१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ कार्तिक २३ आइतबार ०७:३३:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नेपालमा आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ कार्तिक २३ आइतबार ०७:३३:००

डा.विशुनदयालप्रसाद पटेल (आयुर्वेद अनुसन्धान विज्ञ,  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्)

सामान्य रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका बिरामीमा क्लिनिकल परीक्षण सुरु गरेका छौँ । बिरामीलाई खाली पेट एस्टीको काँढा (झोल) बनाएर औषधि प्रयोगमा ल्याएका छौँ । परीक्षणमा समावेश हुनेको संख्या बढिरहेको छ, सकेसम्म धेरै संक्रमितलाई सहभागी गराउने कोसिस भइरहेको छ ।

नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको माग बढ्दै गएको छ । कोभिड संक्रमणका लागि रेमडेसिभिरजस्ता औषधि सहज उपलब्ध नहुनु र अन्य विकल्प नहुनुले समेत आयुर्वेदिक औषधिको माग बढेको देखिन्छ ।

हाल आयुर्वेदिक औषधि उत्पादन गरिरहेका अस्पतालहरूमा संक्रमित र सर्वसाधारणको भिड लाग्ने गरेको छ । विश्वभरि औषधि र खोप परीक्षणकै क्रमका रहेका वेला प्रतिरोधी क्षमता बढाउनु कोभिडबाट बच्न एक मात्र उपाय रहेको जनस्वास्थ्य विज्ञहरूले बताउने गरेका छन् । प्रतिरोधी क्षमताका बढाउन परम्परागत जडीबुटीको प्रयोग अत्यधिक रूपमा हुन थालेको छ ।

कोरोना भाइरसविरुद्ध विश्वमा दुई सयभन्दा बढी खोपमाथि परीक्षण भइरहेको समयमा नेपालमा भने आयुर्वेदिक औषधिमा क्लिनिकल परीक्षण भइरहेको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ को वीरगन्ज र लुम्बिनी प्रदेशको भैरहवामा रहेको कोभिड अस्पतालमा परीक्षण गर्ने योजना बनाएको थियो ।

भैरहवाको प्रयोगशालामा कार्यरत चिकित्सकहरूमा कोभिड संक्रमण देखिएपछि क्लिनिकल परीक्षण रोकिएको राष्ट्रिय अनुसन्धान परिषद्का आयुर्वेद अनुसन्धान विज्ञ डा.विशुनदयालप्रसाद पटेल बताउँछन् । उनका अनुसार हाल प्रदेश नम्बर २ को प्रादेशिक अस्पताल जनकपुर र नेसनल मेडिकल कलेजअन्तर्गतको कोभिड अस्पताल वीरगन्जमा आयुर्वेदिक औषधिमा क्लिनिकल परीक्षण भइरहेको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले सुरुवातमा ५० जनामा क्लिनिकल परीक्षण गर्ने योजना बनाएको छ । पहिलो चरणमा दुई सयजनामा परीक्षण गर्ने योजना बनाए पनि जनकपुर र वीरगन्जमा मात्र परीक्षण सुरु भएकाले हाललाई ५० जनाको परीक्षण गर्ने योजना भएको बताउँछन्, डा.पटेल ।

उनका अनुसार जसमध्ये हालसम्म १० जनामा परीक्षण भइरहेको छ । क्लिनिकल परीक्षणअन्तर्गतका संक्रमितलाई २८ दिनसम्म निरन्तर खुवाउने र त्यसको नतिजाका आधारमा दोस्रो चरणको परीक्षण गर्ने परिषद्ले तयारी गरेको थियो । परिषद्को नेतृत्वमा आयुर्वेदिक औषधिविज्ञलगायतको टोली समावेश छ । डा.पटेलका अनुसार परीक्षणमा परम्परागत जडीबुटीजन्य औषधिको प्रयोग भइरहेको छ । 

क्लिनिकल परीक्षणमा जेठीमधु, पिप्ली, मरिच र सुकेको अदुवा मिश्रित औषधि एस्टी प्रयोगमा आइरहेको छ । ती औषधि परिषद्को सल्लाहमा सिंहदरबार वैद्यखानामा उत्पादन भइरहेको छ । औषधि कोरोनाका सामान्य लक्षण देखिएका बिरामीमा २८ दिनसम्म खुुवाइनेछ । डा.पटेल भन्छन्, ‘सामान्य रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका बिरामीमा ट्रायल सुरु गरेका छौँ । बिरामीलाई खाली पेट एस्टीको ट्याबलेट बनाएर औषधि प्रयोगमा ल्याएका छौँ । ट्रायलमा समावेश हुनेको संख्या बढिरहेको छ, सकेसम्म धेरै संक्रमितलाई ट्रायलमा ल्याउने कोसिस भइरहेको छ ।’

कोरोना भाइरसविरुद्ध विश्वमा दुई सयभन्दा बढी खोपमाथि परीक्षण भइरहेको समयमा नेपालमा भने आयुर्वेदिक औषधिमा क्लिनिकल परीक्षण गरिँदै

