Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक २२ शनिबार ०६:०३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुम्बई लगातार आइपिएलको फाइनलमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक २२ शनिबार ०६:०३:००

१३औँ आइपिएलको पहिलो प्ले अफमा दिल्ली क्यापिटल्सलाई ५७ रनले निराश पार्दै मुम्बई लगातार दोस्रोपटक उपाधिनजिक

साविक विजेता मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रमियर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार पहिलो प्ले अफमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनको अन्तरले हराउँदै लगातार दोस्रोपटक अन्तिम दुई स्थान पक्का गरेको हो । दिल्लीसमक्ष फाइनल पुग्न अझ एक मौका बाँकी छ । शुक्रबार सनराइजर्स हैदरावाद र रोयल्स च्यालेन्जर्स बेंग्लोरबीचको विजेताविरुद्ध दिल्लीले प्रतिस्पर्धा गर्नेछ । 

मुम्बई सर्वाधिक पाँचपटक आइपिएल उपाधि उचाल्न एक जित टाढा छ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा दुई सय योगफल बनाएको थियो । प्रत्युत्तरमा दिल्लीले आठ विकेट मात्र गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो । मुम्बईले चालू आइपिएलमा दिल्लीलाई तीनपटक निराश पार्‍यो । यसअघि पहिलो राउन्डमा पाँच विकेट तथा दोस्रो राउन्डमा नौ विकेटको सानदार जित निकालेको थियो । 

शून्य रनमा तीन विकेट 
लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीको अहिलेसम्मकै खराब सुरुवात भयो । दिल्लीले स्कोर बोर्डमा एक रन पनि नजोड्दा तीन महत्वपूर्ण विकेट गुमाएको थियो । न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टले इनिङ्सको पहिलो ओभरमै पृथ्वी साह तथा अजिन्का राहानेलाई डक आउट पारे । विकेटकिपर क्विन्टन डी कोकले पृथ्वीको क्याच लिए । राहाने एलबिडब्लू आउट भए । उत्कृष्ट फर्ममा रहेका दिल्लीका बायाँहाते ब्याट्सम्यान शिखर धवनलाई जसप्रित बुमराहले बोल्ड गरेका थिए । शीर्ष तीन ब्याट्सम्यान गुमाउँदा दिल्ली १.२ ओभरमा ०–३ को नाजुक स्थितिमा पुग्यो । 

बुमराह र आश्विनको धारिलो बलिङ
पहिलो प्ले अफमा दिल्लीका रविचन्द्रन आश्विन तथा मुम्बईका बुमराहले धारिलो बलिङ गरेका थिए । तर, यसमा बाजी भने बुमराहले मारेका छन् । उनले दिल्लीका चार ठूला विकेट लिँदै मुम्बईलाई सहज जिततर्फ अग्रसर पारे । बुमराहले धवनका कप्तान श्रयर आयेर (१२), मार्कोस स्टोनिस (६५) र डानियल साम्स (०) को विकेट लिए । बुमराहले आफ्नो बलिङ स्पेलमा केवल ४ ओभरमा एक मडेन राखी १४ रन मात्र दिए । उनी नै खेलमा म्यान अफ दी म्याच भए । यसअघि दिल्लीका आश्विनले २९ रन खर्चेर तीन विकेट लिए । आश्विनले दिल्लीका ओपनर डिकोक (४०), कप्तान रोहित शर्मा (०) तथा किरन पोलार्ड (०) रनमा आउट पारे । 

सात ब्याट्सम्यानका शून्य रन
प्रतिस्पर्धामा सात ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । मुम्बईको इनिङ्समा रोहितले सामना गरेको पहिलो बलमै आउट भए । यसैगरी अनुभवी विस्फोटक ब्याट्सम्यान पोलार्डले सामना गरेको दोस्रो बलमै विकेट गुमाए । दिल्लीको ब्याटिङमा पृथ्वी, धवन, राहने र साम्सले शून्य रनमा आउट भए । दिल्लीका नाटर्जे शून्य रनमा नटआउट रहे । रोहितको प्ले अफमा खराब फर्म जारी नै रह्यो । उनले अहिलेसम्म १९ प्ले अफ खेलमा केवल २ सय २९ रन मात्र जोडेका छन् । उनी तीनपटक शून्य रनमा आउट भए । 

दुई राम्रो साझेदारी 
मुम्बईले दिल्लीलाई विशाल योगफल दिनुपछाडि दुई ठूलो साझेदारी मुख्य रह्यो । डी कोक र सूर्यकुमार यादवले दोस्रो विकेटका लागि ३७ बलमा ६२ रन बटुले । यसैगरी इसान कृषणले हार्दिक पाण्ड्यासँग छैटौँ विकेटका लागि २३ बलमा ६० रनको साझेदारी गर्दै मुम्बईलाई २ सय रनको योगफलमा पुर्‍याए । हार्दिकले केवल १४ बलमा ३७ रन बटुले । उनले आफ्नो इनिङ्समा पाँच छक्का लगाए ।  डिकोकले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरी ४० रन बनाए ।

यसैगरी सूर्यकुमारले केवल ३८ बल सामना गरी ६ चौका र दुई छक्काको सहयोगमा ५१ रन बनाए । कृषणले ३० बलमा तीन छक्का र चार चौका प्रहार गरी ५५ रन बटुले । दिल्लीविरुद्धको सूर्यकुमारको आइपिएलमा सय खेल थियो । उनले अहिलेसम्म आइपिएलमा ११ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

दिल्लीका दुई ब्याट्सम्यान टिके
कमजोर ब्याटिङ प्रदर्शनमा दिल्लीका दुई ब्याट्सम्यान मात्र टिक्न सफल भए । मार्कोस स्टोनिस र अक्षर पटेलले मात्र गतिलो योगदान दिए । स्टोनिसले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गरी ६५ रनको योगदान दिए । यसैगरी पटेलले ३३ बलमा  तीन छक्का र दुई चौकाको सहयोगमा ४२ रन बनाए । प्रतिस्पर्धामा मुम्बईका कृषणले छक्कामा नयाँ रेकर्ड बनाए । उनले चालू आइपिएलमा सबैभन्दा छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा आफूलाई शीर्ष स्थानमा राखे । उनले १३ खेलमा २९ छक्का प्रहार गरेका छन् । सन्जु सामसनले १४ खेलमा २६ छक्का लगाए ।