Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक १७ सोमबार २१:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकीय क्षेत्र लाङटाङका होटेल अनिश्चितकालका लागि बन्द

Read Time : > 1 मिनेट
२०७७ कार्तिक १७ सोमबार २१:०२:००

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द भएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिका– ४ लाङटाङका होटेल व्यवसायी समितिको बैठकले लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । 

समितिको निर्णयअनुसार गोसाइँकुण्ड गाउँपालिका– ६ धुन्चेमा कोरोनाको संक्रमण बढेको र कोरोनाबाट लाङटाङ पनि उच्च जोखिममा रहेको हुँदा सबै होटेल बन्द गरिएको वडाध्यक्ष सुब्बा लामाले जानकारी दिए । 

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको रिम्छे, लामा होटेल, रिभरसाइड, घोडातबेला, थाङस्याब, गुम्बाडाँडा, लाङटाङ, मुन्डु र क्याङजिन गुम्बाका होटेल अनिश्चितकालका लागि बन्द गरिएकोसमेत उनको भनाइ छ । 

अहिले जिल्लामा दैनिकजसो कोरोनाका संक्रमित बढेका छन् । सोमबार मात्रै जिल्ला अस्पतालका तीनजना र अन्य चारजना गरी सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ६ पुगेको छ । 

स्वास्थ्य कार्यालय रसुवाका अनुसार अहिले जिल्लामा ४८ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ४४ जना होम आइसोलेसनमा र चारजना आइसोलेसनमा रहेका छन् । 

६ महिनादेखि पर्यटकको आवागमन शून्य रहेको लाङटाङमा पछिल्लो समय पर्यटकको चहलपहल देखिएको थियो । गत ७ देखि १५ कात्तिकसम्म लाङटाङमा मात्रै दुई सय ३८ जना नेपाली र २८ जना विदेशी पुगेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश बस्नेतले बताए । 

काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये  लाङटाङ पनि एक हो । त्यसैले पनि लाङटाङमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको थियो । 

लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्नेछन् । त्यसैले पनि लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीहरू बताउँछन् । लाङटाङ पुग्ने अधिकांश पर्यटक चेरकोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्ने गर्छन् । 

पाँच हजार मिटर अग्लो चेरकोरीबाट दर्जनौँ हिमाल देखिने भएकाले क्यान्जिन पुगेका अधिकांश पर्यटक त्यस क्षेत्रमा पुग्ने गरेका छन् । असोज, कात्तिक पर्यटकको आगमन हुने मुख्य याम हो । मौसम सफा हुने र धेरै मनोरम दृश्यावलोकन हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ ।

स्याफ्रुबाट करिब दुई दिनको पैदल यात्रामा क्यान्जिन पुगिन्छ । पहिलो दिन स्याफ्रुबाट दोमेन, पहिरो, बम्बु, रिमिचे हुँदै लामा होटेलमा वास बस्नका लागि पर्यटकहरू पुग्ने गरेका छन् ।  भोलिपल्ट बिहानै खाजा खाएर हिँड्दा रिभरसाइड, उडल्यान्ड, घोडातबेला थाङस्याब, गुम्बाडाँडा हुँदै लाङटाङ पुगिन्छ । केही पर्यटक त्यहाँ बस्छन् भने केही मुण्डु, सिन्दुम हुँदै क्याङजिन पुग्ने गरेका छन् ।