१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दिलबहादुर चौधरी कैलाली
२०७७ कार्तिक १९ बुधबार ०६:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि सहकारीले सरकारले तोकेभन्दा महँगोमा धान किन्दै

Read Time : > 1 मिनेट
दिलबहादुर चौधरी कैलाली
२०७७ कार्तिक १९ बुधबार ०६:५२:००

सरकारले समयमा धान खरिद नगरिदिँदा अप्ठ्यारोमा परेका किसानको धान कृषि सहकारीले महँगोमा खरिद सुरु गरेको छ । टीकापुरको बिउ उत्पादक कृषि सहकारीले समर्थन मूल्यमा १५ प्रतिशत मूल्य थपेर धान खरिद गर्न सुरु गरेको हो । सरकारले गत असार २ गते धान खरिदको समर्थन मूल्य निर्धारण गरे पनि सरकारी काँटा नलगाउँदा किसानले सस्तो मूल्यमा व्यापारीकहाँ धान बेन्च थालेका वेला सहकारीले रकम थप गरी धान खरिद गर्न थालेको हो ।

मन्त्रिपरिषद्को असार २ गतेको बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । तर,  कृषि सहकारीले किसानको बिउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी  धान खरिद गरिरहेको टीकापुरस्थित नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जितबहादुर चौधरीले बताए ।

कृषि सहकारीले किसानलाई बिउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बिउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बिउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बिउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरिवेक्षण, विधि र पद्धतिको प्रयोगबाट उत्पादन भएको बिउलाई मात्र सहकारीले किसानबाट प्रतिक्विन्टल ३ हजार १ सय ४५ मा अर्थात् सरकारको समर्थन मूल्यमा १५ प्रतिशत थप गरी धान खरिद गरिरहेको उनले बताए । 

टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी १२ वटा बिउ उत्पादक कृषि सहकारी र कम्पनी रहेका छन् । उनीहरूले करिब १ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बिउ उत्पादन गर्ने गरेका छन् । अन्य बाली उत्पादनभन्दा बिउको बाली उत्पादनमा धेरै मिहिनेत तथा किसानले ध्यान दिनुपर्ने हुनाले अन्य बालीभन्दा बिउका लागि उत्पादन भएको बाली खरिद गर्ने गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल ३ सय रुपैयाँ थप दिएर किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । 

किसानबाट गरिद गरेको धानको भुक्तानी सरकारले १५ दिनभित्र किसानलाई दिइसकेको हुनुपर्ने व्यवस्था गरेको छ । कृषि सहकारीहरूले उक्त रकम किसानलाई भुक्तानी गरेको प्रमाणका आधारमा उक्त सहकारीले सरकारले दिने अनुदान लिन पाउने व्यवस्था गरेको छ ।

तर, किसानबाट सरकारको समर्थन न्यूनतम मूल्यभन्दा केही धेरै मूल्यमा धान खरिदसँगै तत्काल नगद भुक्तानीसमेत भइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए । बिउ उत्पादक सहकारीले आफूअनुकूल मूल्यमा थपघट गरी दिइरहेकाले धनसिंहपुर सहकारीले बिउ उत्पादक किसानको बिउका लागि उत्पादन गरेको धान प्रतिक्वन्टिल ४ सय रुपैयाँ थप गरी खरिद गरिरहेको साउदको भनाइ छ ।  

खानका लागि गरिने बालीभन्दा बिउका रूपमा उत्पादन गरिने बालीमा खासै भिन्नता हँुदैन । किसानले बाली उत्पादनमा केही सावधानी अपनाउँदा उत्पादनमा फरक नपर्ने भएकाले बिउका रूपमा उत्पादन गरिने बाली लगाई राम्र्रो मूल्यमा बेच्ने किसानको भनाइ छ । त्यसैले बिउ उत्पादनमा सन्तुष्ट रहेको बिउ बाली किसान वीरबहादुर चौधरीले बताए  ।