मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २२ शनिबार ०२:१६:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा संकट : अब एक कदम अगाडि बढे ‘दुर्घटना’

Read Time : > 7 मिनेट
२०७७ कार्तिक २२ शनिबार ०२:१६:००

दुवै समूह आ–आफ्नो अडान र तयारीमा कायम रहने हो भने भयानक संकटतर्फ उन्मुख नेकपा विवादले विभाजनको रूप लिने खतरा पैदा भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन माग गरेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि तयार नभए क्रमशः तीनै तहका बहुमत सदस्यको औपचारिक बैठक बोलाउने कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहको तयारी छ । तर, कुनै पनि कमिटीको औपचारिक बैठक बोलाए त्यही नै पार्टी विभाजनको बिन्दु बन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने र आफ्नाविरुद्ध हुने षड्यन्त्र परास्त गर्ने बताइसकेका छन् । 

पार्टीभित्र उत्पन्न राजनीतिक तनावमा दुईमध्ये कुनै एक समूह एक कदम पछाडि नहटे नेकपा विभाजनमा जाने गम्भीर खतरा देखिएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए बहुमतीय विधिबाट अघि बढ्ने सन्देश भने दिइसकेका छन् । केन्द्रीय कार्यालय, धुम्बाराहीमा शुक्रबार बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकमार्फत प्रचण्ड–नेपाल समूहले त्यस्तो सन्देश दिएको हो । 

मूलतः पछिल्लो स्थायी कमिटीको निर्णय कार्यान्वयनलाई लिएर मतभेद चर्किँदै जाँदा प्रधानमन्त्री ओलीले समझदारीविनाको एकपक्षीय बैठक एकताको भावनाविपरीत हुने भन्दै प्रश्न उठाइरहेका वेला प्रचण्ड–नेपाल समूहले बहुमतको विकल्पको सन्देश दिएको छ । ‘पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन । जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ,’ वरिष्ठ नेता नेपालले बहुमतबाट अगाडि बढ्न सक्ने संकेत गर्दैं भने । 

बहुमतको औपचारिक बैठक बोलाइए पार्टी विभाजन गर्ने घोषणाको प्रस्थान बिन्दु हुने ओलीको पछिल्लो भनाइले पार्टीलाई गम्भीर दुर्घटनातिर लैजाने खतरा देखिएको भन्दै उनीहरूले शनिबार सामूहिक रूपमै भेटेर बैठक बोलाउन अनुरोध गर्ने निष्कर्ष निकालेका छन् । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । 

बिहीबार ओलीसँगको पछिल्लो तिक्त संवाद र त्यसले निम्त्याउन सक्ने संकटमा केन्द्रित रहेर अनौपचारिक बैठकमा प्रचण्डले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । ‘अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या र संकटको स्थिति देखा परेको भए पनि फेरि एकचोटी सहमतिका आधारमा बैठक बस्ने र सबै पक्षबारे गम्भीरतापूर्वक छलफल गर्ने, पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा सञ्चालन गर्ने, सरकारलाई पार्टीको मार्गनिर्देशनका आधारमा जनमुखी र प्रभावकारी ढंगले सफल पार्न अगाडि बढ्नका निम्ति बैठक बसौँ भनेर उहाँसँग बारम्बार प्रस्ताव राखे पनि अर्का अध्यक्षले बैठक बस्न सहमति नदिएको ब्रिफिङ गर्नुभयो,’ अनौपचारिक बैठकपछि प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बैठक बस्न सहमति नदिएको अवस्थामा औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको बिन्दु हुनेछ भनेरसमेत भन्नुभएको कुरा जानकारी गराउनुभएको छ ।’ 

