१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक २१ शुक्रबार १०:११:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कोरोना रोकथाममा बागमती प्रदेशले खर्चियो ४८ करोड

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार १०:११:००

पूर्ण विवरण अझै सार्वजनिक भएन

बागमती प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ४८ करोडभन्दा बढी रकम खर्चिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म प्रदेश सरकारले कोरोना कोषबाट ४८ करोड २८ लाख रुपैयाँ खर्चिएको हो ।    

प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि १३ करोड ६७ लाख दिइएको छ । स्थानीय तहलाई दिइएको रकमबारे हालसम्म विवरण प्राप्त नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशले महानगरलाई ६० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाखका दरले रकम निकासा गरेको कार्यालयका योजना महाशाखा प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

३५ करोड मन्त्रालयबाटै खर्च
प्रदेशले स्थानीय तहलाई दिइएको रकमबाहेक बाँकी ३४ करोड ६१ लाख सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न शीर्षकमा खर्च गरिएको छ । मन्त्रालयबाट गत असार मसान्तसम्म १८ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसयता तीन महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ । कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी छ । 

कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेशले भरतपुरको कोरोना विशेष अस्पताललाई एक करोड, रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताललाई २० लाख, धुलिखेल अस्पताललाई २० लाख र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई तीन करोड ७७ लाख रुपैयाँ निकासा गरेको तथ्यांक छ । 

यसैगरी, सामाजिक विकास मन्त्रालयमार्फत हेटौँडा अस्पताललाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख, धादिङ अस्पताललाई ३१ लाख, त्रिशूली अस्पताललाई ३१ लाख, सिन्धुली अस्पताललाई ३१ लाख, स्वास्थ्य निर्देशनालयलाई २७ लाख, स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख, चौतारा अस्पताललाई २१ लाख गरी प्रदेशले असोज मसान्तसम्म नौ करोड ९३ लाख रुपैयाँ निकासा गरेको योजना महाशाखा प्रमख सुवेदीले जानकारी दिए ।

पूर्ण विवरण सार्वजनिक गर्न कांग्रेसको माग
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको रकम खर्चबारे बागमती प्रदेश सरकारले हालसम्म पूर्ण विवरण सार्वजनिक गरेको छैन । प्रदेश सरकारले कोषबाट कोरोना नियन्त्रणका लागि स्थानीय तह, प्रदेशअन्तर्गतका अस्पताल र मन्त्रालयलाई दिइएको रकमबारे जानकारी दिए पनि हालसम्म पूर्ण हिसाब सार्वजनिक गरिएको छैन । यसप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले पूर्ण हिसाब सार्वजनिक गर्न माग गरेको छ ।

कोषको रकम कस्तो उपकरण खरिद, केकस्ता शीर्षकमा कति खर्च भए÷नभएको वा कति भएकोबारे पूर्ण हिसाब सार्वजनिक नगरेकोमा प्रमुख प्रतिपक्ष कांग्रेसले आपत्ति जनाएको हो । ‘कोरोना कोषबाट गरिएको खर्चबारे सत्यतथ्य हिसाब सार्वजनिक नगरेको भन्दै कांग्रेस संसदीय दलले पटकपटक सरकारको ध्यानाकर्षण गराइसकेको छ । तर, हालसम्म सरकारले हिसाब सार्वजनिकबारे कुनै चासो देखाएको छैन,’ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने । 

सरकारले शीर्षकअनुसार हिसाब सार्वजनिक नगरेका कारण सांसदहरूको दसैँभत्ता कोरोना कोषमा जम्मा नगरेको नेता बानियाँले बताए । करोडौँ रकम खर्चिंदासमेत जनतासामु हिसाब सार्वजनिक नगर्नु नै हिनामिनाको संकेत भएको उनले आरोप लगाए ।

विवरण नआएकाले रोकिएको हो : मन्त्री जम्कट्टेल
आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषका संयोजक शालिकराम जम्कट्टेलले हिसाबको विवरण नआएकाले सार्वजनिक रोकिएको बताए । मन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालय, स्थानीय तह र अस्पताललाई निकासा गरिएको रकमबारे विवरण नआएकाले हिसाब सार्वजनिक रोकिएको उनको दाबी छ । ‘हामीले कार्यविधि बनाएका छौँ, सोहीअनुसार खर्च भएको छ,’ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘निकासा गरिएको रकमबारे विवरण प्राप्त हुनासाथ हिसाब सार्वजनिक गरिनेछ ।’ उनले विवरण प्राप्त हुने क्रम पनि जारी रहेको बताए ।