मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २० बिहीबार ०३:३६:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा विवाद : प्रधानमन्त्री राजनीतिक र मनोवैज्ञानिक दबाबमा

Read Time : > 6 मिनेट
२०७७ कार्तिक २० बिहीबार ०३:३६:००

म राजीनामा दिनेवाला छैन : ओली

नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चर्किरहेका वेला प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट हटाउने खेल भइरहेको प्रस्ट संकेत दिएका छन् । यद्यपि, पार्टीभित्र आफूमाथि दबाब हुँदा वा अल्पमतको सामना गर्नुपर्ने अवस्था आउँदा विगतमा पनि प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल भएको बताउँदै आएका थिए । 

चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका छन् । राजनीतिक कार्यक्रम नभए पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र औपचारिक रूपमा नउठेको मुद्दा अगाडि सारेर आफू राजनीतिक र मनोवैज्ञानिक दबाबमा रहेको पनि संकेत गरेका छन् । नेकपामा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँ हुँदा ओली सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा अल्पमतमा छन् । 

‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? मेरा लागि होइन देशका लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ चिकित्सकहरूलाई प्रश्न गरेर पार्टीभित्रैबाट हटाउने खेल भइरहेको इंगित गर्दै उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन, रिपिटेड्ली (दोहो¥याएर) भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ दबाब हुँदा प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध घेराबन्दी भएको बताउँदै आएका छन् । 

आफूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै ओलीले धेरैपटक अस्थिरताको कोसिस भए पनि सफल नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको र सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गरे । 

‘म जनताको समर्थन र आवश्यकताले यहाँ आएको हो । जालझेल र तिकडमबाट होइन, व्यापक जनसमर्थनमा यहाँ पुगेको हुँ । त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस्,’ ओलीले भने, ‘यो सरकार यस्तो हुन्छ कि, उस्तो हुन्छ कि, बदलिन्छ कि, धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे, भित्र–बाहिर अनेकथरीका कोसिसहरू आए । जेमा पनि आलोचना गर्ने... जेमा पनि...। त्यसप्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित रहनुहुन्न ।’

एकाथरी मान्छे सधैँ अस्थिरताका लागि लागिरहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल नहुने पनि प्रस्ट्याए । ‘एकथरीको अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने एडिक्टजस्तो आदत छ, तर त्यस्ता एडिक्सनलाई रोकेर देशको स्थिरताका लागि काम गर्छौँ । स्थिरता र विकासका लागि लड्छौँ, कोभिडसँगको लडाइँसँग पनि जित्छौँ । गरिबीसँगको लडाइँ पनि जितेर समृद्धितर्फ अगाडि बढ्छौँ । विकृति, विसंगति र भ्रष्टाचारलाई पनि पराजित गरेर अगाडि बढ्छौँ,’ उनले भने । तर, ती व्यक्तिबारे उनले किटान गरेनन् । 

नेकपामा २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले गरेको दुई अध्यक्षको कार्यविभाजनमा ‘ओली प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने’ उल्लेख छ । तर, यसको कार्यान्वयनमा जटिलता देखिएपछि नेकपामा ठूलो शक्ति–संघर्ष सुरु भएको छ । र, यही वेला प्रधानमन्त्री ओलीले आफूमाथि दबाब बनाउने काम भएको बताएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति अस्थिरता चाहनेहरूतर्फ इंगित भएको बताए । ‘उहाँले चिकित्सकहरूलाई अहिलेको अवस्थामा के उचित हुन्छ भनेर प्रश्न गर्नुभएको हो । किनभने प्रधानमन्त्रीलाई कामै गर्न नदिने, हटाउन खोज्ने प्रवृत्ति छँदै छ,’ थापाले भने, ‘त्यसैले प्रधानमन्त्रीले अस्थिरता मच्चाउन खोज्ने, अस्थिरतालाई मलजल गर्ने, स्थायित्वविरोधी प्रवृत्तिलाई इंगित गर्नुभएको हो ।’ 

