ठूलो परिणामका चेक बाउन्समा भने प्रहरीले सम्पत्तिको स्रोतसमेत खोज्ने गरेको छ । स्रोत खुल्ने किसिमको उजुरीमा मात्र प्रहरीले मुद्दा दर्ता गर्छ । अन्यथा जाहेरी नै दर्ता हुँदैन ।

 के हो बैंकिङ अपराध ?
बैंकिङ कसुर तथा सजाय ऐन ०७३ को परिच्छेद २ अनुसार अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, अनधिकृत रूपमा खाता खोल्ने, विद्युतीय माध्यम प्रयोग गरी भुक्तानी लिने वा दिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने विषय यस अपराधमा पर्छन् । यस्तै, कर्जा, बैंकिङ स्रोत, साधन र सम्पत्ति दुरुपयोग, कागजात वा बहीखाता सच्याई किर्ते वा जालसाजी, बढी, कम वा गलत मूल्यांकन तथा वित्तीय विवरण तयार गर्ने, अनियमित आर्थिक तथा वित्तीय कारोबार पनि बैंकिङ कसुरअन्तर्गत पर्छन् ।