१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले चार्टर उडानको भाडा २० प्रतिशतसम्म घटाउने

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २० बिहीबार ०९:२८:००

नेपाल वायुसेवा निगमले चार्टर उडानको भाडा घटाउने भएको छ । निगम व्यवस्थापनले तेलको मूल्य घटेको भन्दै १५ देखि २० प्रतिशतसम्म चार्टर उडानको भाडा घाटाउने भएको हो । निगम ग्राहक सेवा विभागका प्रमुख जनकराज कालाखेतीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले वर्षौँपछि चार्टर उडानको भाडा कटौती गर्ने गरी अध्ययन प्रतिवेदन बुझाएको हो । 

कार्यदलका सबै विभागका प्रमुखहरू सहभागी थिए । निगमले एयरबस ३३०, एयरबस ३२० र ट्विनअटर जहाजको चार्टर उडानको भाडा घटाउन लागेको हो । नियमिततर्फको भाडा भने प्रत्येक दिनजसो कमर्सियल विभागले बढाउने र घटाउने गरे तापनि चार्टरतर्फ भने लामो समयसम्म एउटै भाडादर कायम गरिएको थियो । 
कार्यदलले एयरबस ३३० जहाजका लागि प्रतिघन्टा १५ हजार ५ सय डलरमा उडान गर्ने गरी प्रतिवेदन बुझाएको छ ।

हाल १८ हजार ५ सय डलर प्रतिघन्टा शुल्क लाग्ने गरेको छ । त्यसैगरी, ३२० जहाजका लागि पनि प्रतिघन्टा ७ हजार ५ सय डलर बनाउने प्रस्ताव गरिएको छ । हाल ३२० जहाजको प्रतिघन्टा ८ हजार ५ सय डलर रहेको छ । यता अन्तरिक उडान भर्ने ट्विनअटर जहाजका लागि १७ सय डलरबाट घटाएर १३ सय डलरमा ल्याउने गरी प्रतिवेदन बुझाइएको छ । अन्तर्राष्ट्रिय र नेपाल आयल निगमले पनि हवाई इन्धनको मूल्य घटाइरहेकाले चार्टर उडानको भाडा अध्ययन गर्न कार्यदल बनाइएकाले सोहीअनुसार प्रतिवेदन आएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । हाल हवाई इन्धन १ हजार लिटरको ९ सय ५० डलर रहेको छ । विगतमा ११ सय ५० डलर रहेको थियो । 

निगमसँग २ सय ७४ सिट क्षमताको एयरबस ३३० दुई थान जहाज छन् । त्यसैगरी, १ सय ५६ सिट क्षमताका ३२० सिरिजका दुई थान जहाज रहेका छन् । यता चिनियाँ ६ थान जहाज ग्राउन्डेड रहेकाले आन्तरिकतर्फ १९ सिट क्षमताका २ थान ट्विनअटर जहाज रहेका छन् । निगमले अन्तर्राष्ट्रियतर्फ ९ वटा गन्तव्यमा नियमित उडान गरिरहेको छ भने चार्टरतर्फ युरोपसहित अस्ट्रेलिया, चीनलगायत देशमा चार्टर उडान गर्दै आएको छ ।

 ‘ल्याबहरूको नक्कली पिसिआर रिपोर्टले देशकै बेइज्जत भयो’
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्वास्थ्य परीक्षण गरी आफ्नो जहाजमार्फत उडान भरेका यात्रुलाई विदेशी विमानस्थलमा प्रतिबन्ध लगाइँदा आफ्नो मात्र नभई देशकै बेइज्जत भएको जनाएको छ । 

निगमले विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त ल्याबबाट परीक्षण गरिएको परीक्षण गलत देखिनुले निगमको प्रतिष्ठामा नोक्सानी पुग्नुका साथै देशकै प्रतिष्ठा गुमेको ठहर गरेको हो । 

नेपालमा कोरोना परीक्षण गरेको प्रमाणपत्रसहित निगमको जहाजमार्फत हङकङ, दुबई, जापानको नारितालगायतका गन्तव्यमा पुगेका यात्रुहरूको पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती गन्तव्यमा निगमका जहाज उडान गर्न नै रोक लगाइएको छ । यस्तो अवस्थाले देशकै स्वास्थ्य प्रयोगशालाहरूको विश्वसनीयतामा नै प्रश्न खडा गरिदिएको समेत जनाएको छ ।

निगमले नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य प्रयोगशालाहरूलाई सजगता अपनाउन पनि आग्रह गरेको छ । निगमले उडान गरी पुगेको विदेशका सम्बन्धित गन्तव्यमा पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले नै लिनुपर्नेसमेत जनाएको छ ।