१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १०:१६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणले प्रसारण लाइन नबनाउँदा २५ मेगावाट बिजुली खेर, निजी उत्पादकलाई ३६ करोड नोक्सान

Read Time : > 3 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १०:१६:००

जलविद्युत् उत्पादकसँग विद्युत् प्राधिकरणले गरेको सम्झौताअनुसार आयोजना सम्पन्न हुँदा प्रसारण लाइन पनि तयार गर्नुपर्ने हुन्छ तर, समयमा नबनाइदिँदा वर्षौँदेखि विद्युत् खेर गइरहेको छ, प्राधिकरण न प्रसारण लाइन बनाउँछ, न क्षतिपूर्ति नै दिन्छ

नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइन नबनाइदिँदा साना तथा मझौला जलविद्युत् उत्पादकले उत्पादन गरेको करिब २५ मेगावाट विद्युत् खेर गइरहेको छ । कतिपय आयोजनाका प्रसारण लाइन नै नजोडिँदा र कतिपयमा भएका प्रसारण लाइनको क्षमता न्यून हुँदा निजी ऊर्जा उत्पादकले वार्षिक ३६ करोड रुपैयाँसम्म क्षति व्यहोर्नुपरेको छ ।

उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा वर्षको औसत १ सय २० दिनसम्म विद्युत् खेर फाल्नुपर्दा आयोजनाहरू आर्थिक रूपले संकटग्रस्त बन्दै गएका छन् । विशेष गरी भएका प्रसारण लाइनको पनि क्षमतामा वृद्धि नगरेका कारण आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा लोड नधान्ने समस्या रहेको छ । 

देशभर आर्थिक रूपले संकटग्रस्त चरणमा पुगेका करिब ३६ वटा साना जलविद्युत् आयोजनामध्ये १० वटाको विद्युत् खेर गइरहेको विद्युत् प्रवद्र्धकहरूले जानकारी दिएका छन् । त्यस्ता आयोजनाबाट २४ दशमलव ९३ मेगावाट विद्युत् खेर गइरहेको छ ।

यसको मौद्रिक मूल्यमा ३५ करोड ८९ लाख रुपैयाँबराबर हो । यसरी हरेक वर्ष विद्युत् खेर जाने आयोजनाको संख्या वृद्धि हुँदै गइरहेको बाराही जलविद्युत् आयोजनाका कार्यकारी अध्यक्ष सूर्यप्रसाद अधिकारीले बताए । ५ वर्षदेखि सानो अंशमा मात्र विद्युत् खेर जाने गरेको भए पनि पछिल्ला २ वर्षदेखि परिमाण बढ्दै गएको छ ।  

विद्युत् प्राधिकरणसँग गरेको सम्झौताअनुसार आयोजना सम्पन्न हुँदासम्म प्रसारण लाइन निर्माण भइसक्नुपर्ने हुन्छ । उत्पादित विद्युत् खेर नजाने प्रत्याभूति गरिएको हुन्छ । त्यस्तै, आयोजना सम्पन्न हुनुअघि नै प्रसारण लाइन पुगेको ठाउँमा पनि क्षमता वृद्धि गर्ने दायित्व प्राधिकरणले लिएको हुन्छ ।

तर, आयोजना सम्पन्न भएको लामो समय हुँदासम्म पनि प्रसारण लाइनमा बिजुली जोड्न नपाउँदा विद्युत् खेर गइरहेको सिप्रिङ खोला जलविद्युत् आयोजनाका प्रवद्र्धक विष्णुराज अधिकारीले बताए । ‘प्राधिकरणले प्रसारण लाइन नबनाएका कारण विद्युत् खेर गयो भने त्यसको क्षतिपूर्ति दिनुपर्ने हो, तर ऊ न समयमा लाइन बनाउँछ, न क्षतिपूर्ति नै दिन्छ,’ अधिकारीले बताए ।  

हरेक बर्खा सिजनको ४ महिना (१५ जेठदेखि १५ असोजसम्म) विद्युत् पूर्ण क्षमतामा उत्पादन हुने गरेको, तर प्रसारण लाइनको अभावमा खेर फाल्नुपरिरहेको उनीहरूको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको ‘निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन’ पनि साना तथा मझौला जलविद्युत् आयोजना आर्थिक रूपले संकटग्रस्त हुनुमा एउटा कारण विद्युत् खेर जानुलाई ठहर्‍याएको छ । 