छलफलमा सहभागी नेताहरूलाई प्रचण्डले पार्टी फुटको गम्भीर दुर्घटनातिर जाने सम्भावना देखिएकै कारण ओलीसँगको समझदारीमै अनौपचारिक बैठक गर्नुपर्ने अवस्था आएको जानकारी गराएपछि बैठकले एकता जोगाउनका लागि प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेरै बैठकका लागि अनुरोध गर्ने निष्कर्ष निकालेको थियो ।

‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भए पनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने दृष्टिगत गर्दै अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई सहमतिका आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेको छ,’ श्रेष्ठले निष्कर्ष सुनाउँदै भने, ‘त्यसका निम्ति सामूहिक रूपमा नै अध्यक्ष ओलीलाई पार्टीमा विद्यमान अहिलेको संकट समाधान गर्न सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन, सहमतिको आधारमा बैठक गर्ने, अहिलेसम्मको कामहरूको समीक्षा गर्ने, पार्टीका निर्णय कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनका निम्ति आवश्यक कदम चाल्नका निम्ति छिटोभन्दा छिटो बैठक गर्न अनुरोध गर्ने भएका छौँ ।’

शुक्रबारको निर्णयअनुसार शनिबार बिहान अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गर्दै छन् । छलफलमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन र सचिवालय बैठकका विषयमा ठोस सहमति नबने जटिलता थपिन सक्ने नेताहरूले बताएका छन् । 

अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल अनुपस्थित थिए । अनौपचारिक बैठकको सूचना सबै नेताहरूलाई जानकारी गराइए पनि कतिपय नेताहरू पूर्वनिर्धारित बैठक र कार्यक्रमका कारण सहभागी नभएको प्रवक्ता श्रेष्ठले दाबी गरे । पोखरेल, थापा र पौडेल ओलीसँगको परामर्शमा बैठकमा गएका थिएनन् । 

पछिल्लो घटनाक्रमसँगै ओलीले बहुमतका नाममा एकपक्षीय कदम चाले ठूलो जवाफी कदम चाल्ने चेतावनी दिँदै आए पनि प्रचण्ड–नेपाल समूहले सहमतिका लागि हदैसम्म कोसिस गर्ने, तर तयार नभए बहुमतबाटै अगाडि बढ्ने तयारी गरेका छन् । प्रचण्ड–नेपाल समूहले अनौपचारिक बैठकबाट एक कदम अगाडि बढ्ने तयारीबारे जानकारी पाएका प्रधानमन्त्री ओली बैठक बोलाउने विषयमा थप छलफलका लागि एक कदम लचिलो बनेका छन् । 

ओलीनिकट नेताहरूले धुम्बाराहीको अनौपचारिक बैठक दुई अध्यक्षको समझदारीअनुसारको स्वाभाविक छलफल भएको भन्दै ठोस सहमतिमा पुग्ने गरी संवाद बढ्ने संकेत गरेका छन् । प्रचण्ड–नेपाल समूह बहुमतबाट अगाडि बढ्न सक्ने देखिएपछि प्रधानमन्त्री ओलीसँगको परामर्शमा संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बालुवाटारको सन्देशसहित शुक्रबार बिहान खुमलटारस्थित निवासमै पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

‘तपाईं दुईजनाको प्रयासले ठूलो विवादबीच पनि भदौमा प्रस्ताव तयार भयो, सहमति भयो, सचिवालयले पास ग¥यो र स्थायी कमिटीले पनि अनुमोदन ग¥यो । त्यही स्थायी कमिटीको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ, गुटबन्दी अन्त्य गर्नुपर्छ, पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ, केपी कमरेडले पनि त्यही हो मेरो कुरा भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डलाई भेटमा प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै उपनेता नेम्वाङले नयाँ पत्रिकासँग भने, ‘आखिर कमरेडहरूबाट पनि स्थायी कमिटीकै निर्णय कार्यान्वयन गरौँ भन्ने नै कुरा आइरहेको छ भनेपछि त मिलाएर जानुपर्छ । एक दिन, दुई–तीन दिनमा नभए पनि अलिक समय लिएर भए पनि गरेर जानुपर्छ । यसबाहेक अर्को के विकल्प छ ?’

