स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु
रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहा बुद्धनगरबाट स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको छ । प्रदेशका ५२ वटा गाउँमा लागू हुने सो कार्यक्रम प्रदेश–५ सरकारले देवदहबाट सुरु गरेको हो । प्रदेश सांसदहरूको सिफारिस भएका गाउँहरू प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्ययन गरी छनोट गरेपछि कार्यक्रम सुरु गरिएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार कार्यक्रमको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पोखरेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलसहित प्रदेश सांसद लगायतको सहभागितामा कार्यक्रम सुरु गरिएको थियो ।
मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले १२ जिल्लामा ५२ वटा गाउँ छनोट गरेर आधुनिक तरिकाले कृषि गरी ती गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने कार्यक्रमअन्तर्गत गाउँ छनोट गरी कार्यक्रम सुरु गरिएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार चारवर्षे सो कार्यक्रमका लागि आगामी वर्षमा बजेट कम गर्दै लगिने छ ।
एक गाउँलाई ५० लाख
यस वर्ष एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउँका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्ट्याएको छ । छनोट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरूले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने व्यवस्था छ ।
कृषिमा नयाँ पुस्ता जोड्न ‘स्मार्ट कृषि’ कार्यक्रम : मुख्यमन्त्री पोखरेल
मुख्यमन्त्री शंकर पोखरेलले नयाँ पुस्तालाई कृषिमा जोड्न ‘स्मार्ट कृषि’ गाउँ कार्यक्रम सुरु गरेको बताए । मरुभूमिमा गएर पसिना बगाउँदै श्रम बेचिरहेका युवाहरूका लागि नेपालमै आर्कषण गर्न सकिएमा उनीहरूलाई रोजगारीसँगै मुलुकको उन्नतिमा योगदान पुग्ने उनले बताए । उनले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रणालीमा परिणत गर्न जरुरी रहेकाले प्रदेश सरकारले अगाडि सारेको यस कार्यक्रमले किसानको जीवनमा परिवर्तन ल्याउने बताए ।