पार्टीभित्रका पछिल्ला समस्यामाथि छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली तयार नभए अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमतको बेग्लै बैठक बोलाउने रणनीति बनाइरहेका वेला आएको उनको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक रूपले अर्थपूर्ण मानिएको छ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरेर अन्य प्रदेशहरूमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने विषयमा प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल अगाडि बढाएका कारण प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको बालुवाटार स्रोतको दाबी छ । 

तर, प्रचण्ड–नेपाल समूहका एक सचिवालय सदस्यले भने त्यस्तो तयारी अस्वीकार गरे । ‘पार्टी निर्णय बारम्बार कार्यान्वयन नभएका कारण हाम्रो अहिलेको प्रयास बैठक बोलाउनमै केन्द्रित छ,’ ती नेताले भने, ‘त्यसकारण प्रधानमन्त्री कुन सन्दर्भमा कहाँ के बोल्नुहुन्छ ? के गर्नुहुन्छ ती सबै कुराको प्रतिक्रिया जनाउनुको कुनै अर्थ छैन, किनभने उहाँले पार्टीलाई घुक्र्याउने, धम्क्याउनेजस्ता काम बारम्बार गर्दै आउनुभएको छ ।’ 

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने व्यक्तिका रूपमा प्रधानमन्त्रीले चित्रण गर्न खोजेको बताए । ‘अहिले प्रधानमन्त्री एक्सन लिने अरू नेता रियाक्सन दिने अवस्थामा देखिन्छन् । उहाँको क्रियामा अरूको प्रतिक्रिया आउने स्थिति देखिन्छ । उहाँले आकलन गर्नुभएको होला, राजीनामाको कुरा उठ्न सक्छ भनेर । आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने भन्ने अर्थमा उहाँले देखाउन खोजेको होला,’ उनले भने । 

यसअघि पार्टीभित्र विवाद चर्किरहेका वेला गत १४ असारमा प्रधानमन्त्रीनिवास बालुवाटारमा मदनजयन्तीका अवसरमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पनि नेपालको नक्सा प्रकाशन गरेबापत आफूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गरेका थिए । आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र नै परिचालित भएको र भारतीय दूतावाससमेत त्यसमा सक्रिय रहेको ओलीको भनाइ थियो ।

‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । तपाईंहरूले सुन्नुभएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधुप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटेलहरूमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’ 

गत असारको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामाको प्रसंग उठेको थियो । ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद तुरुन्त छोड्नुपर्ने असन्तुष्टहरूको माग थियो । १० असारमा नेकपाको स्थायी कमिटीको बैठकमा ओलीले सरकारले पार्टीको नीति, योजना र चुनावी घोषणापत्रअनुसार राष्ट्रिय हित र जनताको पक्षमा काम गर्दा पनि पार्टी नेतृत्व र विभिन्न तहका नेताहरूले नै प्रतिरक्षा नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । 

र, यहाँ उनले पार्टीभित्रका असन्तुष्टतर्फ निसाना लगाउँदै भनेका थिए, ‘मैले प्रतिरोधी क्षमता बलियो बनाउने सन्दर्भमा हाम्रा पूर्वजहरूले प्रयोग गर्दै आएका औषधीय गुण भएको बेसारपानी खाँदा उपयुक्त हुन्छ भनेको थिएँ, तर यहाँ त त्यही बेसारका नाममा मान्छेहरू सडकमा राजीनामा माग्दै निस्किएका छन्, के अब बेसारकै नाममा राजीनामा दिने ?’ 

