मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १९:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रवक्ता भने–ओलीले बैठक बस्न सहमति दिनुभएन, हामीले अनौपचारिक छलफल गऱ्यौँ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १९:२३:००

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी ओलीले बैठक बस्न सहमति नदिएका कारण अनौपचारिक छलफल गरेको स्पष्ट पारेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग औपचारिक बैठक बोलाउने अधिकार भएपछि पार्टी विभाजन रोक्नका लागि अनौपचारिक छलफलका लागि सदस्यहरूलाई आमन्त्रण गरिएको उनले बताए । सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि श्रेष्ठले भने, ‘अहिले अर्को कुनै निर्णय विधानको आधारमा मात्र गर्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने भावका आधारमा सकेसम्म सहमति खोज्ने प्रयत्न गर्नु जरुरी हुन्छ भन्ने आवश्यकताबोध गरेर हामीले यो पहल गरेका हौँ ।’

सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि श्रेष्ठको भनाइ जस्ताको तस्तै
० हाम्रो पार्टीमा केही समयअघि देखा परेका पार्टीका समस्यालाई सम्बोधन गर्न र समाधान गर्न स्थायी कमिटीको बैठक आयोजना भएको थियो । त्यो बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने अर्थात् पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने र पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने र सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने र तेस्रो आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो । तर, स्थायी कमिटीको सर्वसम्मतिले निकालेको उक्त निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भएको वा त्यो कार्यान्वयनको प्रक्रिया अगाडि नबढेको स्थिति उत्पन्न भयो । त्यस स्थितिमा पार्टीका सचिवालय सदस्यहरूले लिखित र मौखिक रूपमा पनि तत्काल सचिवालयको बैठक र अन्य निकायहरूको बैठक पनि बसेर सबै पक्षका बारेमा छलफल गरेर आवश्यक निष्कर्ष निकाल्नुप¥यो भनेर पार्टीका अध्यक्षहरूलाई अनुरोध गरेको स्थिति रह्यो ।

पछिल्लो अवस्थामा राष्ट्रियताका केही सवाल, संघीय प्रणालीसम्बन्धी केही सवालहरू, कोभिड– १९ ले उत्पन्न गरेको स्वास्थ्य संकट र जनजीविकाका संकटसम्बन्धी विषयहरू र मुख्यतः पार्टी जीवनलाई एकताबद्ध गरेर सुचारु गरेर अगाडि बढाउन दिइएको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा पैदा भएको अड्चन वा समस्याका कारणले बैठक बस्न अध्यक्ष कमरेड प्रचण्ड (जसमा कार्यकारी अधिकार अन्तरनिहित छ) ले पनि बैठक बोलाउनका निम्ति अध्यक्ष कमरेड केपी ओलीसँग सहमतिका निम्ति बारम्बर पहल र प्रयत्न गर्नुभयो ।

अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या गत्यावरोध र संकटको स्थिति देखा परेको भए पनि पार्टीमा फेरि एकचोटि सहमतिका आधारमा बैठक बस्ने र बैठकमा सबै पाटा–पक्षहरूका बारेमा गम्भीरतापूर्वक छलफल गर्ने र पार्टी एकतालाई बचाउँदै पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्ने र सरकारलाई पार्टीको मार्गनिर्देशनका आधारमा जनमुखी र प्रभावकारी ढंगले सफल पार्न अगाडि बढ्नका निम्ति बैठक बसौँ भनेर उहाँसँग बारम्बार प्रस्ताव राखियो र हिजोसम्म आइपुग्दा पनि अध्यक्ष कमरेड केपी ओलीले बैठक बस्न सहमति दिनुभएन र बैठक बस्न सहमति नदिएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेरसमेत भन्नुभएको भन्ने कुरा आज अध्यक्ष कमरेडले जानकारी गराउनुभयो । 

यो पृष्ठभूमिमा अध्यक्ष कमरेड प्रचण्डले कमरेड केपी ओलीसमेतको सहमतिमा अनौपचारिक बैठक आह्वान गर्नुभयो र आज सबै सचिवालयका कमरेडहरूलाई अनौपचारिक बैठकको जानकारी गराइयो । आज केही कमरेडहरूले बैठकको र अरू व्यस्तताका कारण आउन नसकेको जानकारी गराउनुभयो भने अध्यक्ष प्रचण्डका अनुसार हिजो नै अर्का अध्यक्ष कमरेड ओलीले अनौपचारिक बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो । तर पनि उहाँकै सहमतिमा आज अनौपचारिक बैठक बसिएको हो । यो परिस्थितिमा आजको अनौपचारिक बैठकले, उपस्थित कमरेडहरूको छलफलले कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भए पनि पार्टीको विद्यमान संकटपूर्ण परिस्थितिमा पार्टी एकतालाई जोगाएर बढ्न सकभर सहमतिकै आधारमा बैठक बोलाउन उपयुक्त हुने कुरालाई दृष्टिगत गर्दै अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरूले भोलि अध्यक्ष ओलीलाई सहमतिका आधारमा बैठक छिटोभन्दा छिटो राख्न अनुरोध गर्ने निर्णय गरेका छौँ । त्यसका निम्ति सामूहिक रूपमा नै अध्यक्ष ओलीलाई पार्टीमा विद्यमान अहिलेको संकट समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन, सहमतिको आधारमा बैठक गर्ने, अहिलेसम्मको कामहरूको समीक्षा गर्ने, पार्टीका निर्णय कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनका निम्ति आवश्यक कदम चाल्नका निम्ति छिटोभन्दा छिटो बैठक गर्न अनुरोध गर्ने भएका छौँ ।

यो अनौपचारिक छलफल हो, औपचारिक बैठक होइन, अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई जुन कुरा औपचारिक बैठकका सन्दर्भमा भन्नुभो, त्यसले कार्यकारी अध्यक्षले बैठक बोलाउन पहल गर्न सक्ने भए पनि पार्टीको एकता सन्दर्भलाई ध्यान दिँदै कमरेड ओलीको सहमतिमै अनौपचारिक छलफल गरिएको हो । त्यसकारण औपचारिक बैठक होइन । 

हामी हार खानेवाला छैनौँ । दुई, तीन, चार, पाँच, ६ जनालाई ओली, प्रचण्ड दुवैले भेट्नुभएको छ । योचाहिँ कार्यकारीले सबै सदस्यहरूलाई जानकारी गराएर आयोजना गरेको अनौपचारिक बैठक हो । 

अहिले अर्को कुनै निर्णय विधानको आधारमा मात्र गर्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने भावका आधारमा सकेसम्म सहमति खोज्ने प्रयत्न गर्नु जरुरी हुन्छ भन्ने आवश्यकताबोध गरेर हामीले यो पहल गरेका हौँ ।