मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २० बिहीबार १४:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जंगी अड्डामा नेपाल र भारतका प्रधानसेनापतिबीच औपचारिक वार्ता

नेपाली सेनालाई फिल्ड अस्पतालका सामग्री र भारतीय सेनालाई एक लाख मास्क हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २० बिहीबार १४:०७:००

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले दुई सेनाबीच घनिष्ठ सम्बन्ध रहँदै आएको भन्दै नेपालसँग द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बताएका छन् ।

नेपाल भ्रमणको दोस्रो दिन बिहीबार जंगी अड्डामा नेपाली समकक्षी पूर्णचन्द्र थापासँगको भेटमा सेनाध्यक्ष नरभणेले विगतका सम्झौताअनुसार नेपाली सेनालाई हतियारसहितका सैनिक सामग्री आपूर्तिमा थप सहजीकरण गर्नेसमेत वचन दिएका छन् । 

सेनाध्यक्ष नरभणेले दुईवटा फिल्ड अस्पतालका लागि आवश्यक एक्सरे मेसिनसहितका सामग्री पनि समकक्षी थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा बनेको एक लाख थान मेडिकल मास्क तथा शान्तिका प्रतीक भगवान् गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरेको जंगी अड्डाले जनाएको छ । 

फिल्ड अस्पतालका लागि सामग्री हस्तान्तरण गरेलगत्तै प्रधानसेनापति थापा र सेनाध्यक्ष नरभणबीच जंगी अड्डामा द्विपक्षीय भेटवार्ता भएको थियो । दुई प्रधानसेनापतिबीच एकान्त वार्ता, प्रतिनिधिसहित शिष्टाचार वार्ता तथा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज)सहितको भेटवार्ता भएको थियो । 

भेटवार्तामा सेनाका उच्च अधिकारीहरूले नेपाल भारत सैनिक सामग्री आपूर्तिका विषयमा प्रस्तुतीकरण गरेका थिए । नेपाली सैनिक अधिकारीहरूले दुई सेना तथा दुई देशबीचको सम्बन्धबारे प्रस्तुतीकरण गरेका थिए । 

नेपाल र भारतबीच परराष्ट्र मन्त्रालयका सहसचिवले नेतृत्व गर्ने रक्षासम्बन्धी द्विपक्षीय परामर्श समितिको यसअघिको बैठकमा भएका सहमतिअनुसार भारतबाट आउन बाँकी सैनिक सामग्री सुचारु गर्न नेपाली अधिकारीहरूले आग्रह गरेका छन् । 

नेपाली सेनालाई भारतले ६० प्रतिशत अनुदानमा हतियार तथा सैनिक सामग्री दिँदै आएको छ । यो ढाँचाअन्तर्गतका सैनिक सामग्रीको आपूर्ति थप सहज बनाउने आश्वासन सेनाध्यक्ष नरभणेले दिएको सैनिक स्रोतले जनाएको छ ।

भेटबारे काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भयो ।’ 

भारत सरकारको तर्फबाट सेनाध्यक्ष नरभणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसियू भेन्टिलेटर, भिडियो इन्डाेस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरे । 

कोभिड–१९ महामारी विरुद्धको लडाइँमा सघाउ पुर्‍याउन सेनाध्यक्ष नरभणेले थप भेन्टिलेटर पनि उपहारस्वरूप प्रदान गरेका छन् । भारतीय सेनाले गत साउनमा पनि नेपाली सेनालाई भेन्टिलेटर प्रदान गरेको थियो । 

बुधबार आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष नरभणेले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (सहिद स्मारक) माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि जंगीअड्डा पुगेका उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरेको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय टोलीसहित आएका सेनाध्यक्ष नरभणेले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित हुने कार्यक्रम छ । उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । 

भारतीय सेनाध्यक्ष नरभणे नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बुधबार आएका हुन् । उनलाई  बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । 

सेनाध्यक्ष नरभणेले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा शुक्रबारै सैनिक अधिकारीहरूलाई सम्बोधन पनि गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष नरभणे शुक्रबार नै दिल्ली फर्किनेछन् ।