नेम्वाङले स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग थप संवादका लागि तयार भएकोसमेत जानकारी दिए । ‘दुई अध्यक्ष मिलेर एकता घोषणा गर्नुभो, तर आज एकता प्रक्रिया सफल भएन भने कार्यकर्ता र जनतालाई के भनेर उत्तर दिन्छौँ ? सबैभन्दा बढी प्रश्न त तपाईं दुई अध्यक्षमा ठोकिन्छ मैले भनेँ । उहाँले ठीकै हो कुरा भन्ने जवाफ दिनुभो,’ भेटमा भएको कुराकानी उद्धृत गर्दै उनले भने, ‘त्यसकारण केही समय लिएर भए पनि टुंगोमा पु¥याउँ भनेपछि म फर्किएको हुँ । त्यसपछि बालुवाटार पुगेर उहाँसँगको भएको कुराकानी प्रधानमन्त्रीलाई जानकारी गराएँ ।’ 

प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको निर्णय लत्याउँदै प्रधानमन्त्रीले पार्टीलाई चुनौती दिँदै मन्त्री हेरफेर, राजदूत नियुक्ति गर्दै आएको आरोप लगाउँदै आएको छ । त्यस्तै, कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, भारतीय खुफिया एजेन्सी रअ प्रमुखसँगको भेटवार्तालगायत विषयमा आशंका गर्दै आएको छ । प्रधानमन्त्री ओलीले भने प्रचण्डको कार्यकारी अध्यक्षको भूमिकामाथि नै प्रश्न उठाउँदै गुटबन्दी गरेर सरकारमाथि घेराबन्दी गरेर काम गर्न नदिएको आरोप लगाएका छन् । ओलीले सरकारलाई असफल बनाउने बाटोमा लाग्ने हो भने पार्टी फुटाउँदा पनि फरक नपर्नेसम्मको चेतावनी दिएपछि दुई अध्यक्षबीचको तिक्तता चुलिँदै गएको छ । 

................

पार्टी फोड्ने कुरा गर्ने अपराधी हो, त्यस्तालाई जनताले धिक्कार्छन् : माधव नेपाल, वरिष्ठ नेता, नेकपा

आज नेकपा अध्यक्ष ओली र महासचिव विष्णु पौडेललगायतका नेताबाहके केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बस्नुभयो, बैठकको निष्कर्ष के हो ? 

पार्टीभन्दा ठूलो केही पनि होइन । सबै समस्या पार्टीकै बैठकमा राख्नुपर्छ । सकडमा छर्ने होइन, बाहिर ल्याउने होइन । बैठकले निकालेको निष्कर्ष त्यही हो । 

तपाईंहरूले त्यसरी बेग्लै अनौपचारिक बैठक गरेपछि त नेकपा फुट्ने हो कि भन्ने व्यापक आशंका हुन थालेको छ नि ?

पार्टी र आन्दोलन समाप्त हुँदैन, फुट्दैन । पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन । 

पार्टी फुट्दैन भन्ने तपाईको दावी छ, तर जुट्ने सम्भावना कति छ ? 

पार्टीको निर्णय पालना गरेर चल्नुप¥यो नि, किन फुट्छ पार्टी ? जसले फोड्ने कुरा गर्छ, त्यो अपराधी हुन्छ, कम्युनिस्ट आन्दोलनविरोधी हुन्छ, कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको ठहर हुन्छ । जनताको नजरमा पार्टीका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई धिक्कार्छन्, उसको सती जाँदैनन् । कसैले पार्टी फुटाउने दुस्साहस गर्छ भने एउटा नेताको पुच्छर समातेर कोही पनि सती जानेवाला छैन । 

दुई अध्यक्षको छलफलमा तिक्त संवाद भइरहेको र अलग–अलग बाटो लागौँ भन्नेसम्मको प्रस्ताव आयो भन्ने छ, त्यसलाई कसरी हेर्नुभएको छ ? 

जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ ।

तर, तपाईहरूका बैठकलाई गुटको बैठक भन्दै प्रधानमन्त्रीले गुटका निर्णय नमान्ने स्पष्ट  पारिसक्नुभएको छ नि, उहाँले निर्णय मान्ने सम्भावना छ ? 

त्यही तयार गर्नका लागि हामी शनिबार छलफल गर्छौँ । उहाँलाई कन्भिन्स गर्छौँ । उहाँलाई ठीक बाटोमा आउन आग्रह गर्छौँ ।

उहाँले निर्णय मान्दिनँ भने तपाईहरूसँग अरु विकल्प के छ ? 

फेरि प्रयास गर्छौँ । अहिले नै किन आशंका गर्ने ? उहाँले सुन्नैपर्छ, गम्भीर कमजोरी सच्याउनुपर्छ । सुध्रिएर नयाँ ढंगले चल्नुपर्छ । कमिटीको बैठकमा व्यापक गहन छलफल, बहस हुँदै आएको छ । त्यसले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ । 

प्रधानमन्त्री त पहिला दुई अध्यक्षबीच एजेन्डामा सहमति गर्ने अनि बैठक बोलाउने हो भन्ने अडानमा हुनुहुन्छ भन्ने कुरा आएको छ, दुई अध्यक्षबीचको सहमति विना बैठक किन बस्ने भन्ने प्रश्न पनि छ नि ?

दुई अध्यक्षका कुरा आफ्नो ठाउँमा छ, तर एजेन्डा तय गर्ने त कमिटीले हो । प्रस्ताव ल्याउने काम मात्र अध्यक्षहरूको हो । एजेन्डा कुन–कुन हुन्छ भनेर अन्तिम निर्णय गर्ने काम कमिटीको हो । कमिटी प्रणालीको ज्ञान भएका मान्छेले त्यही भन्छन् । किनभने कम्युनिस्ट पार्टी त्यही विधिमा चलेको छ, त्यही विधिबाटै चल्छ । त्योभन्दा अर्को व्यक्तिप्रधान हुँदैन । अध्यक्षलाई निरपेक्ष संस्थाका रूपमा मान्ने कुरा कसैले पनि स्वीकार गर्न सक्दैन । 

प्रधानमन्त्रीसँगको छलफलपछि सहमतिमा बैठक बस्ने अवस्था भएन भने के तपाईंहरू बहुमतबाट औपचारिक बैठक राख्ने बाटोमा जानुहुन्छ ? 

कमिटीको बैठक बस्छ, उहाँ आउनुपर्छ । आएर केन्द्रीय कमिटीको, स्थायी कमिटीको, सचिवालय बैठकको सम्मान गनुपर्छ र आफूलाई कमिटीको मातहतमा राख्ने मानसिकताबाट चल्नुपर्छ । उहाँले म पूर्वएमालेबाट आएको छु भनेपछि उहाँको पनि अवधि ०७६ को साउनको पहिलो साता सकिसकेको छ । किनभने त्यसपछि उपाध्यक्षहरू, अरू–अरूको पनि अवधिको कुरा आउँछ । त्यसकारण त्यस्ता कुरामा कुनै पनि दम छैन । 

तर, पूर्वएमाले मिलेर पूर्वमाओवादी समूहलाई मिलाउने हो भने मात्रै एकताका साथ जान सकिन्छ भन्ने मतका आधारमा तपाईं र प्रधानमन्त्री ओलीलाई मिलाउने कोसिस पनि भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ नि ?

पूर्व भन्ने चिज सकिएर हामी त नेकपा भइसकेका छौँ । सबैलाई मिलाएर साथमा लिएर जाने हो । पार्टीलाई विचार, विधि, नीतिबाट, पद्धतिबाट चलाउने हो । व्यक्तिको लहडका आधारमा होइन, पार्टीको विधानबाट चलाउने हो ।

................

