Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक २१ शुक्रबार ०९:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धमाधम कालोपत्रे गरिँदै ललितपुरका चार दर्जन सडक

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ०९:०२:००

ललितपुरले ‘महानगरको सडक, विशेष सडक’ नारा दिएर तीन चरणमा २० किलोमिटर सडक कालोपत्रे गर्दै, विशेष सडकमा नगरका ५० वटा भित्री सडक समावेश

कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउँदै ललितपुर महानगरपालिकाले सडक निर्माणलाई तीव्रता दिएको छ । ललितपुरले ‘महानगरका सडक, विशेष सडक’ नारा दिएर २९ वटा वडामा सडक निर्माण धमाधम गरिरहेको छ । 

महानगरले आगामी जेठसम्म २० किलोमिटर सडक कालोपत्रे गर्ने योजनाअनुसार काम गरिरहेको छ । यसअन्तर्गत ५० वटा भित्री सडक पर्छन् । यी सडक निर्माणका लागि ७४ करोड १६ लाख खर्च हुने अनुमान छ । पहिलो चरणअन्तर्गत सुरु गरिएका सडकको निर्माण सम्पन्न भएको छ । पहिलो चरणमा चार दशमलव शून्य ६ किलोमिटर सडक निर्माण भएको महानगरले जनाएको छ । जसअन्तर्गत १४ सडक निर्माण भएका छन् । यसमा १२ करोड ३२ लाख खर्च भएको छ । 

अहिले दोस्रो चरणअन्तर्गत सडक निर्माणको काम धमाधाम भइरहेको ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले बताए । उनका अनुसार यो दोस्रो चरणमा ६ दशमलव सात किलोमिटर सडक निर्माण हुनेछ । ‘पहिलो फेजमा थालिएका सम्पूर्ण सडक निर्माण सम्पन्न भइरहेका छन् । दोस्रो फेजको काम असारमा सक्नुपर्ने थियो, तर कोरोनाका कारण कात्तिक मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकेका छौँ,’ शाहले भने । दोस्रो चरणअन्तर्गत १५ सडक निर्माण भइरहेका छन् । यसका लागि २६ करोड ६७ लाख विनियोजन गरिएको छ । 

त्यस्तै, तेस्रो चरणमा २१ वटा सडक निर्माणको काम असोजको पहिलो साताबाट सुरु भएको छ । यसअन्तर्गत आठ किमि ६२५ मिटर सडक निर्माण हुनेछ । यसका लागि ३५ करोड १७ लाख छुट्याइएको छ । 

सडक निर्माणको कामलाई विभिन्न फेजमा राखेर निर्माण अघि बढाएको महानगरले जनाएको छ । वडास्तरबाट आएको योजनालाई नगरसभाले अनुमोदन गरेपछि सडक निर्माणलाई बजेट विनियोजन गरिएको हो । 

महानगरको सडक विशेष सडक 
ललितपुर महानगरले आफूले बनाएको सडक गुणस्तरका दृष्टिले अब्बल रहेको दाबी गरेको छ । महानगरले बनाएका सडक अन्यत्रको जस्तो एक वर्ष नबित्दै भत्किने किसिमको नभएको मेयर चिरीबाबु महर्जनले बताए । उनले भने, ‘महानगरले बनाएको सडकको मोटाइ बढी छ, जसले गर्दा छिटो बिग्रिँदैन ।’ प्राविधिकसहित जनप्रतिनिधिको टोलीले सडकको गुणस्तर परीक्षण गरेपछि मात्रै सडक निर्माणकर्ताले भुक्तानी पाउने व्यवस्था गरिएको उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउँदै महानगरले अहिले धेरै क्षेत्रमा काम अघि बढाएको बताए । कोइरालाले भने, ‘यो वेला पनि सडक निर्माणको काम दु्रत गतिमा अघि बढेको छ ।’ उनले महानगरको विकासका लागि सडक निर्माण आधारभूत आवश्यकता भएकाले यसलाई प्राथमिकतामा राखेको बताए ।