मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १८ मंगलबार १४:३४:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

चेन्नई प्ले अफमा नपुग्नुका पाँच कारण

Read Time : > 3 मिनेट
२०७७ कार्तिक १८ मंगलबार १४:३४:००

इन्डियन प्रिमियर लिग (आइपिएल) को करिअरमा महेन्द्रसिंह धोनीले यसपटक नराम्रो झट्का खाएका छन् । 

धोनीले नेतृत्व गरेको चेन्नई सुपर किंग्स पहिलोपटक प्ले अफको दौडबाट बाहिरिएको छ । अंक–तालिकामा सातौँ स्थानमा रहँदै चेन्नईले १३औँ आइपिएलको यात्रा टुंग्याएको छ । 

आइपिएलमा मुम्बई इन्डियन्स (चार) पछि धेरै उपाधि जित्ने चेन्नई हो । चेन्नईले तीनपटक उपाधि हात पारेको छ । साथै पाँचपटक उपविजेता बन्ने चेन्नई मात्र एक्लो टोली हो । 

आइपिएलमा गर्विलो इतिहास बनाएका धोनीको कप्तानीमा चेन्नईले यसपटक १४ मध्ये ६ खेलमा मात्र जित निकाल्न सक्यो । चेन्नईको असफलतामा धोनी र म्यानेजमेन्ट नै बढी जिम्मेवार मानेको छ । योपटक खेलाडी छनोटदेखि पहिलो ११ प्लेइनिङ सेटमा चेन्नईको स–सानो गल्ती नै प्ले अफ दौडबाटै बाहिरिएको विश्लेषकहरूको भनाइ छ । 

चेन्नईले यसपटक युवाभन्दा पाकामाथि नै विश्वास गऱ्याे । अनुभवी खेलाडीलाई बढीजसो प्राथमिकतामा राख्दा फर्ममा रहेका युवा खेलाडी बेन्चमै बस्न बाध्य भए । 

चेन्नईको सफलतामा सारथि रहेका सेन वाट्सन, मुरली विजय, केदार जाधव, धोनी तथा पीयूष चावला यसपटक फ्लोप नै रहे । यसबीच रितुराज गायकवाड तथा साम करणले मौका पाउँदा आफूलाई राम्रो खेलाडीका रूपमा प्रस्तुत गर्न सफल भए । चेन्नई १३औँ आइपिएलबाट बाहिरिनुका पाँच प्रमुख कारण यस्ता छन् । 

१. धोनीको ब्याटिङ अर्डर नमिल्नु
टी–२० फर्म्याटमा धोनी विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिन्छन् । विगतको आइपिएल डाटा केलाउँदा धोनीले अन्तिममा आएर टोलीलाई जिताएका छन् । 

यसपटक धोनीको ब्याटिङ अर्डर पूरै तलमाथि नै भयो । उनले चार विभिन्न स्थानमा रही ब्याटिङ गरे । खेलको परस्थितिअनुसार ब्याटिङ गर्न रुचाउने धोनी स्वयंले आफूलाई फरक स्थानमा खेल्दा समस्या भएको बताएका छन् ।
उनले १४ इनिङ्समा दुई सय रन बनाएका छन् । पाँचौँ नम्बरमा रही उनले ६ पटक ब्याटिङ गरे । यसक्रममा उनले एक सय चार बलमा एक सय २५ रन बटुले । 

चौथो स्थानमा रहँदा उनले तीन इनिङ्सबाट ३१ रन बनाउँदा ३७ बलको सामना गरे । सातौँ नम्बरमा आउँदा धोनीले १९ बलमा २९ रन बनाए । धोनीले एकपटक मात्र छैटैँ स्थानमा ब्याटिङ गर्दै १२ बलमा १५ रन बटुलेका थिए । एकरूपताका साथ धोनीले ब्याटिङ नगर्दा पनि चेन्नई समस्या पऱ्याे। 

२. पाका खेलाडीमाथि विश्वास
चेन्नईले आइपिएलको उद्घाटन खेलमै साबिक विजेता मुम्बई इन्डियन्समाथि जित निकालेको थियो । यससँगै यसपालिको आइपिएलमा चेन्नईको प्रस्तुत दमदार हुने आकलन भयो । तर, पहिलो जितपछि लगातार खेलमा हारको सामना गरेपछि चेन्नईले त्यसलाई संहाल्न सकेन । 

विशेषतः चेन्नई र कप्तान धोनीले पाका खेलाडीमाथि विश्वास गर्नु नै ठूलो गल्ती भएको मानिन्छ । पहिलो खेलमा सानदार जित निकाल्दा सेन वाट्सन, मुरली विजय तथा केदार जाधवले प्रतिस्पर्धा गरेका थिए । धोनीले यी खेलाडीलाई निरन्तर खेलमा मौका दिए । यद्यपि खराब फर्ममा रहँदा पनि वाट्सन, विजय तथा जाधवले मौका पाइनै रहे । 