कार्यदलले ओली–प्रचण्डसँग संवाद गर्ने 

स्थायी कमिटीको निर्णय कार्यान्वयनको विवादले पार्टी पुनः फुटको दिशामा उन्मुख भएपछि विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् ।

विवाद समाधानका लागि गठित कार्यदलका संयोजकसमेत रहेका महासचिव विष्णु पौडेलले शुक्रबार तत्कालीन कार्यदलका सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र भीम रावलसँग प्रतिवेदन कार्यान्वयनका विषयमा टेलिफोनबाट परामर्श गरेका छन् । उनले शनिबार दुवै अध्यक्षसँग छलफलका लागि समय लिएर खबर गर्नेसमेत कार्यदलका सदस्यलाई जानकारी गराएका छन् । ‘विवाद निरुपणका लागि स्थायी कमिटीको बैठकले निर्णयहरू नै कार्यान्वयन गरेर जानुको कुनै विकल्प छैन,’ महासचिव पौडेलले भने । पौडेलले शुक्रबार गृहमन्त्री बादलसँग पार्टीमा उत्पन्न पछिल्लो संकटमा केन्द्रित रहेर बेग्लै छलफलसमेत गरेका थिए । 

२६ भदौमा सकिएको नेकपा स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने अर्थात् पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने तथा पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने र सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने र आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, स्थायी कमिटीको सर्वसम्मतिले निकालेको निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न छ । 

................

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तयार हुनुहुन्छ : सुवास नेम्वाङ, संसदीय दलका उपनेता 

धुम्बाराहीको अनौपचारिक बैठक अस्वाभाविक होइन, एकदम स्वाभाविक हो । यसबारे अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो । शुक्रबार मैले प्रचण्ड कमरेडलाई भेटेँ । उहाँलाई एक नम्बरमै सोधेँ– अबदेखि बालुवाटार वार्ता गर्न आउँदिनँ भन्नुभएछ नि ! उहाँले हाँस्दै हार्दिकतापूर्वक ‘त्यो कुरा पूरै गलत हो’ भन्नुभो । उहाँले शुक्रबार अरू कमरेडहरूलाई धुम्बाराहीमा बोलाएर अहिलेसम्मका छलफलका सबै ब्रिफिङ राख्छु र उहाँहरूको कुरा पनि सुनेर प्रधानमन्त्रीसँग भेट्छु भन्नुभएको थियो । उहाँहरूबीच भएको सल्लाह नै रहेछ । तर, धुम्बाराहीमा के गर्नुभो मलाई जानकारी छैन । दुईजना अध्यक्षको सहमतिमै अगाडि बढ्ने भन्ने कुरा त छँदै छ । मैले भेटमा प्रचण्ड कमरेडलाई तपाईं दुईजनाको प्रयासले ठूलो विवादबीच भदौमा प्रस्ताव तयार भयो, सहमति भयो, सचिवालयले पास ग¥यो र स्थायी कमिटीले पनि अनुमोदन ग¥यो । त्यही स्थायी कमिटीको प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ, गुटबन्दी अन्त्य गर्नुपर्छ, पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ भनेको छु । केपी कमरेडले पनि त्यही हो मेरो कुरा भन्नुभएको छ । आखिर कमरेडहरूबाट पनि स्थायी कमिटीकै निर्णय कार्यान्वयन गरौँ भन्ने नै कुरा आइरहेको छ भनेपछि त मिलाएर जानुपर्छ । एक दिन, दुई–तीन दिनमा नभए पनि अलिक समय लिएर भए पनि गरेर जानुपर्छ । यसबाहेक अर्को के विकल्प छ । बालुवाटार पुगेर उहाँसँगको भएको कुराकानी प्रधानमन्त्रीलाई जानकारी गराएँ ।