क्लिनिकल परीक्षण प्रभावकारी हुन्छ ?
स्वास्थ्य मन्त्रालयले आयुर्वेदिक औषधिमा कोभिड परीक्षण गर्ने घोषणा गरेको लामो समयपछि मात्र प्रदेश नम्बर २ मा क्लिनिकल परीक्षण सुरु भएको छ । तर, परीक्षणमा सहभागी हुनेको संख्या भने न्यून देखिन्छ । राष्ट्रिय अनुसन्धान परिषद्ले योजनाअनुसार क्लिनिकल परीक्षण सुरुवात गर्न नसकेका कारण समयमै परीक्षण गर्न नसकिएको बताएको छ । अनुसन्धानविज्ञ डा.पटेल पहिलो चरणको ट्रायल छिटो सम्पन्न गर्ने योजना परिषद्ले बनाएको बताउँछन् । भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा कोभिड संक्रमितको उपचार सशुल्क गर्ने निर्णयले पनि क्लिनिकल परीक्षणमा प्रत्यक्ष प्रभाव पारेको छ ।’

औषधिको क्लिनिकल परीक्षण गर्दा औषधिको प्रभावकारिता एकदमै राम्रो रहेको बताउँछन् डा.पटेल । ‘हामीले सुरुवातमा बिरामीलाई २८ दिनसम्म औषधि खुवाउने योजना बनाएका थियौँ । संक्रमित निको नहुँदासम्म औषधि दिइरहेका छौँ, हालसम्म परीक्षणमा सहभागी भइरहेका अधिकांशमा सात दिनमै रिपोर्ट नेगेटिभ आइरहेको छ,’ उनी भन्छन्, ‘सामान्यतः १४ दिनसम्म अस्पतालमा राखेर औषधि खुवाइरहेका छौँ । बाँकी १४ दिन घरमै औषधि सेवन गर्न लगाइरहेका छौँ । हालसम्मको परीक्षण हेर्दा राम्रो नतिजा देखाएको छ, अझै परीक्षण निकै बाँकी भएकाले प्रभावकारिताबारे अहिले नै भन्न सकिने अवस्था छैन ।’

आयुर्वेदिक औषधिको माग बढ्दो
प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधि प्रयोगमा आउन थालेपछि माग पनि निकै बढेको चिकित्सकहरू बताउँछन् । नेपालको एक मात्र केन्द्रीय आयुर्वेद चिकित्सालयमा पनि रोगप्रतिरोधी क्षमता बढाउने औषधि लिन निरन्तर भिड बढिरहेको बताउँछन्, अस्पतालका निर्देशक डा. प्रदीप केसी । उनका अनुसार, अस्पतालमा संक्रमित र सर्वसाधारणको भिड निकै बढिरहेको छ । नरदेवी चिकित्सायलयले जेष्ठवासादी, गुड्ची र यष्ठिमधु मिश्रित चुर्ण, सुक्खा खोकी र हलुका ज्वरोका लागि पित्तपापडा र नागेश्वरको मिश्रणबाट बनाइएको औषधि, श्वासप्रश्वासको समस्या भएका बिरामीका लागि असुरो र तालिसपत्रको सम्मिश्रणबाट बनाइएको औषधि उत्पादन गरिरहेको छ । अस्पतालहरू मात्र नभई बजारमा पनि आयुर्वेदिक जडीबुटीको माग निकै बढेको पाइन्छ ।

ठूला आयुर्वेदिक अस्पतालहरूले विभिन्न जडीबुटीमा अनुसन्धान गरेर अस्पतालको प्रयोजनका लागि नयाँ औषधि उत्पादन गरेर प्रयोगमा ल्याइरहेका छन् । यस्ता औषधिमा चिकित्सकहरूले विभिन्न औषधिहरू सम्मिश्रण गरेर नयाँ उत्पादन गरिरहेका छन् । आयुर्वेदिक चिकित्सालय नरदेवी र राष्ट्रिय आयुर्वेद रिसर्च तथा तालिम केन्द्र आफैँले अनुसन्धान गरेर औषधि उत्पादन गरिरहेका छन् । यस्तै, बजारमा पनि आयुर्वेदिक औषधिको माग निकै बढेको, तर सिंहदरबार वैद्यखानाले समेत माग पूरा गर्न नसकेको बताउँछन्, सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा.बाबुराजा अमात्य । 

उनी भन्छन्, ‘केही ठूला अस्पतालहरूले आफैँले उत्पादन गरे पनि हाल बजारमा भने आयुर्वेदिक औषधिको माग निकै बढेको छ । बजारको मागअनुसार वैद्यखानाले आयुर्वेदिक जडीबुटीको चुर्ण उत्पादन गरे पनि बजारमा आपूर्ति हुन सकिरहेको भने छैन । अन्यत्रभन्दा वैद्यखानामा औषधि सस्तो पर्ने भएकाले माग बढेको हुन सक्छ, हामीले उत्पादनको दायरा बढाउने प्रयास गरिरहेका छौँ । हाल बजारमा च्यावनप्रास र सिलाजितको माग बढेको छ ।’