त्यसअघि प्रधानमन्त्री ओलीले गत वैशाखमा पनि राजीनामा नदिने बताएका थिए । ‘मविरुद्ध षड्यन्त्र भइरहेको छ भन्नेमा म स्पष्ट छु, तर म राजीनामा दिन्नँ । बरु, तपाईंहरू अविश्वास प्रस्ताव ल्याउनुस्, सामना गर्छु । को–कसले मेरोविरुद्ध मतदान गर्छन्, तिनका नाम पनि छातीमा राख्छु । तर, अन्तिम घडीसम्म डटिरहन्छु,’ दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रचण्ड, नेपाल र वामदेव गौतमसँगको छलफलमा १३ वैशाखमा ओलीले भनेका थिए । 

त्यसवेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका थिए । ‘तपाईंले राजीनामा दिएपछि पार्टीले विधिसम्मत निर्णय गर्छ । तर, सरकारलाई असफल र पार्टीलाई बदनाम बनाएर तपाईं बसिरहन मिल्दैन । अब हामीलाई धेरै नधम्क्याउनुस्, बरु प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर बालकोट जानुस्, आराम गरेर बस्नुस् । तपाईं लामो समयदेखिको साथी हो, तपाईंकै भलाइकै लागि राम्रो सुझाब दिएको हुँ,’ गौतमले भनेका थिए । 

त्यसभन्दा अगाडि १४ फागुनमा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभत्र आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै अन्तिमसम्म लड्ने बताएका थिए । गौतमलाई राष्ट्रिय सभामा लैजान सचिवालयले निर्णय गर्न लागेपछि उनले भनेका थिए, ‘पहिला राष्ट्रिय सभामा जानुस् भन्दा संविधान संशोधन गरेर मात्रै जान्छु भन्नुभयो, अड्डी कस्नुभयो । संविधान संशोधनका लागि कार्यदल बनायौँ । आज संविधान संशोधन नभए पनि म राष्ट्रिय सभा जान्छु भन्ने ? के चाला हो ? ‘यी गतिविधि मेराविरुद्ध होइनन् भनेर कसरी विश्वास गर्ने ? कहिले कहाँ, कहिले कहाँ बसेर ममाथि प्रहार गर्ने योजना बनेका छन् । तर, म सबै प्रहारको सामना गर्छु, म तयार छु । जस्तोसुकै परिस्थिति आए पनि मेरोविरुद्धको लडाइँमा म पछाडि हट्दिनँ ।’ 

प्रधानमन्त्री ओलीले एकको बदला दश कदम अगाडि बढ्ने चेतावनी दिएपछि आइतबार नेकपाका अर्का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक कदम पछाडि हटेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीनिकट दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी गरिरहेकै वेला प्रधानमन्त्री ओलीले जवाफी कदम चाल्ने चेतावनी दिएपछि प्रचण्ड–नेपाल एक कदम पछि हटेका थिए । महासचिव विष्णु पौडेलले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत नेकपाको एकता संकटमा परेको सार्वजनिक गरेका थिए । 

२६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन गर्ने, विधि र मापदण्डका आधारमा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताको काम असोजभित्र सम्पन्न गर्ने, महाधिवेशनको तयारी अगाडि बढाउनेलगायत निर्णय गरे पनि कार्यान्वयनका विषयमा ओली–प्रचण्डबीच विवाद सुरु भएको थियो । असोज अन्तिम साताबाट कर्णाली प्रदेशमा ओली पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राखेपछि चुलिएको विवाद समाधानबारे समझदारी भए पनि ४ कात्तिकमा दुवै अध्यक्षका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएपछि विवाद चर्किएको थियो । 

......

प्रधानमन्त्रीलाई हटाउन पार्टीले निर्णय गरेर पुग्दैन, संसदीय दलमा बहुमत ल्याएर हटाउनुपर्यो : कृष्ण पोखरेल, राजनीतिक विश्लेषक

प्रधानमन्त्रीले अचानक एक गैरराजनीतिक कार्यक्रममा म राजीनामा दिन्नँ भन्नुभएको छ । उहाँले पार्टीभित्रबाट राजनीतिक दबाब महसुस गर्नुभएको हो कि के हो ? 

राजीनामाको विषय आउन सक्छ भनेर पहिला नै उहाँले आफ्नो अथेन्टिक स्टेटमेन्ट दिनुभएको हो ।

प्रधानमन्त्रीले राजीनामाको प्रसंग जसरी उठाउनुभएको छ, यहीवेला नेकपामा ठूलो विवाद छ । प्रधानमन्त्रीको भनाइले नेकपा विवादलाई के असर गर्छ ?