चेन्नईका २२ मध्ये ११ खेलाडी ३० वर्षका छन् । वाट्सन (३९), धोनी (३९), इमरान ताहिर (४१) फाफ डु प्लेसिस (३६), मुरली विजयी (३६), अम्बाती राइडु (३६), ड्वाने ब्राभो (३७), कर्ण शर्मा (३३) रवीन्द्र जडेजा (३१) र पीयूष चाबला (३१) वर्षका छन् । 

यी भेट्रान खेलाडीमध्ये डु प्लेसिस र राइडुले मात्र राम्रो ब्याटिङ गरे । प्लेसिसले १३ खेलमा चार सय ४९ रन बनाए । राइडुले १२ इनिङ्समा तीन सय ४९ रन जोडे । वाट्सनले ११ खेलमा २ सय ९९ रन, जडेजाले ११ इनिङमा दुई सय ३२ रन तथा गायकवाड ६ खेलमा दुई सय चार रन बटुल्न सफल भए । 

३. म्याच विनर बलरको कमी
चेन्नईको अर्को असफलताको कारण थियो म्याच विनर बलर साथ नहुनु । भारतमा आइपिएल हुने अनुमान लगाउँदै चेन्नईले त्यहीअनुसारको रणनीति बनायो । 

भारतको पिच स्पिनर निमित्त राम्रो मानिन्छ । चेन्नईले सिमरभन्दा स्पिनर पहिलो प्राथमिकतामा राख्यो । युएईमा खेलाइएको सबै मैदानका पिचमा सिमरले बढी फाइदा लिए । पहिलो चरणको चौथो खेलमा जब चेन्नई राजस्थानसँग १६ रनले पराजित भयो, त्यसवेला कप्तान धोनीले आफूहरूले बलिङ विभागमा ठूलो गल्ती गरेको खुलासा गरे । 

उनका अनुसार चेन्नईसँग युएईको पिचअनुसार राम्रो सिमर थिएन । चेन्नईका फास्ट बलर साम करणले सर्वाधिक १६ विकेट लिएका छन् । त्यहीँ नै स्पिनर रवीन्द्र जडेजा र पीयूष चाबलाले ६–६ विकेट हात पारे । 

जडेजाले १४ र चाबलाले सात खेल खेले । यसैगरी ड्वाने ब्राभोले ६ खेलमा ६ विकेट मात्र लिए । अस्ट्रेलियन जोस हेजलउडले तीन खेलमा एक विकेटमात्र लिए । 

४. रैना, हजभजन नहुनु
चेन्नईको सफलतामा तीन खेलाडी महत्वपूर्ण मानिएका छन् । स्पिनर हजरभजन सिंह, बायाँहाते ब्याट्सम्यान सुरेश रैना र अलराउन्ड ब्राभोले चेन्नईलाई उपाधि दिलाउनमा महत्वपूर्ण योगदान दिएका थिए । 

१३औँ सिजन सुरु हुनुअघि नै रैना व्यक्तिगत कारण देखाउँदै घर फर्किए । यद्यपि उनी एकपटक युएई फर्किए । पुनः भारत नै आए । हरभजनले पनि प्रतियोगिताअघि नै आफ्नो नाम फिर्ता लिए । दुवै मुख्य खेलाडी नहुँदा चेन्नईको प्रदर्शन अहिलेसम्मकै खराब रह्यो ।

चेन्नईका लागि रैना नै उत्कृष्ट ब्याट्सम्यानका रूपमा रहेका छन् । उनले एक सय ९३ खेलमा पाँच हजार तीन सय ६८ रन बनाएका छन् । हरभजनले एक सय ६० खेलमा एक सय ५० विकेट लिए । अलराउन्डर ब्राभोको फिटनेसले पनि चेन्नईलाई समस्यामा पाऱ्याे ।

चोटमुक्त भएर मैदानमा फर्कँदा ब्राभोले ६ खेलमा ६ विकेट मात्र लिए । 

५. अन्तिममा खेलाडीमाथि विश्वास
जब चेन्नई प्ले अफ दौडबाट बाहिरियोे । कप्तान धोनीले सिनियरभन्दा युवा खेलाडीमाथि विश्वास गरे ।

यतिवेलासम्म चेन्नई र धोनीका निर्णय ढिलो भइसकेकाे थियाे । युवा ब्याट्सम्यान साम करणलाई दोस्रो चरणमा ओपनिङमा पठाए । 

करणकै प्रदर्शनमा चेन्नईले हैदरावादलाई हरायो । रितुराज गायकवाडले दोस्रो खेलमै आइपिएलमा डेब्यु अवसर पाए । उनले चार खेलमा केवल १३ रन मात्र बनाए । 

दोस्रोपटक उनले मौका पाउँदा लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेले । उनले पछिल्लो तीन खेलमा एक सय ९१ रन बनाएका थिए । 

(एजेन्सीहरूको सहयोगमा)