१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक १९ बुधबार ०६:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना संक्रमणको डरले लाङटाङका होटेल अनिश्चितकालका लागि बन्द

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १९ बुधबार ०६:४५:००

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द गरिएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङका होटेल व्यवसायी समितिको बैठकले लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

समितिको निर्णयअनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा कोरोनाको संक्रमण बढेको र लाङटाङ पनि उच्च जोखिममा रहेको हुँदा सो क्षेत्रका सबै होटेल बन्द गरिएको वडाध्यक्ष सुब्बा लामाले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रिम्छे, लामा होटेल, रिवर साइड, घोडा तबेला, थ्याङ्स्याप, गुम्बाडाँडा, लाङटाङ, मुन्डु र क्यान्जिन गुम्बाका होटेलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । 

अहिले जिल्लामा दैनिकजसो कोरोनाका संक्रमित बढेका छन् । सोमबार मात्रै जिल्ला अस्पतालका ३ जना र अन्य ४ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६ पुगेको छ । स्वास्थ्य कार्यालय रसुवाका अनुसार अहिले जिल्लामा ४८ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ४४ जना होम आइसोलेसनमा र ४ जना आइसोलेसनमा रहेका छन् । 

६ महिनादेखि पर्यटकको आवागमन शून्य रहेको लाङटाङमा पछिल्लो समय पर्यटकको चहलपहल देखिएको थियो । गएको ७ कात्तिकदेखि १५ सम्म लाङटाङमा मात्रै २ सय ३८ जना नेपाली र २८ जना विदेशी पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश बस्नेतले बताए ।

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये लाङटाङ पनि एक हो । त्यसैले पनि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन बढेको थियो । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्नेछन् । त्यसैले पनि लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन् । 

लाङटाङ पुग्ने अधिकांश पर्यटक चेरकोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । ५ हजार मिटर अग्लो चेरकोरीबाट दर्जनाँै हिमाल देखिने भएकाले क्यान्जिन पुगेका अधिकांश पर्यटक त्यस क्षेत्रमा पुग्ने गरेका छन् । असोज–कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम हो । मौसम सफा हुने र धेरै मनोरम दृश्यावलोकन हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।

स्याफ्रुबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटेलमा वास बस्नका लागि पर्यटकहरू पुग्ने गरेका छन् । भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभरसाइड, उडल्यान्ड, घोडा तबेला, थाङ्स्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुन्डु, सिन्दुम हुँदै क्यान्जिन पुग्ने गरेका छन् ।