सिनर्जी पावर डेभलपमेन्टले ३ माघ २०६९ देखि व्यापारिक उत्पादन सुरु गरेको (सञ्चालनमा आएको) ९ दशमलव ९६ मेगावाट क्षमताको सिप्रिङ जलविद्युत् आयोजनाको उत्पादन क्षमताबराबर अझै प्रयोगमा आएको छैन ।

खानी खोला हाइड्रोपावरले निर्माण गरी ९ कात्तिक २०७३ देखि व्यापारिक उत्पादन थालिएको ४ दशमलव ३६ मेगावाट क्षमताका तुङ्गुन ठोस्ने खोला जलविद्युत् आयोजना र २० मंसिर २०७३ देखि व्यापारिक उत्पादन सुरु गरेको २ मेगावाट क्षमताको खानी खोला जलविद्युत् आयोजनाको हालत पनि उही छ । ती आयोजनाहरूबाट ३० देखि ७० प्रतिशत मात्र विद्युत् उत्पादन भइरहेको छ । त्यसको कारण आयोजनाको वित्तीय अवस्था नाजुक हुन पुगेको समितिको ठहर छ । 

त्यस्तै, १३ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनाको ६ दशमलव ८ मेगावाट विद्युत् खेर गइरहेको आयोजनाका अध्यक्ष भरत खड्काले बताए । ‘पछिल्ला ३ वर्षदेखि विद्युत् खेर गइरहेको छ, प्रसारण लाइन नहुँदा विद्युत् उपयोग भएको छैन भने आयोजनाले बैंकको किस्ता तिर्न पनि कठिन भइरहेको छ,’ उनले भने ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिले त्यस्ता प्रसारण लाइन नभएका कारण संकटग्रस्त भएका आयोजनालाई प्राथमिकता दिई प्रसारण लाइन निर्माण गर्न सुझाब दिएको छ । त्यस्तै, प्रसारण लाइन बनिनसकेको अवस्थामा प्राविधिक रूपले सम्भव भएसम्मका वैकल्पिक उपायहरू पहिचान गरी आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्ने व्यवस्था गर्न विद्युत् प्राधिकरणलाई पत्र पठाएको छ । तर, त्यसको पर्याप्त सुनुवाइ नभएको विद्युत् प्रवद्र्धकहरूले बताएका छन् । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने साना तथा मझौला जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जान नदिन प्रसारण आयोजना चाडो सक्नेतर्फ काम भइरहेको बताए । ‘पछिल्लो समय कोभिडका कारण पनि केही आयोजना भने ढिलाइ भएका छन्,’ उनले भने । नदी प्रवाही आयोजनाहरूमा हिउँदमा कुनै समस्या नरहेको, तर बर्खायाममा पूर्ण क्षमतामा सञ्चालन हुँदा समस्या आउने गरेको विषयमा भने प्राधिकरण जानकार रहेको बताए । 

यति मात्र होइन, निजी विद्युत् उत्पादकहरू निर्माणाधीन आफ्नो आयोजना प्रसारण लाइनको अभावले खेर जाला भन्ने चिन्तामा छन् । विशेष गरी आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन चरणमा पुगेका आयोजनामा प्रसारण लाइन टाउको दुखाइ बनेको छ । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाइएला भन्ने उनीहरूको चिन्ता छ । प्राधिकरणले भने जलविद्युत् आयोजना र प्रसारण लाइनको निर्माण समानान्तर रूपमा विकास गरिरहेको दाबी गरेको छ । ‘केही आयोजना पछिल्लो समयमा सम्पन्न पनि भइरहेका छन्,’ प्रवक्ता तिम्सिनाले भने । 

अहिलेसम्म मुख्य गरी प्रसारण लाइनको समस्या मझौला र साना आयोजनामा धेरै देखिन्छ । त्यसमा पनि ११–३३ केभी प्रसारण लाइनमा यो समस्या छ । साना जलविद्युत् आयोजनाको विद्युत्का लागि प्रयोग हुने यस्ता प्रसारण लाइन धेरैअघि कुनै एउटा आयोजनाको विद्युत् लैजानका लागि तयार गरिएका हुन् । तर, सो स्थानमा अहिले अन्य आयोजना पनि बनेपछि पुरानै क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्थामा आइपुगेको हो । विद्युत् प्राधिकरणले लामो समयदेखि न्यून क्षमताका प्रसारण लाइनको क्षमता वृद्धि गर्ने बताएपछि अझै अपेक्षित प्रगति नदेखिएको निजी विद्युत् पर्वद्धकहरूको भनाइ छ ।