मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ कार्तिक २१ शुक्रबार ०५:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइसियू नपाएर आफ्नै  कर्मचारीको मृत्यु भएको विषयमा शिक्षण अस्पतालले छानबिन गर्ने 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २१ शुक्रबार ०५:११:००

दिवंगत इटनीको सम्मानमा एक वार्डको नामकरण गरिने

आइसियू बेड नपाएर आफ्नै लेखा अधिकृत राजाराम इटनीको मृत्यु भएको सम्बन्धमा त्रिवि शिक्षण अस्पतालले छानबिन गर्ने भएको छ । इटनीको सम्झनामा कुनै एक वार्डको नामकरण गरी उनको तस्बिरसमेत राखिने भएको छ ।

दुई आइसियू बेड खाली हुँदाहुँदै पनि आफ्नै कर्मचारी इटनीलाई भर्ना नगरेको विषयमा समाचार सार्वजनिक भएपछि बिहीबार अस्पताल प्रशासनले छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको हो । अस्पताल र इटनी पक्षबीच भएको वार्तामा तीनबुँदे लिखित सहमति भएको छ । 

मृतक इटनीका दाइ राजेन्द्रका अनुसार घटनाको छानबिन गरी लापरबाही गर्नेमाथि कारबाही गर्न समिति गठन गर्ने सहमति भएको छ । त्यस्तै, अस्पतालका कार्यकारी निर्देशक डा. दिनेशकुमार काफ्लेले जारी गरेको विज्ञप्तिमा इटनीको सम्झना र सम्मानमा अस्पतालको कुनै एक वार्डको नामकरण गर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उल्लेख छ । दुई पक्षबीच भएको वार्तामा अस्पताल प्रशासन, शिक्षण अस्पताल कर्मचारी इकाइ र पीडित इटनीको परिवारका सदस्य सहभागी थिए ।

शरीरमा अक्सिजनको मात्रा कम भएर अचेत भएका इटलीलाई सोमबार राति १२ बजेतिर परिवारका सदस्यले शिक्षण अस्पतालको इमर्जेन्सीमा पुर्‍याएका थिए । भेन्टिलेटरसहितको आइसियू चाहिने चिकित्सकहरूले बताएका थिए । तर, शिक्षण अस्पतालमा आइसियू खाली नभएको जानकारी परिवारलाई दिइएको थियो । जब कि स्वास्थ्य मन्त्रालयले त्यही दिन गरेको अनुगमनमा दुई भेन्टिलेटरसहितका आइसियू बेड र १२ अन्य सामान्य बेड खाली रहेको पाइएको थियो । 

बिहान साढे ४ बजे चुनिखेलस्थित करुणा अस्पताल पुर्‍याइएका इटनीको बिहान साढे ६ बजेतिर निधन भएको थियो । चिकित्सकहरूले ल्याउन धेरै ढिला भएको बताएका थिए । शिक्षण अस्पतालमा समयमै आइसियूमा भर्ना गर्न सकेको भए इटनीको ज्यान बच्न सक्थ्यो । 

यसैबीच, शिक्षण अस्पताल प्रशासनले समाचारमा आएजस्तो इटनीको उपचारमा लापरबाही नगरिएको दाबी गरेको छ । ‘हामी एउटै संस्थामा रहेर काम गर्ने कर्मचारी भएकाले उहाँ (इटनी)को उपचारमा लापरबाही गर्ने कुरै हुँदैन । तर, समयमा अस्पताल पुग्न सक्नुभएन, धेरै ढिला भए पनि बचाउन हरप्रयास चिकित्सकले गरेका हुन् । उहाँको आफन्त पनि चिकित्सक भएकाले सल्लाहमा अर्को अस्पताल लैजानुभएको हो,’ अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले भने, ‘तर, समयमा जानकारी पाएको भए कसैगरी बेड व्यवस्थापन गरी बचाउन सकिन्थ्यो कि भन्नेचाहिँ भयो ।’

यो पनि पढ्नुहोस् : साधारण बेड र आइसियूसमेत खाली, तर शिक्षणका लेखा अधिकृतले आफ्नै अस्पतालमा भर्ना नपाउँदा मृत्यु