मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ कार्तिक १८ मंगलबार ०९:४०:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश १ सरकारको रोजगार कार्यक्रम योजनामै सीमित

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ कार्तिक १८ मंगलबार ०९:४०:००

कोभिड–१९ को कारण विदेशबाट फर्कने युवालाई सीपअनुसारको रोजगारी प्रदान गर्न प्रदेश १ सरकारले घोषणा गरेको रोजगार कार्यक्रम घोषणामै सीमित भएको छ । वैदेशिक रोजगारबाट नेपाल फर्किन इच्छुक तथा फर्किएर बेरोजगार बसेकालाई लक्षित गरी प्रदेश सरकारले नयाँ बजेटमार्फत कोभिड रोजगार कार्यक्रम घोषणा गरेको थियो । तर, चालू आर्थिक वर्षको चार महिना बितिसक्दासमेत रोजगार योजना अघि बढ्न सकेको छैन । सरकारले कोभिड रोजगार कार्यक्रमको निर्देशिकासमेत बनाएको छैन । सबै जिल्ला समन्वय समितिमा राख्नुपर्ने रोजगार डेस्क स्थापनाको पनि सुरसार छैन ।

योजना घोषणासँगै सरकारले रोजगार कार्यक्रमका लागि अनलाइन फाराम भर्न युवालाई आह्वान गरेको थियो । त्यसको लिंक सहज उपलब्ध नहुँदा वैदेशिक रोजगारमा रहेका तथा नेपाल फर्केर बेरोजगार बसेका युवाले पर्याप्त सूचना पाउन सकेनन् । जसका कारण न्यून संख्यामा मात्र अनलाइन फाराम भरिएको छ । प्रदेश १ योजना आयोगका अधिकृत प्रेमचन्द्र राईका अनुसार हालसम्म दुई सय युवाले मात्र अनलाइनमार्फत रोजगारीका लागि फाराम भरेका छन् ।

तामझामसहित उद्घाटन
२७ जेठ ०७७ मा प्रदेश सरकारले रोजगार कार्यक्रम घोषणा गरेको थियो । मुख्यमन्त्री शेरधन राईले तामझामसहितको एक कार्यक्रमबीच फाराम भर्ने काम उद्घाटन गरेका थिए । त्यसक्रममा उनले २० हजार युवालाई रुचिअनुसारको रोजगारी दिन प्रदेश सरकारले कार्यक्रम निर्माण गरेको दाबी गरेका थिए । 

प्रदेश १ सरकारले उद्यम गर्न चाहने युवाका लागि ‘मेरो कृषि, मेरो पौरख’ नारा दिएर कृषि कार्यक्रम निर्माण गरेको थियो । त्यसका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी सीपअनुसार बेरोजगारलाई रोजगार दिन मुख्यमन्त्री स्वरोजगार कार्यक्रमका लागि २५ करोड बजेट छुट्याएको छ । साथै, वैदेशिक रोजगारबाट फर्कन चाहने र फर्केकालाई रोजगारी दिन रुचि र पेसाअनुसार सम्बन्धित मन्त्रालयबाट बजेट उपलब्ध गराउने बजेटमा घोषणा गरेको छ ।
सचिव भन्छन्– कोभिड–१९ ले बाधा गर्‍यो

योजना आयोगका सचिव भरतमणि रिजालले कोभिड संक्रमण रोकथाममा सरकारका सबै संयन्त्र परिचालन भएकाले व्यापक रूपमा फाराम भराउन र कार्यक्रम निर्देशिका निर्माण गर्न ढिलाइ भएको बताए । उनले भने, ‘हामी निर्देशिका ड्राफ्ट गर्ने तयारीमा छौँ, चाँडै व्यापक रूपमा फाराम भराउने अभियान पनि सुरु गर्छौँ ।’ ५ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकको अनलाइन फाराम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

सचिव रिजालका अनुसार प्रदेश योजना आयोगले भरिएका फारामका आधारमा रोजगारका लागि विदेशबाट आउने चाहने र आएकाहरूको तथ्यांक तयार गर्नेछ । सोही तथ्यांकका आधारमा प्रदेश सरकारले युवालाई सीपअनुसार रोजगारीमा सहभागी गराउनेछ । त्यसका लागि योजना आयोगले तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर जिल्ला समन्वय समितिमा रोजगार डेस्क बनाएर कार्यक्रम सञ्चालन गराउनेछ । 

युवालाई छैन जानकारी
विदेशमा रहेका धेरै युवालाई प्रदेश १ सरकारको रोजगार कार्यक्रमबारे जानकारी नै नभएको हाल साउदी अरबमा रोजगारीमा रहेका मोरङ विराटचोकका राजकुमार आचार्यले बताए । वैदेशिक रोजगारीबाट फर्केर कोभिडले गर्दा बेरोजगार भएर बसिरहेका झापा मेचीनगर–२ ताराबारीका सन्तोष घतानीले पनि प्रदेश सरकारको रोजगार कार्यक्रमबारे कुनै जानकारी नभएको सुनाए ।

कोभिडले गर्दा भारतको बेंग्लोरमा बेरोजगार भई बसिरहेकी झापा धुलाबारीकी गीता विश्वकर्माले पनि सरकारको कार्यक्रमबारे आफूले कुनै जानकारी नपाएको बताइन् । भारतमा ब्युटिपार्लर पेसामा रोजगार गरिरहेकी गीताले भनिन्, ‘कोभिडले गर्दा यहाँ रोजगारी पाउनै गाह्रो छ, सरकारले रोजगार दिन्छ भन्ने थाहा भए त हामी पनि फाराम भर्ने थियौँ । स्वदेशमै बसेर आत्मनिर्भर हुने थियौँ ।’