१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजकुमार गोले
२०७७ कार्तिक १७ सोमबार २३:४०:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

अलबिदा विष्णु दाइ ! कसले लेख्ला कोसीवारि र पारिका गरिबका खबर

Read Time : > 2 मिनेट
राजकुमार गोले
२०७७ कार्तिक १७ सोमबार २३:४०:००

अक्टोबर ३० अर्थात् कात्तिक १४ गते शुक्रबार । अमेरिकामा साँझ परेको थियो भने नेपालमा बिहान । रातिको काम भएकाले ड्युटी जाने तयारीमा थिएँ । यसो मोबाइल हेरेको एक्कासि एउटा घनिष्ट अनुहारको मृत्युको श्रद्धाञ्जली ओइरिइरहेका थिए सामाजिक सञ्जालभरि । 

एकाएक आङ सिरिंग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिँगटा लागेर ढलौँजस्तो । सपना हो कि विपना । सपना हो कि भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइनँ, उभिइरहेको थिएँ । 

ड्युटी जानुपर्ने मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन । मेरो बाध्यता थियो जसरी पनि ड्युटी जानुपर्ने । सेकेन्ड–सेकेन्ड समयको महत्व छ यहाँ । भुवाजस्तो शरीरलाई गह्रौँ बनाएर डेराबाट निस्केँ । मन लागी–नलागी काम गरेँ । यो घटना सत्य नभइदियोस् भनेर लाखौँपटक कामना गरेँ मनमनै ।

पत्याउनै सकिरहेको थिइनँ । रातको ठीक १२ बजे काम अलि कम थियो । त्यतिबेलै बिबिसीमा काम गर्ने मित्र प्रकाश सुन्दासलाई मेसेज गरेँ । आशा थियो उनले त्यो झुटो हो भन्लान् भन्ने । तर, जवाफ ठीक विपरीत आयो । आखिर सत्य त्यही नै रहेछ जुन फेसबुकभरिको श्रद्धाञ्जली । विष्णुप्रसाद चौलागाईं काभ्रे पोस्ट साप्ताहिकका प्रधान सम्पादक । 

मनमा बेचैनीको तुफान चल्न थाल्यो । के गरौँ, कसो गरौँ मात्रै भइरह्यो । विष्णु दाइसँगै तीन दशक लामो पत्रकारिताको अध्याय पनि चितामा जल्ने भयो भनेर मन भतभती पोलिरह्यो । जिल्लाको पत्रकारितामा उहाँको योगदानको जति बयान गरे पनि कमी नै हुनेछ । समाचार लेख्ने मात्र होइन, लेखेका समाचारलाई पढाउन सक्ने खुवी उहाँमा थियो । काभ्रेली जनता र कोसीवारि र पारिका गरिब–दुःखीका समाचार लेखेका पत्रिका बोकेर उहाँ सरकारी कार्यालयका हाकिमकहाँ पुर्‍याउनुहुन्थ्यो ।

उहाँले लेखेका समाचारको प्रभावले गरिब जनताका पक्षमा धेरै कामहरू भएका थिए । अब कसले लेख्ला कोसीपारि र वारिका गरिबका समाचार ? उहाँ एउटा असल पत्रकार मात्र नभएर मेरा लागि असल अभिभावक हुनुहुन्थ्यो । पत्रकारितामा उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको छु ।

गएको चैत ३ गते मेरो जिन्दगीको कालो रात बनेर आयो । पनौती बसपार्कमा मेरी प्यारी बहिनी जुन र भान्जीलाई टिपरले ठक्कर दियो । ठक्कर मात्र दिएन ज्यानै लियो । त्यो पीडा सहन मलाई असाध्यै गाह्रो भएको थियो । कोरोना महामारीका कारण म अमेरिकाबाट नेपाल आउन सक्ने अवस्थामा थिइनँ । त्यतिवेला उहाँले सान्त्वना दिनुभएको थियो । मेरो परिवारको खुसी लुटिँदा उहाँले भन्नुभएको थियो, ‘तिमी हजारौँ माइल टाढा छौ, अहिले आउन सक्दैनौ । आफ्नो मनलाई सम्हाल । तिम्री बहिनी मेरी पनि बहिनी हुन्, यहाँको जिम्मेवारी म लिन्छु ।’ दाइका यी शब्दहरू मनभरि तरंगित भइरहेका छन् । 

आज तिनै दाइले सबैलाई छोडेर जानुभयो । भाउजूलाई भन्न मन लागेको थियो– भाउजू दाइले छोडेर गए पनि गाह्रोसाह्रोमा म छु । तर, सात समुद्रबाट मैले भनेको सुन्नुहुन्न । म मात्र होइन, विदेशमा रहेका काभ्रेली सबै शोकमा छौँ । केही दिनअघि कोरोनासँग जुधिरहेको छु केही दिनमा सन्चो होला भन्नुहुन्थ्यो । तर, निष्ठुरी रहेछ समय । काभ्रेले एउटा उज्यालो लालटिन, मिहिनेती, मिलनसार र इमान्दार व्यक्तित्व गुमायो ।

शिक्षा र पत्रकारिताबाट आफ्नै ठाउँमा केही गर्छु भन्ने अठोट थियो उहाँमा । त्यो सबै दाइसँगै चितामा गयो । तर, दाइ एउटा विश्वास तपाईंलाई चिताले जलाए पनि हामी तपाईंका सपनाहरूलाई जल्न दिने छैनौँ । तपाईंले जति गर्न नसकुँला, तर तपाईंको बाटो पहिल्याउनेछौँ । श्रद्धाञ्जली लेख्न सकेको छैन, नलेखी सुख पनि छैन । सात समुद्रपारिबाट हार्दिक श्रद्धाञ्जली दाजु । अमर रहनुहोस् ।