१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १९ बुधबार १२:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरभणे

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १९ बुधबार १२:४६:००

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलसहित भारतीय वायु सेनाको विशेष विमानबाट उनी केही बेरअघि नेपाल आइपुगेका हुन् ।

सेनाध्यक्ष नरभणेलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीहरूले स्वागत गरे । 

उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले यो भ्रमण नियमित तथा परम्पराको निरन्तरता रहेको बताए।

प्रवक्ता पौडेलका अनुसार बिहीबार प्रधानसेनापतिसँग हुने द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायतका सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षले बिहीबार राष्ट्रपति भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गर्नेछन् । त्यस्तै उनले समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय तथा एकान्त वार्ता गर्ने कार्यक्रम छ ।  

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिँदै सेनाध्यक्ष नरभणेले नेपाल भ्रमण गर्न लागेकोमा आफू खुसी रहेको भन्दै समकक्षी प्रधानसेनापति थापासहित सबैमा आभार व्यक्त गरेका छन् ।

‘नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि म ज्यादै खुसी छु,’ सेनाध्यक्ष नरभणेले भनेका छन्, ‘दुई सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न मेरो भ्रमणले लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’ 

नरभणेको थप भनाइ छ, ‘नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि म आभारी छु । नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीपदबाट विभूषित हुने विषय मेरो लागि ठूलो सम्मान हो ।’ 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष नरभणेलाई बिहीवबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । 

सोही दिन राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । 

त्यसक्रममा उनले नेपाली सेनालाई दुईवटा फिल्ड अस्पतालसहितको एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम छ । 

भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघका अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापा पत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेपछि अपराह्न उनी स्वदेश फर्किने कार्यक्रम छ ।