अहिले प्रधानमन्त्री एक्सन लिने, अरू नेता रियाक्सन दिने अवस्था देखिन्छन् । उहाँको क्रियामा अरूको प्रतिक्रिया आउने स्थिति देखिन्छ । उहाँले आकलन गर्नुभएको होला, राजीनामाको कुरा उठ्न सक्छ भनेर । आफूलाई स्थायित्वको प्रतीक, अरूलाई चाहिँ अस्थायित्वको खेती गर्ने भन्ने अर्थमा उहाँले देखाउन खोजेको होला । विवादको कुरामा त अब विवाद बढ्न के बाँकी छ र ? उहाँले त आफ्नो लाइन क्लियर गरिसक्नुभयो । ‘म पाँच वर्षलाई बस्छु, मलाई चलाउन सक्दैनौँ, तिमीहरूले सक्छौ भने चलाइहेर’ भनेको हो । उहाँले अर्काे अध्यक्षसँग यो प्रस्टै भनिसक्नुभएको छ । उहाँ प्रधानमन्त्री पनि हुनुहुन्छ, पावर उहाँसँगै छ । पहलकदमी लिने ठाउँमा उहाँ हुनुहुन्छ । एक्सन लिने ठाउँमा उहाँ हुनुहुन्छ । अरूको त रियाक्सन मात्रै हो ।

बैठक बसेर अर्को पक्षले बहुमतले निर्णय गर्ने, जुन प्रधानमन्त्रीले संकेत पनि गर्नुभएको छ, यदि निर्णय हुने र प्रधानमन्त्रीले राजीनामा नदिने अवस्था भयो भने के हुन्छ ?

पार्टीमा निर्णय गर्ने भनेको पार्टीको निर्णयलाई मान्नु भन्ने हो । राजीनामा गर भन्ने कुरा पार्टीले निर्णय गरेर संविधानले मान्दैन । कि त पार्टीले कारबाही नै गर्नुपर्‍यो । पार्टीको साधारण सदस्यबाटै हटाउने आँट गर्नुपर्‍यो । नभए संसदीय दलमा बहुमत ल्याएर फ्याँक्नुपर्‍यो । पार्टीले गर्न सक्ने संसदीय दलको माध्यमबाट हो । प्रधानमन्त्रीका लागि औपचारिक रूपमा निर्णय गरेको त संसदीय दलले हो । संविधानअनुसार त संसदीय दलको बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्रीलाई हटाउने हो भने पार्टीले निर्णय गरेर मात्रै पुगेन । संसदीय दलमा पनि बहुमत ल्याएर हटाउनुपर्‍यो । म नै पार्टी हुँ, म नै सरकार हुँ, मैले जे पनि गर्न सक्छु, अरूले मलाई चलाउन सक्दैनन् भन्ने खालको उहाँको अभिव्यक्ति हो यो त ।

अब नेकपामा विवाद व्यवस्थापनको विकल्प के होला ?

व्यवस्थापन भनेको उहाँलाई छाडिदिने । अहिले हेर्दा त त्यही देखियो । उहाँलाई उहाँको इच्छाअनुसार काम गर्न छाडिदिने । पार्टीले कि त महाधिवेशनको तयारी गर्नुपर्‍यो । उहाँसँग सम्बन्धित विषयमा पार्टीले निर्णय गर्‍यो भने पो उहाँ रिसाउने हो । उहाँले नमान्ने भनेको त उहाँको हितविपरीत जाँदा हो । उहाँको सरकार सञ्चालन गर्ने काम छ त्यसमा हस्तक्षेप नगरीकन अरू काम गरेर जानुपर्ने भयो पार्टीले । उहाँलाई छाडिदिने । कि त पार्टीमा मात्रै होइन, संसदीय दलमा समेत बहुमत ल्याएर उहाँलाई अपदस्थ गर्नुपर्‍यो, कि उहाँसँग कम्प्रोमाइज गरेर जानुपर्‍यो ।