मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इजलासमा सबैलाई भाइजर र मास्क अनिवार्य, बोल्न माइकको व्यवस्था

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ कार्तिक १८ मंगलबार १७:४२:००

सर्वोच्च अदालतले कोरोना महामारी फैलनबाट रोक्न विभिन्न सुरक्षा उपायसहित बहसमा आउन कानुन व्यवसायीलाई आग्रह गरेको छ । मंगलबार सूचना जारी गर्दै सर्वोच्चले अदालत सञ्चालन हुँदा त्यहाँबाट कोरोना संक्रमण फैलन नदिन सुरक्षासहित सेवा प्रवाह गर्ने जनाएको हो । ‘इजलासमा उपस्थित हुने पक्ष, कानुन व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रूपमा मास्क लगाउने, मास्क नहटाई बहस गर्ने र सम्भव भएसम्म प्लास्टिक भाइजरसमेत लगाउने,’ सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ । 

सर्वोच्चले पहिले जसरी नै सेवा प्रवाहमा संकुचन कायम राखेको छ । बन्दीप्रत्यक्षीकरण, सरकावादी पुनरावेदनको सुनुवाइ, मुद्दा फिर्ता तथा मिलापत्र गरिनेजस्ता सीमित सेवा मात्र दिइने सूचनामा उल्लेख छ । अवस्था हेरी मंसिर २ गतेदेखि सेवा केही सहज बनाइने बताइएको छ । 

बहसका क्रममा पक्ष–विपक्षका एक–एक जना मुख्य कानुन व्यवसायी र उनीहरूका एक–एकजना सहयोगी मात्र इजलासमा उपस्थित हुन पाउनेछन् । बढी कानुन व्यवसायी भए इजालसमा उपस्थित भएकाहरूमार्फत बहस नोट पेस गर्नुपर्नेछ । 

साथै बिहान ९ बज्नुअगाडि नै पेसी स्थगित वा मुद्दाका लागि आवश्यक सबै कागजात सर्वोच्चको इमेलमा समेत पठाउन सकिने सूचनामा उल्लेख छ । बहस भइरहेको मुद्दाबारे मूल भवन वा इजलासबाहिरैबाट सम्बन्धितले जानकारी लिन सक्नेछन् । 

आफ्नो पालो आएको जानकारी गराइएपछि मात्र मुद्दासँग सम्बन्धित व्यक्तिहरूले इजलासमा प्रवेश पाउनेछन् । इजलासमा भिडभाड हुन नदिन यस्तो व्यवस्था मिलाइएको अदालतले बताएको छ । 

‘निश्चित दूरीसहित मास्कसमेतको प्रयोग गरी बहस पैरवी गर्दा आवाज कम हुन सक्ने अवस्थालाई मध्यनजर गरी इजलासमा बहसका लागि राखिएको पोडियममा माइकको व्यवस्था गर्ने,’ उपरजिष्ट्रार देवेन्द्र ढकालद्वारा जारी सूचनामा भनिएको छ ।